कृष्ण न्यौपाने
आइतवार, श्रावण २०, २०७५
1983

दमौली-भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले रेलको कुरा गर्दा हावामा उडाउनेलाई सरकारले रेल चलाएर देखाइछाड्ने दाबी गरेका छन् । व्यास–१ र ४ जोड्ने बुल्दी खोलामाथिको मोटरेबल पुलको शनिबार उद्घाटन गर्दै मन्त्री महासेठले ५ वर्षभित्रै नेपालमा रेल चल्ने दाबी गरेका हुन् । “प्रधानमन्त्री केपी ओलीले जनतालाई धेरै सपना देखाउनुभएको छ,” उनले भने, “ती सबै सपना पूरा हुन्छन् ।”
मन्त्री महासेठले ५ महिनाभित्रै जनकपुर–जयनगरमा रेल कुद्ने जानकारी दिए । त्यस्तै वीरगन्ज–काठमाडौं, केरुङ–काठमाडौं र जोगवनी–विराटनगरलगायतका ठाउँमा समेत ५ वर्षभित्रै रेल चलाउने तयारी भइरहेको महासेठको भनाइ छ । मन्त्री महासेठले १ वर्षभित्र बंगालको खाडीमा नेपालको आफ्नै पानीजहाज सञ्चालन हुने समेत बताए ।
४ वर्षभित्र ६ हजार किलोमिटर सडक निर्माण हुने समेत महासेठले बताए । “नेपालका प्रतिपक्षीलाई मात्रै होइन, अन्तर्राष्ट्रिय जगतलाई समेत हामी विकास देखाउन चाहेका छौं,” उनले भने, “त्यो पूरा गरेरै छाड्छौं ।” मन्त्री महासेठले ४ वर्षभित्र १ हजार २ सय किलोमिटरको मदन भण्डारी राजमार्ग, मध्यपहाडी राजमार्ग र जनकपुर–ढल्केवर सडक समेत निर्माण सम्पन्न हुने बताए ।

सत्तापक्ष प्रतिपक्ष मिलौं
मन्त्री महासेठले विकासका काममा सत्तापक्ष र प्रतिपक्ष मिलेर जानुपर्नेमा जोड दिए । नेपालको प्रतिपक्षीले विरोधका लागि विरोधमात्रै गर्न जानेको भन्दै मन्त्री महासेठले राजनीति गर्ने भए आगामी ५ वर्षपछिको चुनावसम्म कुर्न कांग्रेसलाई आग्रहसमेत गरे ।
विकासमा सवालमा सबै एकजुट भएमात्रै नेपालको मुहार फेरिने भन्दै महासेठले सरकारलाई काम गर्न दिन आग्रह गरे । “सरकार राजनीति गर्न होइन काम गर्न बनेको हो,” उनले भने, “राजनीति गर्न त हाम्रो पार्टी छँदैछ ।”

६ महिनामा सोचे जति काम गर्न सकेनौं
मन्त्री महासेठले सरकारमा आएको ६ महिनामा आफूहरूले सोचेजति काम गर्न नसकेको स्वीकार गर्दै त्यसको सबै दोष कांग्रेसले नै लिनुपर्ने बताए । यो अवधिमा विगतको कांग्रेस नेतृत्वको सरकारले गरेका कमजोरी सच्याउनै समय लागेको भन्दै मन्त्री महासेठले त्यसका बाबजुद पनि सरकारले विकासमुखी काम भने गरेको दाबी गरे । सरकारले विकासमुखी कानुन बनाएको र त्यही कानुनका आधारमा सरकार चलाउने समेत बताए ।

