कारोबार संवाददाता
मंगलबार, श्रावण २९, २०७५
1072

बाजुरा-बाजुराको बूढीगंगा नगरपालिका र त्रिवेणी नगरपालिका बीचमा रहेको द्वारीमा बूढीगंगा नदी थुनिने खतरामा रहेको छ । लगातार वर्षाका कारणले त्रिवेणी नगरपालिका ९ पैमा गाउँबाट पहिरो झर्न शुरु भएपछि थुनिने खतरामा रहेको त्रिवेणी नगरपालिका नगर प्रमुख रामसिं रावलले बताएका छन् ।
एक हप्तादेखि लगातार पहिरो बग्न थालेपछि द्वारीमा बूढीगंगा नदी थुनिने खतरामा रहेको बाजुराका प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए । नदीको दुईतिहाई भाग थुनिएको र एक भागबाट मात्र बग्न शुरु रहेको प्रमुख जिल्ला अधिकारीले बताएका छन् ।

लगातार पहिरो बढ्दै गएपछि र ठूलो ढुंगा बीचमा आएर अड्किएपछि जतिबेला पनि नदी थुनिन सक्ने खतरा रहेको उनले बताए । नदी थुनिने जोखिम बढेपछि सेना, प्रहरीलाई समेत तयारीमा राखेको र स्थानीयलाई समेत सचेत गराइएको उनले जानकारी दिए ।
पैमा गाउँबाट लगातार पहिरो खसिरहेको र नदी एक छेउतिर गएपछि यता बूढीगंगा नगरपालिका १ अम्कोटको तलबाट पहिरो बग्न शुरु भएको स्थानीय नविन थापाले बताए । नदी थुनिने खतरासँगै नजिकै रहेको खेतियोग्य जमिन, झोलुंगे पुल र साँफे मार्तडी सडक खण्ड पनि उच्च जोखिममा रहेका छन् । नदी थुनिने खतरासँगै अछाम जिल्लामा पनि उच्च सर्तकता अपनाइएको छ ।
अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले अछामबाट सशस्त्र प्रहरीको डिएसपीको नेतृत्वमा पुगेर वास्तविक अध्ययन गरेर आएको बताए । नदी जतिबेला पनि थुनिने सक्ने भएकाले स्थानीयलाई नियमित सम्पर्कमा राखेको उनले बताएका छन् ।
नदी थुनिने खतरासँगै त्यहाँ नजिक आवतजावत बन्द गरिएको छ भने झोलुंगे पुलमा समेत आवतजावत बन्द गरिएको छ । द्वारीबाट पैमा गाउँमा जाने बाटो समेत बन्द भएको त्रिवेणी नगरपालिका नगरप्रमुख रामसिं रावलले बताएका छन् । नदीन थुनिन सक्ने खतरा बढेपछि गृह मन्त्रालयसम्म जानकारी गराइसकेको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले वताएका छन् । बाजुराको ताप्रिसेरा, अछामको बुढाबगर, साँफेबगरलगायत ठाउँ पनि जोखिममा रहेका छन् ।
पदम सिंह


सातामा धेरै पढिएको