कारोबार संवाददाता
बिहिवार, आश्विन ४, २०७५
345

काठमाडौं महानगरपालिकाले पुनर्निर्माणको कामलाई तीव्रता दिन थालेको छ । भूकम्प गएको लामो समय बितिसक्दा पनि कामपाले केही काम नगरेको जनगुनासो आइरहेकै समयमा कामपाले निर्माणको कामलाई चासोका साथ लिएको छ । रानीपोखरी र बागदरवारको पुनःनिर्माणका लागि कामपामा क्रमशः दुई र पाँच आशयपत्र पेश भएका छन् । त्यसैगरी स्मार्ट पार्किङ निर्माणका लागि ६ कम्पनीले निर्माण गर्न आशयपत्र पेश गरेका छन् ।
ऐतिहासिक सम्पदा रानीपोखरी २०७२ सालको भूकम्पको कारण क्षतिग्रस्त भएको थियो । विभिन्न विवादका कारण क्षति भएको तीन वर्ष बितिसक्दासम्म निर्माण शुरु हुन नसक्दा एक महीनाअघि कामपाले आशयपत्र माग गरेको थियो । सोही मागअनुरुप दुई निर्माण कम्पनीले निर्माणका लागि आशयपत्र पेश गरेको कामपा खरिद एकाइ प्रमुख प्रमोद पोखरेलले जानकारी दिए ।
भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि पुनर्निर्माण हुन नसक्दा यस वर्ष पनि सर्वसाधारणले रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरको दर्शन गर्न नपाउने निश्चित भएको छ । यसअघि कामपाले मन्दिरसहित रानीपोखरीको पुनर्निर्माण गर्दा पुरातत्व विभागले बालगोपालेश्वर मन्दिर गुम्बज शैलीमा निर्माण गरेको र निर्माणका क्रममा सिमेन्ट प्रयोग गरेको जनाउँदै विवाद सिर्जना भएपछि निर्माणको सम्पूर्ण काममा रोक लगाएको थियो । प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तीन्द्रका नाममा सो पोखरी बनाउन लगाएका थिए । पोखरीको निर्माण करीब पाँच वर्षभित्र अर्थात् विसं १७२५ मा र शिलापत्र विसं १७२७ मा राखिएको थियो । नेपालभाषामा यसलाई न्हुरपुखुर (न्हुपुखु) भनिएको छ जसको अर्थ नयाँ पोखरी हो ।
रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरको स्वरुप ग्रन्थकूट शैलीको थियो । यसको प्रमाण हाल मन्दिरको चारैतर्फको प्रवेशद्वारमा राखिएको ढुंगाद्वारा निर्मित संघारले पनि पुष्टि गर्छ । उक्त कुरा पुरानो मन्दिरको रेखाचित्रबाट पनि प्रष्ट हुन्छ । पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन् । प्रताप मल्लले निर्माण गर्दा पोखरीका चारैतिर चार मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । तीमध्ये उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तर–पूर्व कुनामा भैरवको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ ।

