भीम गौतम
आइतवार, आश्विन १४, २०७५
1271

प्रयोग गर्ने भने पौने तीन लाख मात्र
नेपाल विद्युत् प्राधिकरणका २६ लाख उपभोक्ताले अनलाइनमार्फत बिजुलीको बिल तिर्न पाउने भएका छन् । ३३ लाख घरायसी ग्राहकमध्ये विद्युत् प्राधिकरणले अघि बढाएको अनलाइन पेमेण्ट सिस्टममार्फत २६ लाख ग्राहकले भुक्तानी गर्न पाउने व्यवस्था गरेको हो । देशभर रहेका १६८ संकलन केन्द्रमध्ये १४१ काउन्टरमा अनलाइनमार्फत भुक्तानीको व्यवस्था गरिएको प्राधिकरण ग्राहक तथा वितरण केन्द्रका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले जानकारी दिए । “२०७४ साल भदौदेखि अनलाइन पेमेन्ट सिस्टम सुरु गरेका हौं, हालसम्म घरायसीमध्ये ८० प्रतिशतमा अनलाइनमार्फत पेमेन्ट गर्ने व्यवस्था गरेका छौं,” उनले भने ।एक वर्ष अघिसम्म ८० रुपैयाँको बिजुलीको बिलका पाँच सय रुपैयाँसम्म खर्च गर्नुपर्ने तथा विद्युत् प्राधिकरणको काउण्टरमा समेत घण्टांै लाइन लाग्नुपर्ने अवस्थामा रहेका विद्युत् प्राधिकरणका उपभोक्ताले बिनाझन्झट अब अनलाइनमार्फत बिजुलीको बिल तिर्न पाउनेछन् । विद्युत् प्राधिकरणका अनुसार, ईसेवा, प्रभु बैक, पेप्वाइन्ट नेपाल, सीएफएस, सिटी एक्सप्रेस, महालक्ष्मी विकास बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंकमार्फत भुक्तानी गर्न पाउने व्यवस्था गरिएको छ । अनलाइनमार्फत घरमै बसेर वा विभिन्न आठ निकायहरूमार्फत पनि बिजुलीको बिल भुक्तानी गर्न पाउने व्यवस्था गरिएको छ । ईसेवा, पे प्वाइन्ट लगायतले गाउँ गाउँमा काउण्टर राखेर बिजुलीको बिल तिर्ने व्यवस्था गरिसकेका छन् । आफ्नो मोबाइलमा समेत एप्स डाउनलोड गरेर सम्बन्धित वित्तीय संस्था तथा निकायमा भएको बचतबाट घरमै बसीबसी बिजुलीको बिल तिर्न पाउने व्यवस्था गरिएको छ । “तोकिएका वित्तीय संस्था र निकायसँग समन्वय गरेर बिजुलीको बिल भुक्तानी गार्न सकिन्छ, बिल तिर्ने वित्तिकै त्यसको भुक्तानी रसिद पनि पाइन्छ, यो एकदम सुरक्षित छ, निःशुल्क रूपमा भुक्तानी गर्न सकिन्छm” उपकार्यकारी निर्देशक हरराज न्यौपानेले भने, “चालू वर्षभित्र अनलाइनमार्फत भुक्तानी गर्नेको संख्या १२ लाख पु¥याउने लक्ष्य छ ।” अनलाइनमार्फत बिजुलीको बिल तिर्न पाइने भएपनि अहिले बिजुलीको भुक्तानी तिर्र्ने संख्याको संख्या भने एकदम कम छ । विद्युत् प्राधिकरणका अनुसार २६ लाखलाई अनलाइनमार्फत बिजुलीको बिल भुक्तानी गर्न पाउने भएपनि यसबारे उपभोक्तालाई जानकारी नहुँदा हालसम्म २ लाख ७४ हजार उपभोक्ताले मात्र अनलाइन उपयोग गरेका छन् । अनलाइन प्रयोग गर्ने समग्रमा संख्या न्यून भएपनि संख्या भने बढ्दै गएको विद्युत् प्राधिकरणले जनाएको छ । वैशाख २०७५ मा १ लाख ६१ हजार रहेकोमा जेठमा २ लाख १४ हजार, असारमा २ लाख २६ हजार, साउनमा २ लाख ७१ हजार र भदौमा २ लाख ७४ हजार उपभोक्ताले अनलाइनमार्फत बिजुलीको बिल तिरेका छन् । अधिकांशसम्म मोबाइल हुने र मोबाइलमा इन्टरनेट चलाउने हुनाले अनलाइनमार्फत बिजुलीको बिल तिर्न सहज हुने भएपनि यसबारे जनचेतना जगाउने कार्यक्रम अघि बढाउन लागिएको प्राधिकरणका अधिकारीहरू बताउँछन् ।विद्युत् प्राधिकरणका अनुसार विद्युत् प्राधिकरणका आठ क्षेत्रीय कार्यालयमध्ये अनलाइनमार्फत बिल तिर्नेमा विराटनगर क्षेत्रीय कार्यालयमा सबैभन्दा बढी छन् भने अत्तररियामा सबैभन्दा कम छन् । सबैभन्दा बढी इन्टरनेटको पहुँच पुगेको काठमाडांैमै पनि अनलाइनबाट सेवा लिने निकै कम छन् ।