विप्लव काफ्ले
मंगलबार, आश्विन १६, २०७५
1053

चितवन-वर्षात्मा प्रायः बाढी प्रभावित क्षेत्र बन्दै आएको पूर्वी चितवनका स्थानीय अब सुरक्षित हुने भएका छन् । डुबानको चिन्ता नहुने वातावरण बन्न लागेको छ ।
पूर्वी चितवनको कयरखोलादेखि पश्चिमको राप्तीनदीसम्म ड्याम (तटबन्ध) निर्माण गर्ने योजनाले छिट्टै सार्थकता पाउने भएको छ । शक्तिखोर बजारदेखि राप्तीसम्म खोलाको किनारैकिनार निर्माण गरिने २५ किमि तटबन्धअन्तर्गत तत्काल ३ किमिको काम अघि बढाइँदै छ । ड्याम निर्माण गर्दा ५ मिटर चौडाइको बाटोसमेत निर्माण गर्ने योजना बनेको छ ।

हलुका तथा साना सवारी साधन चल्न मिल्ने गरी बाटो बनाइने भएको हो । शक्तिखोर बजारबाट सुरु गरी विस्तारै अघि बढाउने गरी निर्माण कार्यको थालनी गर्न बिहीबार सो क्षेत्रको स्थलगत निरीक्षण भएको छ । प्रदेश सांसद कृष्ण खनाल, सांसद घनश्याम दाहाल, सांसद कन्चना खनालसहित पूर्वी चितवनका ३ नगरपालिका कालिका, रत्ननगर र खैरहनीका नगरप्रमुख, राजनीतिक दलका प्रतिनिधि टोलीले अनुगमन गरेको हो । अनुगमनका क्रममा सांसद कृष्ण खनालले औद्योगिक ग्रामको रूपमा विकास हुँदै गरेको शक्तिखोरमा बढ्न सक्ने चहलपहललाई ध्यानमा राख्दै ड्यामको दाँयाबाँया सडक निर्माण गर्ने योजना बनेको बताए । “उद्योग कलकारखाना खुल्दै गर्दा यहाँ हेभी सवारीको चाप पनि बढ्दै जाने देखिन्छ, ड्याममाथि बनाइने ५ मिटरको बाटोले त्यो धान्ने सम्भावना छैन,” सांसद खनालले भने, “ड्याम निर्माणसँगै दाँयाबाँया सडक निर्माणलाई प्राथमिकतामा राखेर काम गर्न पहल गर्नेछु ।” शक्तिखोरलाई औद्योगिक क्षेत्र बनाउने कामअघि बढ्दै छ । कालिका नगरपालिकाको वडा नम्बर ७, ८ र ९, रत्ननगरको ३, ४, ५, १४ र १६ र खैरहनीको १, २ र ४ नम्बर वडा हुँदै ड्याम निर्माण अघि बढ्ने छ । यसले शक्तिखोर, पिठुवा, चैनपुर, बेलसी, शान्तिचोक, देवनैली, खगेरी बाघमारा, चित्रसारी, बूढी राप्ती हुँदै राप्तीमा पुगेर ड्याम टुंगिने छ ।
बाढीका कारण पूर्वी चितवनका ३ वटै नगरपालिका प्रभावित हुने गरेका छन् । विशेषगरी ढुंग्रे र बूढी राप्तीको बाढीले सौराह डुबानमा पर्दै आएको छ भने पम्पा, चत्रा, लदरा, मर्ताल र खगेरी नदीको सतह बढ्दा कालिका र खैरहनीका विभिन्न क्षेत्रमा डुबान र बाढीको समस्या भोग्न बाध्य हुने गरेका छन् । २०३१, २०४०, २०५०, २०६० र ०७० सालमा आएकोे बाढीका कारण यो क्षेत्रमा थुप्रै जनधनको क्षति भएको थियो । हजारौंको संख्यामा स्थानीय विस्थापित भएका थिए । ड्याम निर्माणपछि सो क्षेत्रका ५० हजार बढी स्थानीय लाभान्वित हुने कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले जानकारी दिए ।
“पूर्वी चितवनवासीले भाग्यमा लेखेर आएको भनिएको कयर खोलाको प्राकृतिक विपदको समस्या अब अन्त्य हुने दिन आउँदै छ,” मेयर श्रेष्ठले भने, “ढुक्क हुनुहोस् ३ किमिबाट सुरु गरी छिटै २५ किमि ड्याम निर्माण सकिनेछ ।” केही वर्ष यता खोलाले धार परिवर्तन गरी बग्न थालेको छ । खोलाको धार परिवर्तन भएकै ठाउँमा नयाँ तटबन्ध गरिने श्रेष्ठले बताए । नारायणी नदी व्यवस्थापन परियोजनाले ड्याम निर्माणका लागि अहिले डीपीआर अध्ययनको काम गरिरहेको छ । डीपीआरको काम सकिएपछि टेन्डर आह्वान गरी ड्याम निर्माणकार्य अघि बढाइने भएको छ ।