बागदरबार भत्काउन पाँच निवेदन
हाल कामपाको कार्यालय रहँदै आएको बागदरबार(हरिभवन भएको बताइएको छ) भत्काउनका लागि पनि पाँच निवेदन परेको कामपाले जनाएको छ । करीब १८ रोपनी क्षेत्रफलमा निर्माण भएको हरिभवन तीन तलाको छ । भवन छिट्टै भत्काउन खरिद प्रक्रियामा लगिने कामपाका सहप्रवक्ता नवराज ढकाल बताउँछन् । भत्काउने काम सुरु भएको तीन महिनामा सकिने बताइएको छ । एक अर्ब ५० करोडको लागतमा पुनर्निर्माणको काम थाल्ने कामपाको योजना छ । निर्माण सुरु भएको तीन वर्षमा सम्पन्न भई प्रयोगमा ल्याइने जानकारी दिँदै उनले भूकम्पका कारण क्षतिग्रस्त बागदरबारमा अब परम्परागत, मध्यकाल र आधुनिक गरी तीन काल खण्डको ढाँचा उपयोग हुने बताए ।
त्यसैगरी सवारी साधन चापलाई व्यवस्थापन गर्नका लागि नयाँ सडकमा निर्माण गर्न लागिएको स्मार्ट पार्किङ निर्माणका लागि ६ कम्पनीले आशयपत्र पेश गरेको प्रमुख खरेलले बताए । उनका अनुसार रानीपोखरी र स्मार्ट पार्किङ कुन निर्माण कम्पनीलाई दिने भन्ने विषयमा बोलपत्र मूल्यांकन समितिले दुई दिनभित्र निर्णय गर्नेछ । दुई तीन दिनपछि रानीपोखरी र पार्किङ निर्माणको काम सुरु हुनेछ । उक्त पार्किङमा एकै पटक ५०० सवारी साधन अट्ने बताइएको छ । महानगरले स्मार्ट र स्थानीयवासीले अपनत्व बोध गर्न सक्ने खालको पार्किङ भवन बनाउन इच्छा राख्ने कम्पनीलाई एकल वा संयुक्तरुपमै भए पनि जिम्मा दिने कामपाको योजना छ ।
भूकम्पकै कारण क्षति पुगेको काष्ठमण्डप र धरहराको पुनः निर्माण भने सुरु भइसकेको छ । गत वैशाख ३१ गते क्षमापूजा गरी पुन निर्माण सुरु भएको काष्ठमण्डपको निर्माण आगामी तीन वर्षमा सक्ने काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले बताए । बिसेत नामका मानिसले कल्पतरुलाई चिनेर नियन्त्रणमा लिई एउटा रूख उपलब्ध गराउने वाचा गराएर छाडेपछि कल्पतरुले दिएको एकै रुखको सालको काठबाट सातौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले मूर्तिविहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको बताइन्छ । पछि मरुसतःमा गोरखनाथ र अन्य मूर्ति थपिएको थियो । केही वर्षअघि बेलायतको दुर्हाम विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको खोजअनुसार बाह्रौँ शताब्दीमा बनेको भनिएको मरुसत्तल सातौँ शताब्दीको भएको बताइएको थियो । नेपालको राजधानी काठमाडौँको नाम ‘काष्ठमण्डप’बाट नै रहेको इतिहासमा उल्लेख छ ।
त्यस्तै भीमसेन थापाका पालामा बनेको ऐतिहासिक सम्पदा धरहरा तीन वर्षअघिको भूकम्पसहित चारपटक ढलिसकेको छ । धरहरा पटकपटक ढलेकाले पुरानो संरचना यथावत् रुपमा सिसाले छोपेर २२ तलाको नयाँ बनाउने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तयारी छ । यसअघिको धरहरा नौ तलाको थियो । नयाँ धरहरा बनाउन आधुनिक निर्माण सामग्री प्रयोग गरिने भएको छ । अब बन्ने धरहरामा लिफ्ट र भ¥याङसमेत राखिनेछ । धरहरा गुम्बज र गजुरसहित ७२ मिटर अग्लो बन्नेछ । भत्किएको धरहराको पूर्वपट्टि नयाँ धरहरा निर्माण गरिनेछ । निर्माण लागत चार अर्ब लाग्ने बताइएको छ । यसअघि नेपाल टेलिकमलाई धरहरा बनाउने जिम्मेवारी दिइए पनि पछि हटेको थियो । टेलिकमले आफैँ नबनाए पनि एक अर्ब सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । ‘मेरो धरहरा मै बनाउँछु’ अभियानअन्तर्गत धरहरा पुनर्निर्माण कोषमा २४ करोड जम्मा भइसकेको छ । कुल २४ रोपनी क्षेत्रफलमा धरहरा, पार्किङ र बगैँचासमेत बनाइनेछ ।

शर्मिला पाठक-रासस