दिपक बोहरा
शुक्रवार, श्रावण ११, २०७५
1014

पाँचथर-निर्यातको सूचीमा गोलभेंडा नरहेको भन्दै भारतीय व्यापारीहरूले गोलभेंडा किन्न नमानेपछि पाँचथरसहित पूर्वी पहाडमा उत्पादित गोलभेंडा भारत निकासी केही सातादेखि ठप्प भएपछि पाँचथरसहित पूर्वी पहाडी जिल्लाका गोलभेंडा कृषक चिन्तित छन् ।
गोलभेंडाको बजारीकरणमा देखिएको समस्याको बारेमा बिहीबार सरोकारवालाहरूसँग उद्योग वाणिज्य संघ पाँचथरले गरेको अन्तक्र्रियामा सहभागीहरूले गोलभेंडाको उत्पादन, बजारीकरणमा समस्या नै समस्या रहेको बताएका छन् । जिल्लाका अगुवा गोलभेंडा कृषक, गोलभेंडा व्यवसायी र जिल्लाका सञ्चारकर्मीको सहभागीता थियो ।

हिलिहाङ–६ का गोलभेंडा कृषक लक्ष्मी रिजालले कृषि उपज निर्यातमा राज्यले चासो नदिँदा समस्या आएको बताए । किसानहरूले उत्पादन गरेको कृषि उपज उत्पादनलाई निर्यातको सूचीमा नराखिएको र अहिले यत्रो समस्या आउँदासमेत राज्यले ध्यान नदिनुले सरकारको कृषकप्रतिको धारणा प्रष्ट पारेको रिजालले बताए ।
याङवरक–२ का गोलभेंडा व्यवसायी राजेश दहालले खास गोलभेंडाको निश्चित बजार र निश्चित मूल्य नभएको बताए । बिर्तामोडका होलसेल व्यापारीले जुन मूल्य भन्छन्, त्यही मूल्यले नै गोलभेंडा कारोबार हँुदै आएको उनले बताए । सरकारले गोलभेंडाको बजारीकरण र मूल्य निर्धारण नगरेसम्म गोलभेंडाको समस्या हल नहुने बताए ।
कृषक महासंघ पाँचथरका अध्यक्ष गणेश पोखरेलले अहिले किसानले प्रतिकिलो ३ रुपैँयाका दरले गोलभेंडा बिक्री गरिरहेको तर त्यही गोलभेंडा खुद्रा व्यापारी कहाँ आइपुग्दा प्रतिकिलो ३०/४० रुपैयाँ पर्ने भएकाले मूल्य समायोजनमा समेत समस्या रहेको बताए । पाँचथरमा उत्पादन भएको गोलभेंडाको गुणस्तरमा ध्यान दिन पोखरेलले कृषकहरूलाई अनुरोध गरे । जनप्रतिनिधिहरू कृषिभन्दा पनि सडक विस्तारमा मात्र केन्द्रित हुँदा खास कृषकको मर्का बुझ्ने कोही नरहेको महशुस भएको पोखरेलले बताए । पटक–पटक गोलभेंडाको समस्या हल गरिदिन प्रदेश सरकारसँग अनुरोध गरे पनि सरकारले बेवास्ता गरेको पोखरेलले बताए ।
गोलभेंडा कृषक वीरेन्द्र काफ्लेका अनुसार पाँचथरमा हाल कृषकहरूले लगाएको गोलभेंडा खेतीमा प्रतिबोट ४ किलोको दरले उत्पादन हुने गरेको छ । अहिले पाँचथरको याङवरक र हिलिहाङका कृषकहरूले ५ हजारदेखि २० हजार बोटसम्म खेती गरेका छन् । पाँचथरमा अहिले दैनिक ४० टन गोलभेंडा उत्पादन हुने गरेको काफ्लेले बताए ।
उद्योग वाणिज्य संघ पाँचथरका अध्यक्ष दिपक नेपालले प्रदेश सरकार र केन्द्र सरकारसँग समन्वय गरेर गोलभेंडाको समस्या चाँडै हल गर्न सहयोग गर्ने बताए । कृषकले बाली बिमा गरेमा यस्ता समस्याहरूबाट केही मात्रामा राहात पुग्ने नेपालले बताए ।
पाँचथरको हिलिहाङ गाँउपालिकाका वडा नं. १,२,३,४ र याङवरका ६,५ वडामा व्यावसायिक गोलभेंडा खेती गर्ने गरिएको छ । यी वडाका किसानहरूले धान, मकै, कोदो लगायतका बालीहरू हटाएर प्रमुख बालीको रुपमा गोलभेंडा लगाउने गरेका थिए । अघिल्लो वर्ष मात्र पाँचथरमा जिल्ला कृषि विकास कार्यालयको तथ्यांकअनुसार याङवरक र हिलिहाङबाटमात्रै ३ करोड रुपैयाँको गोलभेंडा निर्यात भएको थियो । जिल्लाका एक हजार ५ सय किसानले व्यवसायीक गोलभेंडा खेती तथ्यांक छ ।
अघिल्लो सिजन पाँचथरबाट ११ करोड २५ लाख बराबरको गोलभेंडा निर्यात भएको तर अहिले मूल्यअनुसार १ करोड ४५ लाख रुपैयाँ बराबरको मात्र निर्यात हुने सम्भावना रहेको कृषक महासंघ पाँचथरका अध्यक्ष गणेश पोखरेलले बताए ।

