कारोबार संवाददाता
सोमवार, श्रावण २१, २०७५
1051

जुम्ला-कर्णालीका ग्रामीण बस्ती कृषिमा आत्मनिर्भर हुन थालेका छन् । कर्णालीका अधिकांश गाउँबस्तीका किसान अहिले कृषि कर्ममा लागेका छन् । कोही नर्सरी व्यवसायमा लागेका छन् त कोही तरकारी खेतीमा रमाइरहेका छन् । प्रमुख आयस्रोतका रुपमा कृषि पेशालाई अँगालेर आत्मनिर्भर बनेका कृषक कर्णालीमा थुप्रै छन् । साविकको कर्णाली क्षेत्र कृषिमा आत्मनिर्भर बन्दै गएको छ । जुम्ला, मुगु, कालिकोट, हुम्ला, डोल्पाका किसान कृषिजन्य वस्तु उत्पादन र बजारीकरणमा सक्रिय भएका छन् ।
मुगुकी रुपा रोकाया दैनिक तरकारी खेतबारीमा देखिन्छन् । सधैजसो विहानको झिसमिसेसँगै उठेर तरकारीको डोको बोकेर डेढ घण्टा पैदलै सदरमुकाम पुग्छिन । रातो पिरो अनुहार लगाउँदै तरकारी बेच्न पुगे पनि आम्दानीको पैसा हातमा आउँदा सबै पीडा हराउने गरेको उनी बताउँछिन् ।
पछिल्लो समयमा कृषिजन्य उत्पादनको बजारीकरण सहज बनेको छ । कर्णालीमा उत्पादित तरकारी अग्र्यानिक हुने भएकाले मागसमेत बढ्दै छ । “अग्र्यानिक कृषिजन्य उत्पादन भएकाले हामीले लगाएको तरकारी किन्न ग्राहकको तँछाडमछाड नै हुने गरेको छ,” महिला कृषक जानशीला रोकायाले भनिन, “तरकारी खेती गरेर बाँचिन्छ जस्तो लाग्दैन थियो, तर अहिले च्याउ खेती गरेरै वार्षिक १ लाख ५० हजार रुपैयाँ आम्दानी हुन थालेको छ ।”
मुगुको छायानाथ रारा नगरपालिका–३ का अधिंकाश स्थानीयवासी कृषि कर्मबाटै सन्तुष्ट छन् । कर्णालीको मुहार कृषि क्षेत्रबाटै परिवर्तन गर्न सकिने भन्दै किसानहरू व्यावसायिक खेतीमा लागेका हुन् ।
पछिल्लो समय कर्णाली राजमार्ग तरकारी हबका रूपमा विकसित हुँदै गएको छ । कालिकोटका अधिकांश मानिस कृषिमै संलग्न छन् । उनीहरूले भेडा बाख्रापालनदेखि, स्याउ, सिमी, ओखर, आलु, तरकारी खेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । कालिकोट खाँडाचक्र नगरपालिका–३ दाहागाउँका मुनबहादुर रोकायाले अधिकांश किसानको मुख्य आम्दानीको स्रोत तरकारी खेती नै भएको बताए । “छोराछोरीको पढाइ र नुनतेलको जोहो तरकारी खेतीबाटै धानिएको छ,” उनले भने । कृषि पेसा अन्य व्यवसायभन्दा कम नभएको किसानहरूको भनाइ छ । “कृषि क्षेत्र कुनै जागिरभन्दा कम छैन्,” महिला कृषक कृष्मता शाही भन्छिन्, “राज्यले रोजगारी दिन नसके पनि हामी आफ्नै कृषि कर्मबाट वार्षिक लाखौंको कारोबार गर्न सफल भएका छौं ।”
जुम्लाको कुडारीका कृषक कर्ण हमालले तरकारी खेती सुरु गर्दा यसबाटै आफ्नो परिवार धानिन्छ भन्ने कल्पनासमेत नगरे पनि अहिले परिस्थिति फेरिएको बताउँछन् । “तरकारी खेती गरेरै समृद्धि हासिल गर्न सकिन्छ भन्ने गाउँगाउँमा देख्न सकिन्छ,” उनले भने, “तरकारीको व्यवसायिक खेती गरेपछि आफ्ना समस्या समस्या समाधान भएका छन् ।” तरकारी खेतीको जोखिम बहन, बजारीकरण, मलजल, गोडमेलमा समेत समस्या नभएको उनले बताए ।
खान लगाउन नपुगेर रोजगारीको खोजी गर्दै कालापहाड गएकाहरू पनि अहिले गाउँमै फर्किएर तरकारी खेतीमा लागेका छन् । जुम्लाका परान धरालाले विकास परियोजनाले कृषि क्षेत्रमा सहयोग गर्न थालेपछि अवसर र आम्दानी दुवै वृद्धि भएको बताए ।
कर्णालीका किसानले स्याउ, सिमी, ओखर, तरकारीलगायत कृषिजन्य वस्तु उत्पादन गरेर वार्षिक १ लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेका छन् । अझ पछिल्लो समयमा त युवाहरू नै यसतर्फ बढी अग्रसर देखिएका छन् ।

अग्र्यानिक खेतीको सम्भावना
कर्णालीको खेतीयोग्य जमिनमा व्यावसायिक तरकारी खेतीलगायत अन्य कृषिजन्य उत्पादन गर्न प्रचुर सम्भावना छ । तर आवश्यक प्रविधि तथा सैद्धान्तिक ज्ञान र सिँचाइको अभावले अधिकांश खेतीयोग्य जमिन बाँझै रहेको पाइन्छ ।
सिँचाइ अभावका कारण आकासेपानीको भरमा तरकारी खेती गर्दै आएका जुम्ली कृषकको खेतीयोग्य भूमिमा सिँचाइ नहुनु मुख्य समस्या हो । तर पछिल्लो समय स्थानीय सरकारले अग्र्यानिक खेतीमा सहयोग गर्न थालेपछि किसान उत्साहित भएका छन् । कर्णालीका किसानलाई कृषिजन्य उत्पादनमा सहयोग गर्न विभिन्न गैरसरकारी संघ–संस्थाले पनि सहयोग गरिरहेका छन् ।
विकास परियोजनाले सिँचाइ व्यवस्थासहित, अग्र्यानिक खेतीका बारेमा जानकारी गराउँदा कर्णालीमा अहिले काउली, आलु, गाजर, प्याज, काँक्रा, गोलभेंडा, फर्सीलगायत तरकारी तथा सागपात उत्पादनमा वृद्धि भएको छ । अग्र्यानिक तरकारीको माग बढ्दै गएपछि उत्पादनलाई व्यवस्थित बजारीकरण गर्न पछिल्लो समय विकास परियोजनाले संकलन केन्द्र स्थापना गरेका छन् । कृषिविज्ञ धनप्रसाद देवकोटाले विषादीयुक्त तरकारीभन्दा यहाँको अग्र्यानिक तरकारी उपभोक्ताले बढी रुचाउन थालेपछि तरकारी व्यवसायको भविष्य उज्ज्वल देखिएको बताए ।

सागर परियार