दिपक बोहरा
बिहिवार, आश्विन १८, २०७५
907

पाँचथर-नमुना सहरको रूपमा विकास भइरहेको फिदिम बजार क्षेत्रको भत्किएको सडकलाई सामान्य टालटुल गरी स्थानीयको गुनासो मथ्थर पार्ने प्रयास गरिएको छ ।
फिदिम बजारको मुख्य सडकभित्र पर्ने ठाडो लाइनमा भत्किएर नाजुक भएको सडक टालटुल पारी स्थानीयलाई एकछिन भए पनि चुपचाप राख्ने प्रयास गरिएको हो ।

नयाँ सहरको रूपमा विकास गरिएको फिदिमको ठाडोलाइनको सडकको पिच उकिएर नाजुक भएपछि स्थानीयले पटकपटक आवाज उठाएपछि लाज छोप्ने गरी टालटुल गरिएको हो ।
फिदिमको अस्थायी बसपार्कदेखि शिवालय हुँदै गणतन्त्र चोकसम्म जाने सडक भत्किएर सडक छिया छिया भएको थियो । एकदशक अगाडि कालोपत्रे भएको सडक मर्मत सम्हार नुहने तथा जतासुकै सामग्री राखेर भत्किएको सडक टालटुल गरिएको हो । अधिकार सम्पन्न फिदिम नगरपालिका, नयाँ सहर आयोजनाजस्ता सरकारी निकाय हुँदाहुदै पनि भत्किएको लामो समयसम्म नबनेको सडक चाडबाडको मुखमा टालटुल गरिएको हो । लाज छोप्न र आँखा छल्ने गरी टालटुल भएको छ ।
फिदिम नगरपालिका, जिल्ला प्रशासन कार्यालय, यहाँका राजनीतिक दलका नेता तत्काललाई समस्या समाधान गर्नका लागि भन्दै नयाँ सहर आयोजनालाई अनुरोध गरेका थिए । नयाँ सहर आयोजनाले ठेकेदार कम्पनीलाई अनुरोध गरेर एकै दिनमा टालटुल भएको हो । नीति निर्माण, विकास निर्माण तथा नियमन गर्ने नियकाको प्रत्यक्ष निगरानी रहेको ठाउँकै सडक टालटुल पारिएको हो ।
आसपासबाट भएको सडक कब्जा, निर्माण र निर्माणजन्य सामग्रीलगायतका कारणले जीर्ण भएको सडकले फिदिमलाई विरुप बनाएको भन्दै गुनासो आएको थियो । नयाँ सहरमार्फत काम गर्न खोजिए पनि चालू आवको कार्यक्रममा यो सडक परेको छैन । महत्पूर्ण आवश्यकता भएकाले यो सडकलाई थप्नका लागि प्रदेशका आर्थिक योजना तथा विकास मन्त्रीमार्फत पहल गरिरहेको बताइएको छ । १.३ किमि सडक पुनः कालोपत्रे गर्न ७ करोड रुपैयाँ खर्च हुने स्टिमेट छ । मध्यपहाडी लोकमार्गले छोएका दश सहरलाई सुविधासम्पन्न नयाँ सहरको रूपमा विकास गर्ने नेपाल सरकारको योजनामा फिदिममा समेत पर्छ । नयाँ सहर कार्यक्रम सञ्चालन भएको एकदशक हुन लागेको छ ।