कारोबार संवाददाता
सोमवार, श्रावण २१, २०७५
934

बिर्तामोड-झापामा खुकुराको अण्डा बिक्री हुन छाडेपछि लेयर्स कुखुरापालक किसान समस्यामा परेका छन् । मागभन्दा बढी अण्डा उत्पादन भएपछि बिक्री हुन छाडेको हो । उत्पादित अण्डाको लागत मूल्यसमेत पाउन छाडिएको किसानहरू बताउँछन् ।
दुई महिना यता लगातार अण्डाको भाउ घटेको र बिक्रीमा समेत कमी आएका कारण करोडौंको लगानी संकटमा परेको जिल्ला अण्डा उत्पादक संघ झापाका उपाध्यक्ष देवेन्द्र प्रसाईंले बताए । झापामा लेयर्स कुखुरापालक किसानले मासिक १ करोड १२ लाख घाटा बेहोर्नुपरेको उनले बताए ।

गत वर्ष यो समयमा थोक मूल्य प्रतिगोटा ११ रुपैयाँमा बिक्री हुने अण्डा यो वर्ष ७ रुपैयाँ ६१ पैसामा झरेको छ । यो लागत मूल्यभन्दा निकै कमी भएको संघले जनाएको छ ।
चितवनलगायतका ठाउँबाट ल्याइने सानो अण्डा सस्तोमा दिइने गरेकाले झापामा लेयर्स कुखुरापालक किसानहरूले उत्पादन गरेको अण्डा नबिक्दा समस्या भएको हो । झापामा रहेका ७० वटा लेयर्स कुखुरा फार्ममा करिब ३ लाख हाराहारीमा अण्डा उत्पादन गर्ने कुखुरा रहेको र किसानले दैनिक ४ लाख रुपैयाँको हाराहारीमा घाटा बेहोर्नुपरेको संघको भनाइ छ ।
अण्डाको बिक्री हुन छोडेपछि लेयर्स कुखुरापालक किसानहरूलाई बैंकबाट लिएको ऋणको ब्याजसमेत तिर्न समस्या भएको जिल्ला अण्डा उत्पादक संघ झापाका पूर्वअध्यक्ष एवम् कुखुरापालक किसान भरत चम्लागाईंले बताए । उनले गतवर्ष यही समयमा प्रतिकार्टुन २ हजार रुपैयाँमा बिक्री भएको अण्डा अहिले १२ सयदेखि १४ सय रुपैयाँमा बेच्न बाध्य भएको जानकारी दिए । एक कार्टुनमा २ सय १० वटा अण्डा हुन्छन् । करिब ७ सय कार्टुन अण्डा उत्पादन हुने गरेकोमा ५ देखि ६ सय कार्टुन मात्र खपत हुने गरेको छ ।
तुलसीप्रसाद निरौला