कारोबार संवाददाता
बुधवार, आश्विन १७, २०७५
1440

राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई मधेश द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बनाउने जिम्मा कोरियाली कम्पनी सुसङ इन्जिनियरिङले पाएको छ । नेपाली सेनाले १० करोड १२ लाख रुपैयाँमा आयोजनाको डीपीआर बनाउन जिम्मा सुसुङ इन्जिनियरिङलाई दिएको हो । नेपाली सेना र सुसङबीच भएको सम्झौताअनुसार अबको साढे तीन महिनाभित्रमा डीपीआर तयार हुनेछ । यससम्बन्धी सम्झौतापत्रमा नेपाली सेनाका द्रुतमार्ग आयोजना प्रमुख योगेन्द्रबहादुर खाँण र सुसुङ इन्जिनियरिङका अध्यक्ष किह्युन ह्वाङले मंगलबार हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार आयोजनाको डीपीआर भ्याटसहित १० करोड १२ लाख ७८ हजार ९२३ रुपैयाँको लागतमा कात्तिक ४ गते सुरु गरी १०५ दिनभित्र सम्पन्न गर्नेछ । यसअघि भारतीय कम्पनी आईएलएन्डएफएसले आयोजनाको द्रुतमार्गको डीपीआर तयार गरेको भए पनि लागत महँगो परेको भन्दै सेनाले खरिद गर्न अस्वीकार गरेको थियो । काठमाडौंलाई मध्य तराईसँग जोड्ने यो आयोजना ७६ किलोमिटर लामो हुनेछ । सरकारले ५ वर्षभित्र आयोजना निर्माण सम्पन्न गर्ने गरी एक वर्षअघि नेपाली सेनालाई आयोजनाको जिम्मा दिएको थियो ।