कारोबार संवाददाता
मंगलबार, श्रावण २२, २०७५
971

देशैभर परेको पानीसँगै सर्वसाधरणमा बाढी तथा पहिरोको त्रास बढेको छ । निरन्तरको वर्षाले हिमाली तथा पहाडी क्षेत्रमा पहिरो र तराई क्षेत्रमा बाढीको त्रास बढेको हो ।
सर्वसाधारणमा बाढीको सतर्कता अपनाउन सरकारले सूचना जारी गरे पनि बुधबारसम्म ठूलो बाढीको खतरा नरहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ । विभागले जारी गरेको बाढी बुलेटिन अनुसार मध्य क्षेत्र र प्रदेश २ को अधिकांश स्थान र प्रदेश ७ को उत्तरी दार्चुला क्षेत्रमा ठूलो वaर्षा भएको छ । प्रदेश २ का चुरेबाट बहने खोलानालाहरूमा सतर्कता अपनाउनुपर्ने बताइएको छ । महाकालीको दार्चुला क्षेत्रमा पनि सतर्क रहनका लागि विभागले सर्वसाधारणलाई आग्रह गरेको छ ।
भक्तपुर फेरि पनि डुबानमा पर्ने खतरा देखिएको भन्दै विभागले सूचना दिएको छ । हाल भक्तपुरमा उच्च सतर्कता अपनाउन थालिएको छ । काठमाडौं उपत्यकामा भएको अत्यधिक वर्षाले खोलाहरूमा आएको बाढी फेरि पनि भक्तपुरका बस्तीमा पस्ने खतरा रहेकाले सतर्कता अपनाइएको हो ।
भक्तपुरको हनुमन्ते खोलामा पानी वहाव बढेसँगै आएको बाढीले सल्लाघारी, श्रीजनानगर, राधेराधे, दुवाकोट लगायतका स्थान डुबानमा पर्दै आएका छन् । गत २८ असार र २० साउनमा भक्तपुर डुबानमा परेको थियो । बाढीले राधेराधे र सल्लाघारी जोड्ने पुलमा क्षति भएकाले मर्मत गरिएको थियो ।
आइतबार रातिदेखि परेको अविरल वर्षापछि काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, मनोहरा लगायतका खोलामा बाढी आएको छ । बाढीका कारण नदी आसपासमा बसोबास गर्ने सर्वसाधारणमा त्रास उत्पन्न भएको छ । ललितपुरको गोदाबारी खोलामा आएको बाढीले एउटा कार बगाएको छ । प्रहरीका अनुसार बा १४ च ४७४९ नम्बरको बगाएको गाडी लुभुकै स्थानीय प्रेमराज लावतीको कार बगाएको हो ।

बुधवारसम्म नै वर्षा
दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा भएको थियो । मौसम पूर्वानुमान माहाशाखाको अनुसार मंगलबार दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशका मध्य र पश्चिमका धेरै स्थानहरू, पूर्वका केहि स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ । मंगलबार राति पश्चिम तथा मध्यका एक वा दुई स्थानमा भारि वर्षाको पनि सम्भावना रहेको महाशाखाको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

हनुमन्तेमा शव भेटियो
वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले एक किशोरको शव बगाएर ल्याएको अवस्थामा भेटिएको छ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका थली घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा बाबुआमासँग टहरामा बस्दै आएका १७ वर्षीय राजेश श्रेष्ठको शव भक्तपुर नगरपालिका–१ सल्लाघारी इवामुरा मेमोरियल अस्पतालअगाडि रूखमा अड्किएको अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ ।
अनुसन्धानका क्रममा आइतबार दिउँसो साथीकहाँ जान्छु भनेर निस्किएका श्रेष्ठ घर नफर्किएको र खोलाले बगाएको अवस्थामा शव भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुर मुद्दा शाखाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिए ।
वर्षाका कारण सोमबार पनि भक्तपुर डुबानमा परेको थियो । निरन्तर पानी परेपछि खोलामा बाढी बढेपछि महानगरीय प्रहरी परिसर भक्तपुरले हनुमन्ते नदी र मनोहरा नदी आसपासका क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान र सुरक्षित रहन आग्रह गर्दै माइकिङ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।
विशेषगरी रातिको समयमा आउने बाढीबाट बच्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ । बाढीमा उद्धार गर्न र आवश्यक सहयोग गर्न नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको टोलीलाई उच्च सतर्कतामा राखिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
मनसुन न्यूनचापीय प्रणालीको प्रभावले सोमबार देशैभर बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा भएको छ । मनसुन न्यूनचापीय रेखा नेपाल नजिक (खासगरी मध्य र पश्चिम क्षेत्र) भएकाले काठमाडौँ उपत्यकासहित देशभर बदली र वर्षा भएको मौसविद् मीनकुमार अर्यालले जानकारी दिए ।
मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा वर्षा हुने तथा पश्चिमी क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना औँल्याएको छ ।
मंगलबार दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशका मध्य र पश्चिमका धेरै स्थानमा र पूर्वका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना छ । राति पश्चिम तथा मध्यका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
मनसुन न्यूनचापीय रेखा नेपालतर्फ रहेकाले विगत तीन दिनदेखि निरन्तर वर्षा भइरहेको छ । मौसमविद् अर्यालको भनाइमा मौसमी मापदण्डअनुसार उच्च पहाडी र हिमाली भेगबाहेक ५० मिलिमिटरसम्म वर्षा भएमा त्यसलाई मध्यम र ५० भन्दा माथि गएमा भारी वर्षा मानिन्छ ।
एक सय मिलिमिटरभन्दा माथि भएमा अत्यधिक वर्षा मानिन्छ । अहिले सरदर देशभर मध्यम खालको र मध्य र पश्चिमका एक-दुई स्थानमा भारी वर्षा भएको छ । काठमाडौँमा भएको वर्षा पनि भारी वर्षाकै हाराहारीमा हो ।
लगातारको वर्षाका कारण देशका प्रमुख नदी तथा चुरे र पहाडबाट बहने नदीहरूमा बाढीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, जलविज्ञान महाशाखा÷बाढी पूर्वानुमान शाखाले जनाएको छ । बुधबारबाट प्रायः नदीहरूमा बहाव सामान्य हुने शाखाको पूर्वानुमान छ ।