कारोबार संवाददाता
बुधवार, आश्विन १७, २०७५
914

गोरखा-स्थानीय तहको चुनाव अघिसम्म धार्चे गाउँपालिका–६ काशिगाउँमा गोरखा भूकम्पले भत्किएका घर खासै बनेको थिएन । स्थानीय बासिन्दा घर निर्माणबारे अलमलमा थिए । घर नबनाए अनुदान फिर्ता गर्नुपर्छ भनेर पहिलो किस्ताको ५० हजार रुपैयाँ पनि धेरैले लिएका थिएनन् ।
फेज नेपालले घर बनाउन प्रतिपरिवार १६ पाता जस्ता र घर निर्माण गर्दा चाहिने औजार, किलाकाँटी दिएको थियो, त्यो पनि त्यसै थन्किएका थिए । तर २०७४ जेठ पहिलो साता वडामा जनप्रतिनिधि निर्वाचित भएसँगै गाउँमा पुनर्निर्माणले गति लिन थाल्यो । स्थानीय जनप्रतिनिधि आएको करिब डेढ वर्षमै जिल्लामा पहिलो ब्यक्तिगत आवास पुनर्निर्माण सम्पन्न गर्ने वडा घोषणाको तयारीमा वडा कार्यालय जुटेको छ । भूकम्पले भत्किएका सबै घर बनेसँगै कात्तिक ११ गते औपचारिक कार्यक्रमका साथै पुनर्निर्माण सम्पन्न घोषणा गर्न लागिएको वडाध्यक्ष धनराज घलेले जानकारी दिए । “हामीले निर्णय गरिसक्यौं औपचारिक कार्यक्रमसहित घोषणा गर्ने भनेर,” उनले भने, “जिल्ला र केन्द्रबाट अतिथि लगेर कार्यक्रम गर्ने, त्यहीं निर्माण सम्पन्न प्रमाणपत्र वितरण गर्ने तयारी छ ।” काशिगाउँमा सुरुमा ३६८ भूकम्पपीडित लाभग्राही छनोट गरिए पनि गुनासोमार्फत ७९ जना थपिएका थिए । गुनासो ब्यवस्थापनसहित कुल लाभग्राहीको संख्या ४६८ पुगेकोमा गाउँ बाहिर बसोबास गरेका ७ घरबाहेक सबै घरको पुनर्निर्माण सकिएको वडाअध्यक्ष घलेले बताए । “यहाँ घर भएर जिल्ला बाहिर र विदेशमा रहेका ७ जना लाभग्राही छन् । उनीहरूले घर नबनाउने भएका छन् । त्यसैले वडालाई ब्यक्तिगत आवास पुनर्निर्माण सम्पन्न वडा घोषणा गर्न लागेका हांै ।” काशिगाउँ गोरखा सदरमुकामबाट २० कोस टाढा पर्छ । हालसालै गाउँसम्म मोटरबाटो पुगे पनि सहज रूपमा गाडी चल्ने अवस्था छैन । त्यसैले गाउँलेले स्थानीयस्तरमा पाइने ढुंगामाटो, काठको प्रयोग गरेर धेरैले घर बनाएका छन् । आवश्यक सिमेन्ट, रड भने आरुघाटबाट खच्चडलाई बोकाएर लगेको गाउँलेले बताएका छन् । निर्माण सामग्री जुटाउन र अन्य सहजीकरणमा वडाले सहयोग गरेकाले पुनर्निर्माणको काम छिट्टै सकिएको वडाध्यक्ष घलेले बताए । “यहाँ काठ र ढुंगााको समस्या थियो,” उनले भने, “हामी निर्वाचित भएर आएपछि गाउँनजिकैको सामुदायिक वनबाट काठ ब्यवस्थापन ग¥यौं, गाउँमै रहेको ढुंगा उपयोगका लागि स्थानीयलाई अनुमति दियांै । अनि सबैले घर बनाउन थालेका हुन् ।” पुनर्निर्माण प्राधिकरणले खटाएका प्राविधिक, विभिन्न गैरसरकारी संस्थालगायतको प्राविधिक सहयोगमा गाउँमा बनेका सबै घर सरकारी मापदण्डअनुसार भूकम्पप्रतिरोधी बनेको उनको दाबी छ । वडाध्यक्ष घलेले भने, “यूएनडीपीको सहयोगमा सरकारी किस्ता पनि सजिलै पायांै, सस्थांहरूले भूकम्पप्रतिरोधी घर बनाउन पनि सिकाए, डकर्मी पनि गाउँमै भए, निर्माण सामग्री जुटाउन वडाले पहल ग¥यो, पुनर्निर्माण छिटो सकियो ।”