कारोबार संवाददाता
मंगलबार, श्रावण २९, २०७५
1435

पोखराको धार्मिक तथा पर्यटकीय स्थल केदारेश्वर महादेवमणि मन्दिर परिसरमा एक सय ८ वटा पिपलका बिरुवा रोपिएको छ । लायन्स क्लब अफ पोखरा लेक भ्यालीको आयोजनामा साउन महिनाको अन्तिम सोमबार एक समारोहका बीच पिपलका बिरुवा रोपिएको क्लबका अध्यक्ष डम्बर बहादुर सुवेदीले बताए ।
पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले सोमबार पिपलको बिरुवा रोप्दै बिरुवा रोप्नुसँगै बिरुवा हुर्काउनु ठूलो कुरा भएको बताए । उनले पोखराको सौन्दर्यको लागि पोखरा क्षेत्रमा रहेका १ सय ४० वटा भन्दा बढी लायन्स क्लबहरुले समाजमा देखिने गरी कुनै काम गर्न निर्देशन दिए । विभिन्न क्लबसग महानगरले समन्वय गर्न तयार रहेको बताउँदै उनले कम्तिमा एउटा सडकमा एक नमुना हरियाली सडक निमार्णमा जुट्न आग्रह गरे ।

लायन्स ३२५ बी वानका डिष्ट्रिक गर्भनर अशोक श्रेष्ठले धार्मिक तथा वैज्ञानिक कारणले पिपलको रुख महत्व रहेको दाबी गरे । उनले बिरुवा रोप्दा फलफूलका बिरुवालाई थप प्रथामिकता दिन सुझाव दिए । पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष जगत बहादुर पहारीले केदारेश्वरमा रोपिएका पिपलका बिरुवाले धार्मिक तथा पर्यापर्यटनमा प्रवद्र्धन हुने बताए ।
पिपलका बिरुवा रोपेसँगै उक्त बिरुवाको उचित संरक्षणमा आफूहरुले ध्यान दिने लायन ईन्द्र भण्डारीले बताए । अन्य बिरुवाको तुलनामा पिपलले बढी अक्सिजन दिने हुदाँ पिपलको बिरुवा नै रोपिएको लायन श्याम लामिछानेले बताए ।