५ वर्ष सरकार चलाउनु अधिनायकवाद हो ?
कार्यक्रममा प्रतिनिधिसभा सांसद केदार सिग्देलले हारको मानसिकताले कांग्रेसले अधिनायकवादको हल्ला फिजाएको बताए । “५ वर्ष सरकार चलाउनु अधिनायकवाद हो,” उनले प्रश्न गरे, “जनताले दुई तिहाई बहुमतसहितको सरकार चलाउने जिम्मा दिएका छन्, के हो अधिनायकवाद भनेको ?”
सांसद सिग्देलले तनहुँको विकासको सवालमा सबै कुरा हामीले गरेका हौं भनेर कांग्रेसले जनता मूर्ख बनाइरहेको टिप्पणी गरे । “एउटा भवन बनाए मैले बनाएको हो, कुवा खने मैले खनेको हो भन्दै कांग्रेसका नेता हिँडेको सुनेको छु,” उनले भने, “उनीहरू जनतालाई मूर्ख बनाउने काम गरिरहेका छन् ।”
जनताको विकास चाहना पूरा गराउनकै लागि कम्युनिष्टले यो पटक ६ सिट नै जितेको भन्दै सांसद सिग्देलले केन्द्रबाट सडक, पुल, खानेपानीलगायतका योजना ल्याउन आफूहरूले पहल गरिरहेको र सँधै गरिरहने समेत बताए । स्वच्छ प्रतिस्पर्धाबाट मात्रै विकासले गति लिने हुँदा विकासमा राजनीति होइन स्वच्छ प्रतिस्पर्धा गर्नुपर्नेमा सांसद सिग्देलले जोड दिए ।
तनहुँ हाइड्रो माधव कुमार नेपाल प्रधानमन्त्री हुँदा आएको योजना भएको स्मरण गराउँदै सांसद सिग्देलले हामीले ल्याएको योजना भन्दै नहिँड्न कांग्रेसलाई सुझाव दिए ।

व्यक्तिगत विरोधमा नउत्रिन चेतावनी
कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सांसद कृष्णकुमार श्रेष्ठले व्यक्तिगत विरोधमा नउत्रिन कांग्रेस सभापति बैकुण्ठ न्यौपानेलाई चेतावनी दिएका छन् । केही दिनअघि कांग्रेसको विरोध सभामा न्यौपानेले सांसद श्रेष्ठलाई आक्षेप लगाउँदै दिएको अभिव्यक्तिको विषयमा सांसद श्रेष्ठले व्यक्ति–व्यक्तिको विरोधमा नउत्रिन चेतावनी दिएका हुन् ।
आफूहरू सांसद भएको ६ महिनामात्रै भएको भन्दै सांसद श्रेष्ठले तनहुँका सांसदले केही योजना ल्याएनन् भनेर भाषण गर्नुको कुनै औचित्य नरहेको बताए । “उहाँहरूले २८ वर्ष नेतृत्व गर्दा खै के योजना ल्याउनुभयो,” उनले प्रतिप्रश्न गरे, “एकचोटि हार्दैमा किन आत्तिनुभएको हो, हामी २८ वर्ष हार्दा आत्तिएका थिएनौं ।” उनले जिल्लामा ५ वर्षभित्र धेरै पुल, धेरै सडक, धेरै खानेपानी योजना बन्ने र त्यसको उद्घाटन आफूहरूले नै गर्दै जाने समेत बताए ।

२ करोड ५७ लाखमा पुल निर्माण
व्यास–१ र ४ जोड्ने बुल्दीखोला माथिको मोटरेवल पुल २ करोड ५७ लाखको लागतमा सम्पन्न भएको हो । २०७३ असार २७ गतेदेखि निर्माण सुरु भएको उक्त पुल यही असार मसान्तमा सकिएको थियो । कन्काई विशाल एण्ड विराट जेभी कम्पनीले पुल निर्माणको ठेक्का पाएको थियो । पुल निर्माणपछि गल्वुवेशी, सिमलताल, बागभञ्ज्याङ लगायतका बासिन्दालाई आवातजावातमा सहज भएको पुल निर्माण उपभोक्ता सहयोग समितिका अध्यक्ष देवीबहादुर बस्नेतले जानकारी दिए ।