कारोबार संवाददाता
मंगलबार, श्रावण २९, २०७५
1005

सोमबार दिनभर परेको वर्षाका कारण देशका विभिन्न ठाउँको जनजीवन प्रभावित भएको छ । विभिन्न नदी तथा खोलाहरुमा आएको बाढीले कतिपय बस्ती डुबानमा परेका छन् भने कतिपय बस्ती जोखिममा छन् । पहिरोका कारण केही राजमार्ग तथा स्थानीय सडक अवरुद्ध बनेका छन् । 
विशेषगरी सुदूरपश्चिम क्षेत्रमा बाढीपहिरोको प्रभाव बढी परेको छ । कारोबारका कञ्चनपुर संवाददाता महादेव अवस्थीका अनुसार वर्षाका कारण कञ्चनपुरको जनजीवन प्रभावित हुनुका साथै गाउँबस्ती डुबानमा परेका छन् । कञ्चनपुरको महाकाली नगरपालिकाका वडा नं.८ र १० को बस्ती डुबानमा परेका महाकाली नगरपालिकाका नगर प्रमुख विरबहादुर सुनारले बताए । महाकाली नदीले वडा नं. १ को तटबन्ध समेत भत्काएको नगर प्रमुख सुनारले बताए । जोखिममा रहेकालाई सुरक्षित स्थानमा सारिएको छ । कटानी भइरहेको १ वडामा तटबन्ध निमार्णको काम भइरहेको उनले बताए । उनका अनुसार महाकाली नगरपालिका वडा ८ सुन्दरनगर वडा १० का कुतियाकबर, शान्तिटोल, वैद्यफाँटा र गिरी टोलका ५० घर डुबानमा परेका छन् ।दार्चुलाको धौलिगंगाको बाँध खोलेपछि कञ्चनपुरमा समेत पानीको सतह बढ्ने सम्भावना देखिएको कञ्चनपुर प्रहरी प्रवक्ता ज्ञानबहादुर सेटीले बताए । उनले भने, “दार्चुलाको धौलिगंगाको बाँध खोलेको छ र त्यो पानी कञ्चनपुर पुग्ने सम्भावना छ । त्यसका लागि कञ्चनपुर प्रहरी सतर्क रहेको छ ।” जिल्लाका धेरै जसो बस्तीहरू जलमग्न भएका छन् । वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि भारतीय पक्षले पुल सुरक्षाको कारण देखाउँदै बनबासा पुलमा चारपांग्रे सवारी साधन आवागमनमा रोक लगाएको छ । कञ्चनपुर प्रहरी प्रवक्ता ज्ञानबहादुर सेटीले महाकाली पुलमा चारपाङ्ग्रे सवारी साधनमा रोक लगाएको बताए । उनका अनुसार पैदल यात्री, साईकल र मोटरसाईकल मात्रै चल्न दिइएको छ । महाकालीको बहाव १ लाख १५ हजार क्युसेक छ । 

राप्ती नजिकका गाउँ डुबानको जोखिममा
वर्षाका कारण राप्ती नदीमा पानीको सतह बढ्दै बाढीको खतरा नजिक पुग्न थालेको छ । नदीमा पानी बढ्दै गएपछि सो वरिपरिका दर्जनौं गाउँहरू डुबानको उच्च जोखिममा पुगेका छन् । बाढी पूर्व सूचनाको लागि कुसुममा राखिएको बाढी मापन केन्द्रले दिएको जानकारी अनुसार सोमबार दिउँसो साढे ३ बजे राप्तीमा पानीको सतह ४ मिटर ७५ सेन्टिमिटर पुगेको छ ।राप्तीमा पानीको सतह ५ मिटर पुग्दा खतराको साइरन बज्ने गर्छ । पानीको सतह ५ मिटर पुग्दा राप्ती किनारका होलिया, बेतहनी, फत्तेपुर, कम्दी, गंगापुर, मटेहिया लगायतका गविस डुवानको खतरामा पर्ने गर्छन् । यी गाउँहरू बर्षेनी डुबान र बाढीमा पर्दै आएका छन् । कुसुममा आएको बाढीले ५ मिटर पार गर्दा सो पानी ती गाविससम्म पुग्दा कम्तीमा पनि ५ घण्टा लाग्छ । बाढीको क्षति न्यूनीकरणको लागि सुरक्षा निकाय तथा उद्दारको लागि खटिने संयन्त्र प्रभावित क्षेत्रमा तयारी अवस्थामा राखिएको छ ।जिल्ला दैविप्रकोप उद्दार समिति बाँकेका संयोजक तथा प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बाढीको क्षति न्यूनीकरणको लागि सुरक्षा निकाय तथा उद्दारको लागि खटिने संयन्त्र तयारी अवस्थामा राखिएको जानकारी दिए । उनले हरेक प्रकारको जोखिम र खतराको सामना गर्न सुरक्षाकर्मीहरू तयारी अवस्थामा रहेको जनाउँदै जोखिममा रहेका स्थानीय बासिन्दालाई पनि सचेत पारिसकिएको बताए । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एससी अरुण पौडेलले पनि प्रभावित ठाउँका प्रहरी युनिटलाई उद्धारको लागि आवश्यक उपकरण सहित तयारी अवस्थामा राखिएको बताएका छन् । राप्ती नदी तथा स्थानीय अन्य खोलाहरूमा पानीको सतह बढ्दै जान थालेपछि तटिय क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित हुन आग्रह गरिएको र कुनै पनि खतरा आउने बित्तिकै अग्लो स्थानहरूमा पुग्न अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

