कारोबार संवाददाता
मंगलबार, श्रावण २९, २०७५
748

दार्चुला-महाकाली नदी नियन्त्रण आयोजना सम्पन्न हुन अझै २ वर्ष लाग्ने भएको छ । आर्थिक वर्ष ०७०/७१ सालमा सुरु भएको आयोजना आव ०७४/७५ मा सम्पन्न गर्ने लक्ष्य रहे पनि निर्धारित समयावधिभित्र काम सम्पन्न नभएपछि आयोजनाको समय २ वर्ष थप भएको नदी नियन्त्रण आयोजनाले जनाएको छ ।
हालसम्म नदी नियन्त्रण आयोजनाको भौतिक प्रगति ८० प्रतिशत र आर्थिक प्रगति ५९.२२ प्रतिशत भएको आयोजनाले जनाएको छ । महाकाली नदी नियन्त्रण आयोजनाको सम्झौता रकम ३ अर्ब ५ करोड ५७ लाखमध्ये सिभिल कार्य गर्नका लागि २ अर्ब ३ करोड ४३ लाख ५४ हजार ३२३ रुपैयाँ छुट्याइएको थियो । नदी नियन्त्रणका लागि तटबन्ध निर्माण गर्न १७ ठेक्कामध्ये ९ वटा ठेक्का सम्पन्न भएका छन् । उक्त आयोजनाबाट हालसम्म ४ सय घर र २ हजार ८७० जना लाभान्वित भएका छन् भने ४३.५ हेक्टर जमिन सुरक्षित भएको छ ।

नदी नियन्त्रणको मुख्य क्षेत्र नमस्कारदेखि लास्कु खोलासम्मको ४.५५ किलोमिटर पक्की तटबन्ध र अर्धक्षेत्र धौलाकोटदेखि लालीसम्मको ८.५ किलोमिटरमा तारजालीको काम भइरहेको नदी नियन्त्रण आयोजनाका सूचना अधिकारी तथा इन्जिनियर मुकेश पाठकले जानकारी दिए ।
हालसम्मको लागत इस्टिमेटअनुसार २ अर्ब १२ करोड ३ लाख ६९ हजार १४३ रुपैयाँ, रहेकोमा सम्झौता रकम १ अर्ब ९३ करोड ४५ लाख ६४ हजार ३७१ रुपैयाँ र २०७५ असारसम्मको खर्च १ अर्ब ८३ करोड ३६ लाख ९० हजार ६० रुपैयाँ भएको महाकाली नदी नियन्त्रण आयोजनाले जनाएको छ ।
गत आव ०७४/७५ मा ९९.१६ प्रतिशत प्रगति भएको छ । कुल बजेट ५३ करोड ९७ लाख ९४ हजारमध्ये ५३ करोड ५२ लाख ७६ हजार ९३० रुपैयाँ खर्च भएको छ । जसमध्ये पुँजीगत बजेट ५२ करोड ८० लाख ४० हजारमध्ये ५२ करोड ६१ लाख २१ हजार ९ सय २ रुपैयाँ ३ पैसा खर्च भएको छ भने चालूतर्फ १ करोड १७ लाख ५४ हजारमध्ये ९१ लाख ५५ हजार २८ रुपैयाँ खर्च भएको महाकाली नदी नियन्त्रण आयोजनाका सूचना अधिकारी तथा इन्जिनियर मुकेश पाठकले बताए ।
हालसम्म २०७२ सालको भूकम्प, नाकाबन्दी, वर्षात्का कारण निर्माण सामग्री समयमै साइटमा ल्याउन नसकेको, तिनै तहको निर्वाचन र न्यून बजेटका कारण समयमै काम सम्पन्न गर्न नसकेको आयोजनाले जनाएको छ ।