कारोबार संवाददाता
बुधवार, श्रावण २३, २०७५
673

ओखलढुंगा-ओखलढुंगामा भूकम्पबाट क्षति पुगेका घर प्रबलीकरण (रेक्ट्रोफिटिङ) गर्न समस्या भएको छ । लाभग्राही सूचीमा परेका घरहरूको प्रबलीकरणका लागि प्राविधिक र दक्ष कामदार अभावका कारण अन्योलता बढेको हो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणका लागि प्राविधिक र कामदारलाई तालिम नदिएका कारण जनशक्ति अभाव भएको हो । जनशक्ति अभाव भएपछि घर प्रबलीकरणका लागि अनुदान सम्झौता गरेर पहिलो किस्तासमेत लिएका लाभग्राही अहिले अन्योलमा छन् । पुनर्निर्माणको तालिम लिएका कामदार नै जिल्लामा अभाव भएको समयमा प्रबलीकरणको तालिम नै नभएकाले कामदार पाउन नसकिएको लाभग्राहीको गुनासो छ ।

ओखलढुंगामा प्राधिकरणले पहिचान गरेका प्रबलीकरण लाभग्राही २ हजार ८६२ मध्ये १ हजार ७७४ ले अनुदान सम्झौता गरेर पहिलो किस्ता लिएका छन् । उनीहरूले दुई किस्तामा एक लाख रकम पाउने व्यवस्था छ । तर प्रबलीकरणको रेखदेख गर्ने प्राविधिक र कामदार नै जिल्लामा नभएपछि घर प्रबलीकरण सुरू नै भएको छैन । पुनर्निर्माणमा अगाडि रहेको ओखलढुंगा प्रबलीकरण भने काम सुरू नभएको हो ।
प्रबलीकरण गर्ने प्रविधि फरक रहेकाले कामदारलाई तालिम नदिई काम सुरू नहुने भए पनि हालसम्म तालिम सञ्चालन गर्ने कार्यक्रम जिल्लामा नआएको प्राधिकरणअन्तर्गत अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका प्रमुख विजयमुनि बज्राचार्यले बताए । उनले प्राविधिकले मात्रै तालिम पाएकाले कामदारलाई अब छिट्टै तालिम दिने कार्यक्रम आउने उनको भनाइ छ ।
प्रबलीकरणको अनुदान लिएका लाभग्राही भने अन्योलमा छन् । कतिले लिएको रकमसमेत अन्यत्रै खर्च गरिरहेका छन् । “लाभग्राहीहरूले रकम खर्च भइसक्यो, कामदार कहाँबाट ल्याएर प्रबलीकरण गर्ने भन्ने प्रश्न गरिरहेका छन्,” मानेभञ्ज्याङ गाउँपालिका–२ का वडाध्यक्ष उमेश कार्कीले भने, “अहिले खटिएका प्राविधिकलाई समेत प्रबलीकरणबारे थाहा नहुने रहेछ, अझ कामदार त कहाँबाट ल्याउने, तालिम दिइने भनेको सुनिए पनि भएको छैन ।”

सोलुखुम्बुमा पनि उस्तै
जनशक्ति अभावकै कारण सोलुखुम्बुमा पनि प्रबलीकरणको काम सुरू हुन सकेको छैन । सोलुखुम्बुमा प्रबलीकरण लाभग्राहीमा सूचीकृत भएका ४५६ मध्ये ३३९ जनाले सम्झौता गरेर अनुदानको पहिलो किस्ता लिइसकेका छन् ।