कारोबार संवाददाता
शुक्रवार, श्रावण ११, २०७५
631

नुवाकोट-रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नं. २ रसुवागढी नाका नजिकै टिमुरेमा बुधबार राति गएको पहिरोमा परी नौ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार पहिरोमा परी ज्यान गुमाउनेमा रसुवा र सिन्धुपाल्चोकका स्थानीय छन् ।
मृत्यस हुनेमा गोसाईंकुण्ड गाउँपालिका वडा नं १ का अन्दाजी ४० वर्षका मिङमर गुम्बु तामाङ, वडा नं २ का ४५ वर्षका दोर्जे वाङ्जु घले र उनकी श्रीमति ४० वर्षीया कारसाङ किमु घले, नुवाकोट बेलकोगढी नगरपालिका घर भई अन्य ठेगाना र थर खुल्न बाँकी रहेको अन्दाजी ४० वर्षकी सुशीला र नुवाकोटकै ककनी गाउँपालिका घर भएका अन्दाजी ३० वर्षका सुमो चालक रमेश तामाङ छन् । उनीहरुको शव पुरिएको स्थानबाट बिहीबार अपरान्ह निकालिएको हो ।

पहिरोमा परी मृत्यु हुने अन्यमा सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका वडा नं ५ का अन्दाजी ४२ वर्षका श्याम श्रेष्ठ, अन्दाजी ४५ वर्षका मंगल तामाङ र अन्दाजी २७ वर्षका बिक्रम श्रेष्ठ तथा भोटेकोसी गाउँपालिका वडा नं ४ का अन्दाजी ३७ वर्षका रमेश खड्का रहेको रसुवा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष तामाङले जानकारी दिए ।
उनका अनुसार पुरिएकाहरुको खोजीको लागि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी, स्थानीयवासी सहितको टोलीले डोजर र स्काभेक्टर प्रयोग गरिएको थियो । पहिरो बग्ने क्रम जारी रहेकाले बुधबार रातिदेिखनै सुरु गरेको उद्वारकार्य बिहीबार साँझसम्म लागेको प्रहरीले जनाएको छ । पहिरोमा परी ज्यान गुमाउनेहरू टिमुरेमा व्यापार गर्दै आएका व्यवसायी, कामदार तथा कन्टेनर र सुमो चालक रहेका छन् ।
पहिरोमा परी घाइते भएका १२ जनालाई टिमुरे नजिकै रहेको चिनियाँ क्याम्प र टिमुरे स्वास्थ्य चौकीमा उपचारपश्चात् बिहीबार बिहान काठमाडौं पठाइएको छ । त्यसमध्ये पाँच जनाको अवस्था गम्भीर छ । बुधबार राति पौने एक बजे पाँच सय मिटर माथिबाट बगेको पहिरोले टिमुरेस्थित अस्थायी प्रहरी चेक पोस्टसहित चारवटा घरलाई क्षति पुराएको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिए ।
उनका अनुसार पहिरोले टिमुरेस्थित दुईवटा होटल र एक घर पुरिएको छ । यस्तै, रोकिराखेको तीनवटा ट्रक ना २ ख ८६८९, ना ५ ख ७००७ र ना २ ख ३६६३ नम्बरको ट्रकमा समेत क्षति पुगेको छ । पहिरोपश्चात् चीनसँग सञ्चालनमा रहेको एकमात्र व्यापारिक नाका रसुवागढी नाका अबरूद्व भएको छ । सडक र नाका शुक्रबार साँझसम्ममा सञ्चालनमा ल्याउने गरी पहिरो पन्छाउने कार्य जारी रहेको छ ।