कारोबार संवाददाता
मंगलबार, श्रावण २२, २०७५
604

बर्दिया-बर्दिया सदरमुकामस्थित गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोडने एकमात्र विकल्पको रूपमा रहेको भासिएको जब्दीघाट पुलमा जोखिमपूर्ण यात्रा गर्न स्थानीय बाध्य भएका छन् । एकवर्ष अघि भासिएको पुल पुनर्निर्माण नहुदा स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् ।
नेपाल सरकारको विकास बजेटअन्तर्गत करिब १७ करोड लागतमा बनेको सो पुलका तीनवटा पिलर गत साउन २९ गतेको बाढीले भासिएका थिए । निर्माण सम्पन्न भएको वर्षदिन नबित्दै पुल भासिएको लामो समय बितिसक्दा पनि हालसम्म छानबिन हुनसकेको छैन ।

बारबर्दिया नगरपालिकाको लाइफलाइनका रूपमा हेरिएको पुल भासिएर धराप थापेझैं अलपत्र अवस्थामा छाडिँदा आवतजावत गर्ने यात्रुलाई भने निकै सास्ती हुने गरेको छ । यतिबेला नदीमा पानीको सतह बढदै गएपछि जोखिमका बीच पुलमा यात्रा गर्नुपर्दा एकातिर पुल भत्किएर ज्यानै जाने हो कि भन्ने त्रास रहेको छ भने अर्कोतर्फ बस, एम्बुलेन्सलगायत सवारी साधन आवागमन बन्द हुँदा झनै सास्ती भएको स्थानीय बताउँछन् ।
खासगरी दैनिक सदरमुकाम आउनुपर्ने विद्यार्थी, दैनिक ज्याला मजदुरी गर्ने श्रमिक र सुत्केरी, गर्भवतीलगायत बिरामीलाई निकै सास्ती भएको बारबर्दिया नगरपालिका ११ जब्दीकी सुनिता कुस्मी थारुले बताइन् । “पढनका लागि दिनहुँ पुल पार गरेर गुलरिया जानुपर्छ,” उनले भनिन्, “नदीमा पानीको सतह बढ्दैछ, भासिएको पुल भत्किएर ज्यानै जाने होकी भन्ने डर लाग्छ ।”
त्यस्तै बारबर्दियावाट दैनिक ज्याला मजदुरी गर्न गुलरिया जानेगरेकी रुक्मा थारुले भत्किएको पुलमा जोखिमपूर्ण यात्रा गर्नुपर्दा निकै त्रसित हुने गरेको बताइन् । “पानीको सतह बढेर भत्किएको पिलरनजिकै पुलमाथि पानी आउला जस्तो देखिन्छ,” उनले भनिन्, “बिहान पुल तरे पनि बेलुका फर्किन पाइँदैन कि भन्ने त्रासमा पुल पार गर्नुपर्छ ।”
भासिएको पुलको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको बताइएको छ । पुल भासिएको एकवर्ष बितिसक्दा समेत छानबिनमा ढिलाई हुँदा स्थानीयलाई झन समस्या भएको हो । पुल हस्तान्तरण नगर्दै भत्किएपछि सम्बन्धित सडक डिभिजन कार्यालय बाँके र देशका विभिन्न ठाँउमा निर्माण भएका संरचनामा विवादित बनेको निर्माण कम्पनी पप्पु कन्सट्रक्सनले एक अर्कालाई दोष लगाई जिम्मेवारीबाट पन्छिन खोजेको स्थानीयको आरोप छ ।
यतिबेला नदीमा पानीको सतह बढदै जाँदा पुलले ड्यामको काम गरिरहेको छ । त्यसैले तत्कालै भत्किएको भागलाई माथि उठाएर बेलिब्रिज लगाई पुल सञ्चालन गर्नुका साथै निर्माणमा अनियमितता गर्नेलाई कारबाही गर्नुपर्ने बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारुको भनाइ छ । छानबिन प्रक्रिया आफ्नो ठाउँमा रहे पनि तत्कालै बेलिब्रिज राखेर पुल सुचारु गर्न विभिन्न निकायमा माग राखे पनि कुनै सुनुवाइ नभएको उनको भनाइ छ । पुल भासिएपछि अनुगमनका लागि भन्दै महिनैपिच्छे सरकारका मन्त्री तथा केन्द्रीयस्तरका नेताहरू आएर राज्यकोषको ठूलो धनराशी खर्च गर्ने गरेका छन् । तर छानबिन प्रक्रियामा ढिलाइ हुँदा दोषी पत्ता लगाई कारबाहीका साथै पुल पुनर्निर्माण हुनसकेको छैन ।
भासिएको पुलका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेकाले छानबिन प्रतिवेदन नआउँदासम्म अन्य प्रक्रियामा जान नसकिने अनुगमनका क्रममा केही दिनअघि बर्दिया आएका प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेललले बताए । “अख्तियारले छानबिन गरी जे निष्कर्ष निकाल्छ त्यसैका आधारमा नेपाल सरकार अगाडि बढछ,” उनले भने ।
सडक डिभिजन कार्यालयले पनि छानबिन समितिको प्रतिवेदनकै पखाइमा रहेको जनाएको छ । तर स्थानीयले भने छानबिन प्रक्रियामै आशंका गरेका छन् । पुल निर्माण गर्ने पप्पु कन्स्ट्रक्सनका प्रोपराइटर हरिनारायण रौनियार अहिले संघीय संसद्को सांसद छन् । उनी आफंै सरकारमा भएकै कारण छानबिनमा ढिलाइ भएको स्थानीयको आरोप छ । भासिएको पुलबारे छिटोभन्दा छिटो छानबिन गरेर दोषीलाई कारबाही गरी पुल सञ्चालन गर्न बर्दियावासीले माग गरेका छन् ।
-लक्ष्मण ढुंगाना