कारोबार संवाददाता
मंगलबार, श्रावण २२, २०७५
919

नेपालगन्ज-प्रदेश नम्बर ५ कै सबैभन्दा ठूलो औद्योगिक तथा व्यावसायिक सहरको रूपमा विकसित हुँदै गएको नेपालगन्ज उपमहानगरको सुरक्षालाई आधुनिक सुरक्षा प्रविधि र प्रणालीसँग जोडिएको छ ।
नेपालगन्ज उपमहानगरका बढी उद्योग, व्यवसाय तथा वित्तीय संघ–संस्थाहरू रहेका १६ मुख्य स्थानमा ५६ वटा सीसीटिभी क्यामेरा जडान गरेर सोमबारदेखि ती क्यामेराहरूलाई सञ्चालनमा ल्याइएको छ ।

जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय श्रीवास्तव, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणा, बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, प्रदेश प्रहरी प्रमुख डीआईजी शेरबहादुर बस्नेतले संयुक्त रूपमा सीसीटिभी क्यामरा सञ्चालनको शुभारम्भ गरे ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणाका अनुसार नेपालगन्जका राझा, भुजइगाउँ, कारकादौं, पुष्पलाल चौक, धम्बोझी, बीपी चौक, गणेशमान चौक, भेरी अस्पताल चौक, त्रिभुवन चौक, त्रिवेणी चौक, सहिद सेतु विक चौक, बसपार्क चौक र बाइपासललगायतका मुख्य चौकमा सीसीटिभी क्यामरा जडान गरिएको छ ।
ती सबै स्थानमा ठूला–ठूला व्यावसायिक प्रतिष्ठान, उद्योग कलकारखाना तथा बैंक र वित्तीय संस्थाहरू रहेकाले उनीहरूको सुरक्षालाई विशेष रूपमा दृष्टिगत गरेर सीसीटिभी क्यामरा जडान गरेर सञ्चालनमा ल्याइएको प्रमुख राणाले बताए ।
नगरका विभिन्न भागमा जोडिएका सीसीटिभी क्यामेराहरू जिल्ला प्रहरी कार्यालय बाँकेको प्रत्यक्ष निगरानीमा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालयमा रहेको कन्ट्रोल रुमबाट सबै क्यामेराको निगरानी गर्ने कार्य भैरहेको तथा क्यामेराले रेकर्ड गर्ने काम पनि भैरहेको छ ।
लामो समयदेखि स्थानीय उद्योगी व्यवसायीहरूले सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिएका उद्योग, व्यावसायिक प्रतिष्ठान र बैंक तथा वित्तीय संस्थाहरू रहेको स्थानमा सीसीटिभी क्यामेरा जडानको माग गर्दै आएकोमा नेपालगन्ज उद्योग वाणिज्य संघको पहलमा सो कार्य गरिएको संघका अध्यक्ष नन्दलाल वैश्यले बताए ।
सीसीटिभी जडान समितिले सिसिक्यामेरा जडानका लागि केही महिना पहिले मात्र मुइन इन्टरनेशनल प्रा.लि. ललितपुरसँग ३१ लाख ७ हजार २ सय ६८ रुपैयाँमा सम्झौता गरेको थियो ।
यसअघि पटक–पटक नगरमा सीसीटिभी र क्यामेरा जडानका प्रयास गरिए पनि सफल हुन सकेको थिएन । पछिल्लो पटक गठित समितिका सदस्यहरू आफैंले २ लाख ७५ हजार रुपैयाँ जम्मा गरी सीसीटिभीका लागि खर्च जुटाउन कस्सिएपछि आवश्यक बजेट जुटेको हो ।
सुरुमा २५ लाख खर्च अनुमान गरिएको सिसिक्यामेरा जडानमा ३१ लाख बढी खर्च भएको छ ।