कारोबार संवाददाता
मंगलबार, श्रावण २२, २०७५
393

इजाजत नवीकरण गर्न नगरपालिकाको सिफारिस अनिवार्य गरिएपछि नगरपालिका र आन्तरिक राजस्व कार्यालयमा तिर्नुपर्ने शुल्क बढेर झन्डै २० हजार पुगेपछि व्यवसायी आक्रोसित भएका हुन् ।

दार्चुला-दार्चुलाका मदिरा व्यवसायीले कर बढी भएको भन्दै आपत्ती जनाएका छन् । अन्तःशुल्क ऐन २०५८, अन्तःशुल्क नियमावली २०५९, मदिरा ऐन २०३१ र मदिरा नियमहरू २०३३ अनुसार मदिरा कारोबार गर्ने व्यवसायीले आन्तरिक राजस्व कार्यालयमा प्रत्येक वर्ष साढे आठ हजार रुपैयाँ राजस्व शुल्क बुझाउनुपर्ने व्यवस्था छ । योसँगै दार्चुलामा महाकाली नगरपालिकाले पनि मदिरा नियन्त्रण गर्ने उद्देश्यले कर थप गरेपछि व्यवसायीले आपत्ति जनाएका हुन् ।
मदिरा ऐनमा हरेक वर्षको साउन मसान्तसम्ममा मदिरा कारोबार इजाजतपत्र नवीकरण गरी सक्नुपर्ने प्रावधान छ । तर, इजाजत नवीकरण गर्न नगरपालिकाको सिफारिस अनिवार्य गरिएपछि नगरपालिका र आन्तरिक राजस्व कार्यालयमा तिर्नुपर्ने शुल्क बढेर झन्डै २० हजार पुगेपछि व्यवसायी आक्रोसित भएका हुन् ।
महाकाली नगरपालिकाले दोस्रो नगरसभाबाट दार्चुलामा मदिरा नियन्त्रण र व्यवस्थापनका लागि नयाँ इजाजत बन्द गर्ने, नवीकरण गर्दा ८ हजार ४ सय रुपैयाँ कर र २ हजार ५ सय रुपैयाँ व्यवसाय कर भनेर जम्मा १० हजार ९ सय रुपैयाँ कर बढाएको छ । दार्चुलामा मदिराको अत्यधिक कारोबार बढेको भन्दै नगरपालिकाले नियन्त्रणको लागि यस्तो निर्णय गरेको प्रवक्ता पुष्करराज जोशीले बताए ।
तर व्यवसायीले नगरपालिकालाई कर तिर्न आलटाल गर्न थालेपछि यो स्थिति देखा परेको हो । यसअघि प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यको अध्यक्षतामा बसेको सरोकारवालाहरूको बैठकले स्थलगत अध्ययन गरेर मात्रै नवीकरणका लागि सिफारिस दिने र उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय दार्चुलालाई अनुगमन गर्न निर्देशन दिएको थियो । इजाजत नवीकरण गर्न नगरपालिकाको सिफारिसमा कोष तथा लेखा नियन्त्रण कार्यालयले हस्ताक्षर गरेर मात्रै आन्तरिक राजस्व कार्यालयमा नवीकरण गर्नुपर्ने प्रावधान गरिएको छ ।

अढाई सय मदिरा व्यवसायी
दार्चुलामा ९ स्थानीय तह छन् । तीमध्ये मालिकार्जुन गाउँपालिकाले मदिरा निषेधित क्षेत्र घोषणा गरेको छ । महाकाली नगरपालिकामा मदिरा कारोबार गर्न इजाजत लिएका १ सय ५१, शैल्यशिखर नगरपालिकामा ४०, मार्मा गाउँपालिकामा २८, नौगाड गाउँपालिकामा ३३, लेकम गाउँपालिकामा २, व्याँस गाउँपालिकामा ६, दुहूँ र अपी हिमाल गाउँपालिकामा १-१ गरी २ सय ६३ व्यवसायीले मदिरा कारोबारको इजाजत लिएका छन् ।

१ वर्षमा २६ लाख राजस्व
दार्चुलामा गत आर्थिक वर्ष ०७४-७५ मा मदिरा तथा सूर्तीजन्य पदार्थ बिक्री वितरणबाट २६ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरिएको छ । मदिराबाट २६ लाख ७४ हजार ७ सय १२ रुपैयाँ र सुर्तीजन्य पदार्थ बिक्री वितरणबाट ४० हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

कृष्ण धामी