कारोबार संवाददाता
सोमवार, श्रावण २८, २०७५
2056

अछाम-अछामको रामारोशन गाउँपालिकाले जथाभावी रूपमा कैलाश खोलामा पाइने असला माछा मार्न रोक लगाएको छ । गाउँपालिकाको बैठकले असला माछा संरक्षणका लागि कैलाशखोला र शाखा खोलामा माछा मार्न रोक लगाएको हो ।
खोलामा अवैध माछा मार्ने कार्यलाई निरुत्साहित गर्न तथा यहाँको स्थानीय असला जातको माछा संरक्षणका लागि गाउँ कार्यपालिका बैठकबाट नियम नै पारित गरिएको र कार्यान्वयनमा ल्याइएको गाउँपालिका अध्यक्ष झंकर साउदले बताए । नियमअनुसार ८४ गेडी भएको जालबाहेक अन्य जुनसुकै प्रक्रियाबाट माछा मारेमा अवैध ठहर गरिएको छ । असला जातको माछा घट्दै गएको र खोलामा अवैध रूपमा माछा मार्ने क्रम बढेकाले गाउँपालिकाले नयाँ नियम बनाएको उनको भनाइ छ । अछाममा सबैभन्दा बढी माछा पाइने कैलाश खोलामा अबका दिनमा स्थानीयले माछा मार्ने जाल गाउँपालिकामा दर्ता गर्नुपर्ने र माछा मार्ने अनुमतिपत्र लिनुपर्ने अन्यथा माछा मार्न नपाइने भएको छ । यसरी नियम बनाएर अघि बढ्दा व्यावसायिक रूपमा माछा मानेरुका लागि सहज हुने र जाल दर्ता गर्दा र अनुमतिपत्र लिँदा केही राजस्व पनि संकलन हुने गाउँपालिकाको ठहर छ ।

गाउँपालिकाले नियम पारित गरिसकेपछि सूचना निकालेरै जाल दर्ता र माछा मार्ने अनुमतिपत्रका लागि दरखास्त आह्वान समेत गरिसकेको गाउँपालिकाका सूचना प्रविधि अधिकृत बुद्धिबहादुर साउदले जानकारी दिए । साउन २५ देखि भदौ ८ गतेसम्म आवेदन दिनसक्ने गरी सूचना निकालिएको उनले बताए ।
जाल दर्ता गरेका र अनुमति लिएका स्थानीयले मात्रै माछा मार्न पाउने भएकाले अन्य कुनै पनि अवैध प्रक्रियाबाट माछा मारेमा नियमअनुसार कारबाही गरिने गाउँपालिकाले जनाएको छ । नियममा जाल दर्ता नगरी र अनुमति नलिई माछा मारेको पाइएमा पहिलो पटकलाई ५ सय रुपैयाँ जरिवाना गराइने र त्यसपछि पनि सो कार्य भएको पाइए प्रत्येक पटक दोब्बर जरिवाना तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

होम साउद