कारोबार संवाददाता
मंगलबार, श्रावण २२, २०७५
334

तत्कालीन नेकपा माओवादीले नुवाकोटमा सञ्चालन गरेको सशस्त्र द्वन्द्वका क्रममा पीडित भएकाहरूलाई सरकारले करिब ३ करोड रुपैयाँ राहत वितरण गरेको छ । गत आर्थिक वर्ष ०७४-७५ मा पीडितलाई सरकारले उपलब्ध गराएको २ करोड ८८ लाख ७५ हजार रुपैयाँ क्षतिपूर्ति रकम विभिन्न पाँच शीर्षकका पीडितलाई उपलब्ध गराइएको सहायक प्रमुख जिल्ला अधिकारी नन्दलाल शर्माले जानकारी दिए ।
द्वन्द्वका क्रममा शरीर अंगभंग भएर नियमित औषधि सेवन गर्दै आएका ८ जनालाई प्रतिव्यक्ति ७४ हजार ३७५ रुपैयाँको दरले ५ लाख ९५ हजार, टुहुरा बालबालिकाका लागि २३ जनालाई प्रतिव्यक्ति ६० हजारका दरले १३ लाख ८० हजार,

विस्थापित २३७ परिवारमा आबद्ध ९०७ सदस्यलाई प्रतिव्यक्ति २५ हजार रुपैयाँका दरले २ करोड ४६ लाख ७५ हजार रुपैयाँ, अपहरणमा परेका ५० जनालाई २५ हजार रुपैयाँका दरले १२ लाख ५० हजार रुपैयाँ र मृतक तथा बेपत्ता भएका १४ जना व्यक्तिका परिवारलाई १० लाख रुपैयाँ उपलब्ध गराउन यसअघि अपुग भएको रकममा थप गर्न २९ लाख ५० हजार रुपैयाँ उपलब्ध गराइएको हो ।
सशस्त्र द्वन्द्वका पीडितलाई उपलब्ध गराउन नेपाल सरकारबाट ४ करोड ५ लाख ७० हजार रुपैयाँ प्राप्त भए पनि सबै रकम वितरण नभएको प्रशासन कार्यालयका लेखापाल रामजी लम्सालले जानकारी दिए । लम्सालका अनुसार तत्कालीन समयमा शान्ति तथा पुनर्निर्माण मन्त्रालयअन्तर्गत रहेको ‘द्वन्द्व प्रभावित व्यक्ति, परिवार तथा संरचनाको लगत संकलन कार्यदल २०७४’ले सिफारिस गरेअनुसार नाम सूचीकृत भएकाले मात्र क्षतिपूर्ति रकम पाउने र त्यसका लागि पीडितले तोकिएको कागजात उपलब्ध गराएर मृतक तथा बेपत्ताको हकमा बाहेक व्यक्ति स्वयं उपस्थित हुनुपर्ने व्यवस्थाका केही रकम फिर्ता भएको हो ।