 गुम्बा गाउँ सम्पर्कविहीन 
बाजुरा संवाददाता पदम सिंहका अनुसार वर्षाले बाजुराको सर्वाधिक विकट गाउँ गुम्बा सम्पर्कविहिन बनेको छ । हिमाली गाउँपालिका वडा नम्बर ३ मा पर्ने गुम्बा गाउँमा आवतजावत गर्ने बाटो पहिराले बगाउँदा र नदिमा रहेका काठेपुल बगाउँदा गाउँनै अन्य समुदायसँग सम्पर्कविहिन रहेको छ । अर्को त्यहाँ कुनै सञ्चार सेवा समेत छैन ।सदरमुकाम मार्तडीबाट ४५ कोष टाढा अर्थात् पैदल ४ दिन पर्ने बिच्छँयाको गुम्बा गाउँ राज्यले त्यस गाउँका आवतजावत गर्ने पुल र बाटो नबनाउँदा सधै वर्षामा सम्पर्कविहिन बन्दै आएको स्थानीय छिरिङ धोर्चे लामाले बताए । गुम्बा गाउँमा २५ परिवार बसोबास गर्दै आएका छन् ।वडा सचिव गौरीकान्त सञ्जालले वर्षा शुरु भएदेखि नै गाउँका कोही पनि सम्पर्कमा नआएको र त्यो गाउँ पनि जान नसकिएको बताए । गुम्बाबाट बिच्छँयाको बौडीसम्म आउनका लागि दुईवटा ठूला नदी रहेका छन् र ती नदीमा पुल छैन । उता, बाजुराको साँफे मार्तडी सडक खण्ड पहिरोको चपेटामा परेको छ । सडकको विभिन्न ठाउँमा पहिरो र हिलोले गर्दा सडक अवरुद्ध भएको छ । लगातारको पानीका कारण केही ठाउँमा हिलो र केही ठाउँमा पहिरोका कारण यातायात बन्द हुँदा आवतजावतमा असहज भएको छ । अछामको साँफेदेखि मार्तडीसम्म ५७ किलोमिटर रहेको छ । सडकको तलदेखि माथि चारैतिर बाट पहिरो जाँदा सडकमा हिँड्दा समेत निकै जोखिम रहेको स्थानियले बताएका छन् । सडक खण्डको विभिन्न ठाउँमा हिलोका कारण समस्या आएको छ भने मार्तडीको नजिकै ठाउँ ठाउँमा पहिरो गएकाले यातायात सञ्चालनमा आउन समस्या भएको मार्तडी काउन्टरका गोरख रावलले बताएका छन् । अछामको बूढाबगरमा करिब ५ सय मिटर सडक कटान भएको छ । सडकको केही भाग बगाएर लगेको छ ।बाढी र पहिरोले साँफे मार्तडी सडक खण्ड विभिन्न ठाउँमा अवरोध हुँदा आवतजावत गर्नमा समस्या हुनुका साथै सामान ढुवानी गर्नमा निकै समस्या भएको छ । सडक अवरुद्ध हुँदा जिल्ला सदरमुकाम मार्तडी र उत्तरी क्षेत्रका कोल्टि बजारमा दैनिक उपभोग्य सामानको मूल्य अकाशिएको उद्योग वाणिज्य संघ बाजुराका अध्यक्ष देवबहादुर रोकायाले बताएका छन् ।

महाकाली राजमार्ग अवरुद्ध
सोमबार बिहान पहिरो जाँदा महाकाली राजमार्ग अवरुद्ध भएको राससले जनाएको छ । बैतडीको गोकुलेश्वर–दार्चुलाको खलङ्गा सडकखण्डअन्तर्गत मालिकार्जुन गाउँपालिकाको पनेबाँज नजिक सडक माथिबाट ठूलो पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले जानकारी दिए । पहिरोका कारण उक्त सडकखण्ड पूर्णरुपमा बन्द भएको छ । केही दिनदेखिको लगातारको वर्षाका कारण पहिरो जाँदा अवरुद्ध भएको राजमार्ग सञ्चालनका लागि बैतडीको पाटनबाट डोजरलाई पठाइएको छ । पहिरो पन्छाउने प्रयास भइरहेको भएपनि ठूलो पहिरोका कारण पन्छाउन नसकिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।राजमार्ग अवरुद्ध हुँदा छोटो तथा लामो दूरीका सवारी साधन पूर्णरुपमा बन्द भएका छन् । दार्चुलाबाट काठमाडौँ, महेन्द्रनगर, धनगढी, डडेल्धुरा र बैतडी तथा काठमाडौँ, महेन्द्रनगर, धनगढी र बैतडीबाट दार्चुलाका लागि छुटेका सवारी साधन बीच बाटोमै रोकिएका छन् । सवारी साधन बीच बाटोमै रोकिँदा यात्रु अलपत्र परेका छन् । उक्त क्षेत्रमा बेलाबेलामा खसिरहने पहिरोले राजमार्ग अवरुद्ध हुँदै आएको छ ।
जिल्ला ब्युरो


