लक्ष्मीप्रसाद सापकोटा
आइतवार, आश्विन १४, २०७५
1455

पर्वत-पर्वतको फलेबास नगरपालिकामा पर्ने मुडिकुवा–झकलक–कुर्घा–लुंखु सडकको मुडिकुला–झकलक खण्ड आगामी मंसिरसम्म कालोपत्रे हुने भएको छ ।
फलेबास नगरपालिकाको पहलमा स्थानीय पूर्वाधार तथा कृषि सडक विभाग (डोलीडार)मा भएको छलफलपछि मंसिर मसान्तसम्म सडकको कालोपत्रे गर्ने सम्पूर्ण कार्य सम्पन्न गर्ने निर्णय भएको हो । गत वर्ष नै सम्पन्न हुनुपर्ने फलेवास नगरपालिकासहित दक्षिण पर्वतका तीन गाउँपालिकालाई जोड्ने ७ किलोमिटर सडक कालोपत्रे बजेट अभाव र समयमा ठेकेदारले काम सम्पन्न नगर्दा कालोपत्रे गर्ने कार्य रोकिएको थियो ।

फलेबास नगरपालिकाका प्रमुख पदमपाणि शर्मा, डोलिडारका महानिर्देशक रामचन्द्र श्रेष्ठ, तत्कालीन जिल्ला प्राविधिक कार्यालयका प्रमुख जगदीश शर्मा, निर्माण ब्यवसायी अच्युतराज पाण्डे र रामचन्द्र तिमिल्सिना तथा फलेबासका नागरिक अगुवा हरिहर पोखरेलको उपस्थितिमा भएको बैठकमा कालोपत्रेको सबैकाम मंसिर मसान्तसम्म सक्ने र ठेकेदारलाई बाँकी रकम भुक्तानी गर्नका लागि बजेट ब्यवस्था गर्ने निर्णय भएको छ । गएको असारमा निर्माण सम्पन्न हुनुपर्ने सडकको अहिलेसम्म ८२ प्रतिशत काम भएको छ । “अब बाँकी रहेको बेस बिच्छ्याउने, वर्षा याममा भत्किएको नाली र अन्य पूर्वाधार बनाउने र कालोपत्रे गर्ने काम मंसिरसम्ममा सक्ने निर्णय भएको छ,” साविक जिल्ला प्राविधिक कार्यालयका प्रमुख जगदीश शर्माले भने, “ठेकेदारले बजेट सुनिश्चितता नहुँदा काम रोकिने अवस्था थियो, अब त्यो अन्त्य भएको छ ।”
असारसम्ममा सडक निर्माण गरेको रकम मध्ये ठेकेदारलाई १ करोड भुक्तानी गर्न बाँकी छ भने यस आर्थिक वर्षमा बाँकी काम सम्पन्न गर्न आवश्यक पर्ने ४ करोड रकम बजेटमा ब्यवस्था भएको छैन । निर्माण कम्पनीलाई अहिलेसम्म ८ करोड १८ लाख रुपैयाँ भुक्तानी भएको छ । फलेवास नगरपालिकासहित महाशिला, बिहादी र पैयुँ गाउँपालिका जोड्ने मुख्य सडकको ७ किमि खण्ड कालोपत्रे गर्न २०७२ माघमा चितवनको ओएसिस इन्जिनियरिङ एन्ड बिल्डर्स कम्पनीले ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार काम भए २०७४ असार २० मै कालोपत्रे भइसक्थ्यो । अहिले बाँकी काम गर्न बजेट अभाव भएपछि अन्योल कायम थियो । डोलीडारमा भएको छलफलले सडक कालोपत्रे गर्ने वातावरण बनेको र नगरपालिकाले कामको अनुगमन र रेखदेख गरेर निर्माण सम्पन्न गराउने फलेबास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले बताए । “डोलिडारमा भएको छलफल महत्वपूर्ण छ” उनले भने, “नगरक्षेत्रभित्र पर्ने महत्वपूर्ण सडक अलपत्र पर्ने अवस्था अन्त्य भई काम सुचारु हुनेछ,” जिल्ला प्राविधिक कार्यालय खारेज भएपछि अहिले यो परियोजनाको जिम्मेवारी कसले लिने भन्नेमै दुविधा छ । छलफलमा सडक आयोजनाको कार्यक्रम संशोधन गर्न प्रदेश सरकारसँग माग गर्ने निर्णयसमेत भएको छलफलका सहभागी नागरिक अगुवा हरिहर पोखरेलले बताए । “अहिलेसम्मको कामको प्रगति, स्रोत सुनिश्चिता र कार्यक्रम संशोधनसमेतका विकल्पहरु तयार भएका छन्” उनले भने, “काम रोकिने अवस्था हटेर मंसिर सम्म सडक कालोपत्रे हुनेछ ।”
मुख्य ग्रामीण सडकअन्तर्गत पर्ने यो सडकले फलेवाससहित महाशिला, बिहादी र पैयुँ गाउँपालिकाभित्रका ३१ वडाबासीलाई प्रत्यक्ष लाभ पुग्छ । यीबाहेक जिल्लालाई दक्षिणबाट उत्तरसम्म जोडिने एकमात्र नियमित सडक बन्ने छ । यो सडकमा हिजोआज दैनिक सयभन्दा बढी सवारी गुड्छन् । २०५७ सालमा जिल्लाकै पहिलो ग्रामीण सडकका रुपमा ट्रयाक खुलेर सञ्चालनमा आएको सडकमा हालसम्म हिउँदका सात महिनामात्रै सवारी चल्छन् ।