गोलभेंडा उत्पादक किसान आन्दोलित

बजार भाउ सस्तिएको र आफूले उत्पादन गरेको गोलभेंडा बिक्री हुन छाडेपछि कृषकहरूले दबाबमूलक कार्यक्रम गर्दै विरोध जनाएका छन् । उपत्यकाभित्रका काठमाडौं, ललितपुर र भक्तपुरका गोलभेंडा कृषकले मुल्य नपाएपछि कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको हाताभित्रै विरोध जनाएका हुन् । किसानका लागि राज्यले कुनै पनि सहयोग नगरेको थानकोटका किसान पुष्कर खड्का बताउँछन् ।
किसानले उत्पादन गरेको गोलभेंडा प्रतिकिलोको मूल्य १५ रुपैयाँभन्दा बढि पाउन नसकेको बताए । आफूले उत्पादन गरेको गोलभेंडा उपभोक्ताले ५० देखि ६० रुपैयाँसम्ममा किन्न बाध्य हुँदासम्म आफूहरू बिचौलियाका कारण मर्कामा परेको उनीहरूको भनाइ छ । किसानहरूले यहाँ उत्पादित गोलभेंडाको बजार खोजी दिनुपर्ने, भारत निर्यातमा आउने अवरोध हटाउन पहल गर्नुपर्ने मागसमेत गरेका छन् । आफूहरूको उत्पादन बढ्दा भारतबाट आयात उच्च भएकाले पनि बजार मूल्य पाउन नसकेको उनीहरूको गुनासो छ ।
अघिल्लो वर्ष यही सिजनमा गोलभेंडाको राम्रो मूल्य पाए पनि यसपटक बजार नपाएको गुनासो उनीहरूको छ । सरकारले गोलभेंडा भारत निर्यातका लागि समझदारी गर्न नसक्दा आफूहरू मारमा पर्नुका साथै आफ्नो क्षेत्रको अर्थतन्त्रमा धक्का लागेको कृषकहरू बताउँछन् ।
गोलभेंडाकै कारणले राज्यलाई पनि क्षति पुगिरहेकाले सरकारले चाँडोभन्दा चाँडो पहल गरेर भारत निर्यात खुलाउनुपर्ने कृषकहरूको माग छ । पटकपटक गुनासो पोख्दासमेत राज्यले चासो नदिएपछि आन्दोलन र संघर्षमा जानुपरेको किसान चौतारी नेपालका संयोजक टीका सुवेदी ‘अविरल’ले बताए ।
कृषिलाई आत्मनिर्भर बनाउन सरकारले कृषिसम्बन्धी विभिन्न कार्यक्रम तय गरेको भए पनि त्यसलाई वास्तविक किसानसम्म कार्यान्वयन गर्न नसकिएपछि किसान आन्दोलित बनेका हुन् । किसानहरूले नेपालमा उत्पादित वस्तु भारत पठाउने व्यवस्था गर्नुपर्ने र त्यो हुन नसकेमा भारतबाट आयात हुने वस्तुहरू आयातमा प्रतिबन्ध लगाउनुपर्ने माग अघि सारेका छन् ।
किसानले आफ्नै छुट्टै बैकल्पिक वजारको व्यवस्था गर्नुपर्ने, किसानले उत्पादन गरेको वस्तुको न्यूनतम समर्थन मूल्य तोक्नुपर्ने, कृषिमा प्रयोग गरिने कृषि वस्तुमा लाग्ने भन्सार छुट गर्नुपर्ने, किसान वर्गीकरण गरी किसान परिचयपत्रको व्यवस्था गर्नुपर्ने माग पनि अघि सारेका छन् ।
उनीहरूले बाली बिमालाई सहज तथा वैज्ञानिक बनाउनुपर्ने, किसानलाई निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गरिनुपर्ने, किसानलाई न्यून व्याजमा सरल कर्जा व्यावहारिक रूपमा लागू गर्नुपर्ने पनि बताएका छन् । यस्तै किसानले उत्पादन गरेको फलका आधारमा अनुदानको व्यवस्था गर्नुपर्ने र माटो तथा हावापानीलाई आधार बनाएर उत्पादन क्षेत्र तोक्नुपर्ने माग अगाडि सारिएको जानकारी अर्का किसान सञ्जयचन्द्र श्रेष्ठले बताए ।
काठमाडौं उपत्यकामा हाल १ हजार ५ सय किसानले करिब २० हजार रोपनी क्षेत्रफलमा गोलभेंडा खेती गर्दै आएका छन् । उनीहरूले बर्सेनि १० करोडको हाराहारीमा कारोबार गर्ने प्रारम्भिक तथ्यांक छ ।