लक्ष्मीप्रसाद सापकोटा
सोमवार, श्रावण २८, २०७५
958

पर्वत २८ -मोदी गाउँपालिका–६ तिलाहारस्थित मोदीखोलाबाट गैरकानुनी रुपमा ढुंगा, गिटी, बालुवाको उत्खनन गरिएको छ । जथाभावी गिट्टी वालुवालागायतका प्राकृतिक स्रोतको दोहन हुन थालेपछि डिमुवाबजारस्थित वस्ती जोखिमा परेको छ । नदी आसपासका स्थानीय त्रसित बनेका छन् । जथाभावी वालुवा निकाल्दा बर्षातको समयमा जुनसुकै बेला नदी बस्तीमा पस्न सक्ने खतरा बढेको छ ।
बागलुङ पोखरा राजमार्गसँगैको तल्लो डिमुवा बजार खतरामा परेको हो । डिमुवा प्रहरी चौकी भन्दा १ सय मिटरको नजिकै दुरीबाट मध्यरातमा डोजर र स्क्याभेटरको प्रयोग वालुवा चोरी निकासी हुँदासमेत स्थानीय प्रशासन भने मौन छ । नदीमा बालुवा निकालिएका ठुला खाल्डाहरु छन् ।

डोजर र लोडरको प्रयोगबाट गिट्टी बालुवा निकाल्ने कार्य जारी राखिए नदी नै बस्तीमा पस्न सक्ने स्थानिय बताउँछन् । मोदी खोलाका कारण सो क्षेत्रका ९५ घर सहित प्रहरी चौकी समेत जोखिममा छ ।
डिमुवा बजार टोल विकास समितिले गाउँपालिकालाई निवेदन दिँदै बजारको सुरक्षाका लागि अबैध दोहन रोक्न माग गरेको छ । समितिका अध्यक्ष दिपेन्द्रजंग लामिछाने र स्थानीयवासी समेतले बजारको सुरक्षाका लागि पहल गरिदिन माग गरेका हुन् । मोदी खोलाबाट तीन वटा जलबिद्युत आयोजना सञ्चालित छन् । तल्लो मोदीखोला १ जलबिद्युत आयोजना, देउपुर गाविसमा रहेको मोदीखोला जलबिद्युत आयोजना र देउराली गाबिसमा रहेको पातीखोला जलबिद्युत आयोजना सञ्चालित छन् ।