कारोबार संवाददाता
सोमवार, मंसिर २४, २०७५
2715

दोलखा-६ महिनादेखि अलपत्र खाडीचौर–चरिकोट सडक विस्तारको कामले गति लिएको छ । २ प्याकेजमा विस्तार भइरहेको ५५ किलोमिटर सडकको काम दसैं तिहारजस्ता चाडबाड सकिए लगत्तै तीव्र गतिमा काम भइरहेको छ ।
सडकमा वर्षात्मा गएको पहिरो पञ्छाउने र बिग्रेका संरचनामा पुनर्निर्माणका कामसँगै सडकको ग्रेड मिलाउँदै बेस बिच्छ्याउने काम सुरु भएको हो । दुवै प्याकेजको एकसाथ काम भइरहेको छ । पहिलो प्याकेजको कामको खाडीचौरदेखि ५ किलोमिटरसम्म सडकको ग्रेड मिलाउने र सबबेस बिच्छ्याउने काम भइरहेको छ । त्यसैगरी अन्य २ ठाउँबाट पनि सडकको खाल्डाखुल्डी पुर्दै सडक सम्याउने काम भइरहेको छ । कामका लागि मजदुर र उपकरणहरू परिचालन भएका छन् ।

पहिलो खण्डको जिम्मा पाएको निर्माण कम्पनीको काम २४ महिनामा पूरा हुने गरी २०७२ भदौमा सम्झौता भए तापनि समयमा काम नसकिएपछि एक वर्ष म्याद थप भएको थियो । त्यो म्याद पनि सकिएर पुनः ६ महिना म्याद थप भएको छ ।
पहिलो प्याकेजको खाडीचौरदेखि मुडेसम्म २५ किलोमिटरमा भारतीय कम्पनी सिमाञ्चल, नेपाली कम्पनीहरू गौरीपार्वती र सुनौला खिम्तीले संयुक्त रूपमा ठेक्का पाएका छन् । पहिलो प्याकेजको काम ३९ करोड २६ लाख ५२ हजारमा सम्झौता भएकोमा ६० प्रतिशत भुक्तानी भइसकेको छ ।
पहिलो प्याकेजमा नेपाली निर्माण कम्पनीको आधिकारिक प्रतिनिधि सुनौला खिम्तीका कार्यकारी निर्देशक धर्मराज भण्डारी भए तापनि उनले डेढ वर्षदेखि काम नगर्दा सडक अलपत्र परेको थियो । उनलाई प्रहरीले काम नगरेपछि गत जेठमा पक्राउ गरी समयमा काम पूरा गर्ने सर्तमा छाडेको थियो । पछिल्लो सयमा गौरीपार्वतीले कामको जिम्मा लिएर गरिरहेको छ ।
दोस्रो प्याकेजको काम पनि तीव्र गतिमा भइरहेको छ । पहिलो ७ किमि खरिढुंगासम्म ग्राभेल बिच्छ्याउने काम भइरहेको छ । दोस्रो प्याकेजको मुडेदेखि चरिकोटसम्मको ३० किमिका लागि भारतीय कम्पनी सकिल हैदर संगथको साझेदारीमा शंकरमाली, सुनौला खिम्ती नेपाली कम्पनीले ठेक्का जिम्मा पाएका हुन् । ७० करोड ७० लाख ३४ हजारमा ठेक्का सम्झौता गरेको छ ।
दोस्रो प्याकेजका निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि तथा शंकरमाली निर्माण सेवाका प्रबन्ध निर्देशक दीपक सापकोटाले केही दिनभित्रै उपकरण र मजदुर थप गरेर बोच र मकैबारी क्षेत्रबाट पनि काम सुरु गर्ने जानकारी दिए । “हामी यही हिउँद महिनाभित्र काम पूरा गर्ने गरी योजनाबद्ध रूपमा काम गर्दैछौं,” उनले भने, “हाम्रो पुराना समस्या समाधान भइसकेकाले काम पूरा भएकाले कामले थप तीव्रता पाउँछ ।”
दुवै प्याकेजमा सुनौला खिम्ती कन्ट्रक्सनले जेभीमा काम गरेको थियो । पहिलो प्याकेजमा पूरै र दोस्रो प्याकेजमा १५ किमि काम उसैले गर्दै आएको थियो । कम्पनीको आर्थिक अवस्था बिग्रिएर टाट पल्टेपछि दुवै प्याकेजको काम गरेको बीलवापतको भुक्तानी पनि आन्तरिक राजस्व कार्यालयले रोक्का राखेपछि काममा थप समस्या आएको थियो । अहिले अदालतको आदेशबाट सम्बन्धित कम्पनीको बाहेक अरुको खाता फुकुवा गर्ने आदेशपछि कामले तीव्रता पाएको हो ।
सडकका ग्राभेल बिच्छ्याएर सडक खाल्डाखुल्डी रहित हुन थालेपछि यात्रा पनि छोटिन थालेको छ । “विगतमा चरिकोटदेखि काठमाडौंसम्मको यात्रा ८ घण्टा न्यूनतम लाग्ने गथ्र्यो,” बस चालक केशव श्रेष्ठले भने, “अहिले दुवै प्याकेजमा काम थालेकाले यात्रा एक घण्टा छिटो भएको छ, कामको गतिसँगै सडक राम्रो हुँदै जाँदा अझैं समय घट्छ ।”
स्वीस सरकारको सहयोगमा २०४३ सालमा खाडीचौरदेखि जिरीसम्मको ११० किमि सडक बनेको हो । एक लेनको सडक अहिले सवारीको चापसँगै साँघुरो भएपछि भारतीय एक्जिम बैंकको ऋण सहयोगमा विस्तार भइरहेको छ ।
-दिलबहादुर केसी