कारोबार संवाददाता
शुक्रवार, श्रावण ११, २०७५
3664

धनकुटा-केही वर्षअघिसम्म धनकुटाका केही घर कम्पाउन्ड र करेसाबारीमा सौखका लागि एक/दुई बोट रोपेको देखिने एभोकाडोको पछिल्लो समयमा व्यावसायिक खेती सुरु भएको छ । घ्यू फल पनि भनिने एभोकाडोमा व्यावसायिक भविष्य देखेका किसान यसतर्फ आकर्षित भएका हुन् ।
करेसाबारीमा हुर्किएका २० बोटबाट गत सिजनमा धनकुटा कागतेका दामोदर वाग्लेले दुई लाख रुपैयाँको एभोकाडो बिक्री गरे । आम्दानी राम्रो हुने देखेपछि हौसिएका वाग्लेले ६ रोपनी जमिनमा ६५ बिरुवा थपेका छन् । त्यस्तै धनकुटाकै कृष्ण राईले पनि यो वर्ष आफ्नो करेसाबारीसहितको जमिनमा एभोकाडो खेती गरेका छन् एभोकाडो खेती गर्ने वाग्ले र राई त यहाँका प्रतिनिधि पात्र मात्र हुन् । राम्रो बजार मूल्य र लामो उत्पादन अवधिका कारण यहाँका किसान सुन्तला र अरु नगदेबाली छाडेर एभोकाडो खेतीमा लागेका हुन् ।

केही वर्ष पहिलासम्म घर परिवारमा खान र आफन्तलाई कोसेलीका रूपमा दिन मात्र लगाइने गरेको यस फलको खेती विस्तार भएको थिएन । भर्खरैमात्र उत्पादन लिन थालिएको यो फल किसान र उपभोक्ताका लागि नौलो हो । बगैंचा विस्तार हुने क्रम बढेपछि स्थानीय नर्सरीले किसानलाई भने जति बिरुवा दिन नसकेको नर्सरी सञ्चालक भीमराज अधिकारी बताउँछन् । “आफूले व्यापारीभन्दा पनि स्थानीयस्तरका किसानलाई बिरुवा बेच्दै आएको छु,” उनले भने, “यसले गर्दा बिरुवाको माग अत्यधिक छ, यसले पनि धनकुटाका किसानमा यो फलप्रतिको आकर्षण बुझ्न गाह्रो छैन ।”
मेक्सिको र अमेरिकालगायतका मुलुकबाट भित्रिएको बताइने यसको व्यावसायिक खेती समुद्री सतहको ५ सयदेखि १७ सय मिटर उचाइको उष्ण र समशितोष्ण हावापानीमा गर्न सकिन्छ । रोपेको ४ देखि ६ वर्षभित्रै उत्पादन दिने यसको प्रचुर व्यावसायिक सम्भावना रहेको कृषि अभियन्ता जीवन राईको भनाइ छ । प्रशस्त भिटामिन, प्रोटिन र चिल्लो पदार्थ पाइने भएकाले एभोकार्डको माग र उपभोक्ता दिनदिनै बढ्दै गएका छन् । धेरै जातमध्ये हालसम्म नेपालमा एभोकाडोका १७ जात देखिएका छन् । यो खेतीमा लागेका किसानलाई हौसला दिन हावापानी अनुसार उपयुक्त जातका बिरुवा र प्राविधिक सहयोग उपलब्ध गराउन जरुरी रहेको अभियान्ता राईको भनाइ छ ।
-विकास घिमिरे