मुलुकभर अझै केही दिन वर्षा
 अहिले मुलुकभर सरदर मनसुनी वर्षा भएको छ । मनसुनको चार महिनाको अवधिमा देशभर सरदर करिब १५ सय मिलिमिटर वर्षा हुने गर्दछ । मौसम पूर्वानुमान महाशाखाको आँकडाअनुसार यो वर्ष अहिलेसम्म सबैभन्दा बढी (हालै भक्तपुरमा) १२५ मिलिमिटर वर्षा भएको छ । यो वर्ष मनसुन सक्रीय भएको लामो अवधिसम्म पनि प्रभावकारी वर्षा नभए पनि साउन १५ देखि वर्षा राम्ररी भइरहेको छ । 
मनसुन अवधिमा असार १५ देखि साउन १५ सम्म सबैभन्दा बढी वर्षा हुने गर्दछ । सामान्यतः नेपालमा जेठको अन्तिम सातादेखि मनसुन शुरु भई असोजको पहिलो सातासम्मको अवधि हुन्छ । अहिलेसम्म मध्य र पश्चिममा वर्षा राम्रै भइरहे पनि पूर्वी भेगमा तुलनात्मक रुपमा वर्षा हुन सकेको छैन । दुई दिनदेखि ती क्षेत्रमा पनि वर्षा राम्रो भइरहेकोले यो वर्ष पनि सरदर वर्षाको अनुमान गरिएको मौसमविद् वरुण पौडेलले बताए । “मनसुन चार महिना अवधिको विवरण भदौमा मात्रै आउँछ, अहिलेसम्मको वर्षाको अवस्थालाई हेर्दा सरदर वर्षा हो । धेरै स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा भएको छ, दुई दिनदेखि पूर्वमा पनि मनसुन पूर्ण सक्रिय भएकाले यो वर्ष पनि सरदर वर्षा हुने देखिन्छ,” उनले भने । मौसमविद् पौडेलका अनुसार अघिल्लो वर्ष करिव १५० मिलिमिटर वर्षा भएको थियो । विगतको आँकडा हेर्दा सन् १९९३ जुलाई महिनामा मकवानपुरको टिस्टुङ पालुङमा २४ घण्टा अवधिमा ५४० मिलिमिटर वर्षा भएको थियो । जुन अहिलेसम्मकै अतिभारी वर्षा हो । 
जेठ १५ देखि असोज १५ गतेसम्म बङ्गालको खाडी हुँदै नेपाल प्रवेश गर्ने जलवाष्पयुक्त हावा नै मनसुन हो । नेपालको पूर्वी भेग हुँदै प्रवेश गर्ने चार महिना (१०५) दिन अवधिमा चल्ने उक्त हावाले अधिक वर्षा गराउँछ । जलवाष्पयुक्त हावाले नै मनसुन अवधिभर वर्षात् गराउने मौसमविद्को भनाइ छ । नेपालमा वर्षभरि मनसुनका कारण ८० प्रतिशत र पूर्वमनसुन र पश्चिमी वायुको प्रभावले २० प्रतिशत वर्षा हुने गरेको छ । जल तथा मौसम विज्ञान विभागले जनाएअनुसार साधारणतया जेठ १५ देखि असोज १५ गतेको चार महिनासम्मको समयलाई दक्षिण एशियाली मनसुनको अवधि भनिन्छ । उक्त समयमा नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत वर्षा हुन्छ । गत वर्षको मनसुनी वर्षा करीब ७६ प्रतिशत रहेको थियो, जुन सरदरभन्दा कम हो । 
महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिन निकालेर देशका मध्य र पश्चिमका केही स्थानम भारी वर्षा हुने जनाएको छ । अबको तीन दिनसम्म देभर हल्कादेखि मध्यम र केही स्थानभा भारी वर्षाको सम्भावना औँल्याएको हो । मङ्गबार दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै जसो स्थानमा मध्यमदेखि भारी वर्षा हुने जनाइएको छ । मङ्गलबार दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुनेछ भने पश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । अहिलेको वर्षा अन्य कुनै मौसमी प्रणालीको प्रभाव नभई मनसुन न्यूनचापीय रेखाको प्रभावले नै बदली र वर्षा गराएको तथा बुधबारदेखि मौसममा क्रमिक सुधार आउने मौसमविद् पौडेलको भनाई छ । 
मनसुन न्यूनचापीय रेखा नेपाल नजिक (तराईको सिमाना क्षेत्र) रहेकाले विगत केही दिनयता निरन्तर वर्षा भइरहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उक्त प्रणालीको प्रभावले नेपालमा १० दिनयता दिनहुँजसो देशका धेरै भू–भागमा हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षा भएको छ ।  (रासस)