भीम गौतम
सोमवार, आश्विन २९, २०७५
1722

विद्युत् प्रणालीमा रहेको जलविद्युत्को एकाधिकार तोड्दै बल्ल मिश्रित ऊर्जाको कार्यान्वयन अघि बढेको छ । १ सय ७ वर्षअघि जलविद्युत् आयोजनाको निर्माण सुरु भएपनि १ सय वर्षभन्दा बढी प्रणालीमा जलविद्युत्को मात्र हिस्सा रहेकोमा विस्तारै मिश्रिततिर अघि बढेको हो ।
हाल १ हजार २० मेगावाट विद्युत् उत्पादन क्षमता रहेकोमा १.५ मेगावाटमात्र सौर्य ऊर्जा (सोलार) हिस्सा रहेपनि पछिल्लो समयमा जलविद्युत्बाहेक सोलार, वायोमास, वायु र बगास (उखुको खोस्टा) बाट विद्युत् उत्पादन गर्ने आयोजनाहरू बढेका छन् । लामो समयदेखि जलविद्युत्मा मात्र निर्भर रहेको प्रणालीलाई मिश्रित बनाउने भनिएपनि २०७२ सालमा सरकारले सार्वजनिक गरेको १० वर्षमा १० हजार मेगावाट उत्पादन गर्ने लक्ष्यसहितको ऊर्जा संकटकाल कार्ययोजनामा तथा ६ महिना अघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सार्वजनिक गरेको यस क्षेत्रको वर्तमान अवस्था र भावी मार्गचित्रसहितको श्वेतपत्रका समेत मिश्रित ऊर्जाबारे उल्लेख छ । १० प्रतिशतसम्म वैकल्पिक माध्यमबाट विद्युत् उत्पादन गरिने कार्ययोजना र मार्गचित्रमा उल्लेख छ । हालसम्म जलविद्युत्कै अधिकांश हिस्सा रहेपनि पछिल्लो समयमा सोलार, बगास र वायोमासबाट विद्युत् उत्पादनका लागि अनुमतिपत्र (लाइसेन्स) लिने प्रक्रिया अघि बढेको छ ।

सरकारले घोषणा गरे अनुसारै जलविद्युत् आयोजनाको लाइसेन्स र विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने जलविद्युत्बाहेकका अन्य प्रविधिहरू उपयोग गरेर विद्युत् उत्पादन गर्ने योजना अघि बढेका छन् । “पहिला विद्युत्को लागि जलविद्युत्मार्फत मात्र उत्पादन हुँदै गएकोमा अहिले सोलार, वगासबाट विद्युत् उत्पादन पनि अघि बढेको छ,” नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले भने, “पछिल्लो समयमा जलविद्युत्बाहेक अन्य स्रोतबाट विद्युत् उत्पादनका लागि विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने क्रम बढेको छ ।” उनका अनुसार हालसम्म जलविद्युत् आयोजनाको ४ हजार ६ सय मेगावाटको पीपीए भइसकेको छ भने सोलारको मात्र २९ मेगावाट पीपीए भइसकेको छ भने चिनी मिलले उखुको खोस्टाबाट विद्युत् उत्पादन गर्ने गरी ६ मेगावाटको पीपीए भैसकेको छ । विद्युत् प्राधिकरणका अनुसार ५ हजार मेगावाटभन्दा बढी क्षमता जलविद्युत् आयोजना, ४७ मेगावाटको सोलार र १५ मेगावाटको चिनिमिल्सबाट उत्पादन हुने आयोजना पीपीए प्रक्रियामा छन् ।
हालसम्म २४ हजार मेगावाट बराबरको आयोजनाले जलविद्युत् आयोजनाको सर्भे लाइसेन्स लिएका छन् । यसले नेपालमा जलविद्युत्कै आयोजनाहरूमा बढी प्राथमिकता देखिएको छ तर पछिल्लो समयमा सोलारबाट २३७ मेगावाट बराबरका आयोजना सर्भे लाइसेन्स लिएर निर्माणको प्रकृयामा अघि बढ्न लागेका छन् । त्यसैगरी वायु (हावा) बाट ५ मेगावाट, बायोमासबाट २८ मेगावाट, चिनी मिलमा वगासबाट विद्युत् उत्पादनका लागि सह–उत्पादन (चिनी मिल्स) १५ मेगावाटको आयोजना पनि पीपीएको प्रक्रियामा छ ।