कारोबार संवाददाता
शुक्रवार, श्रावण ११, २०७५
657

बिर्तामोड-झापा अर्जुनधारा–९ का गणेशप्रसाद खरेल र भीम कडरिया मौरीपालन व्यवसायबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । २०५५ सालमा दुईवटा आधुनिक घारमा सुरु भएको मौरीपालन व्यवसाय पछिल्लो समय आर्थिक उपार्जनको बलियो माध्यम बन्न पुगेको छ ।
कृषि सेवाकेन्द्र चारआलीबाट दिइएको मौरीपालनसम्बन्धी तालिममा पहिलोपटक सहभागी भएर उनीहरुले तालिमबाट प्राप्त प्राविधिक र व्यवहारिक ज्ञानलाई प्रयोग गरेर आधुनिक घारमा मौरीपालन व्यवसाय सुरु गरेर १४ वर्षपछि पूर्वाञ्चल मौरीपालन उद्योगको स्थापना गर्न सफल भएका हुन् ।

हालसम्म सरकारी अनुदानबाहेक ३० लाख रुपैयाँ लगानी भएको पूर्वाञ्चल मौरीपालन उद्योगमा १ सय ५० वटा घारमा मौरीपालन भइरहेको पूर्वाञ्चल मौरीपालन उद्योगका सञ्चालक भीम कडरियाले बताए । त्यसबाहेक आर्थिक वर्ष ०७३/७४ मा देशभर सुरु भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालन भएको पकेट विकास कार्यक्रममार्फत सो उद्योगलाई हालसम्म ८ लाख ८२ हजार रुपैयाँ अनुदान प्राप्त भएको उनले बताए ।
वार्षिक २२ सय किलो मह उत्पादन गर्दै आएको पूर्वाञ्चल मौरीपालन उद्योगले एक वर्षमा १५ लाख ४० हजार रुपैयाँ बराबरको आर्थिक कारोबार गरेको छ । सबै खर्च कटाई मह बिक्रीबाट वार्षिक ९ देखि १० लाख रुपैयाँ आम्दानी हुने गरेको कडरियाले जानकारी दिए ।
पूर्वाञ्चल मौरीपालन उद्योगमा उत्पादित मह झापा जिल्लासँगै फिदिम, इलाम र काठमाडौंको बजारसम्म पुग्ने गरेको छ । एक समय सहयोगीको माध्यमबाट चीनको बजारसम्म पुग्ने गरेको मह सहयोगी सम्पर्कविहीन भएपछि चीनको बजार भने हाललाई बन्द भएको उनले बताए ।