कारोबार संवाददाता
बिहिवार, श्रावण १०, २०७५
1231

तेह्रथुम-म्याङ्लुङ नगरपालिका–५ जिरिखिम्ती माझगाउँमा निर्माणाधीन आम्फुवा पशुहाट बजारस्थलको निर्माण सम्पन्न नभई अलपत्र परेको छ । स्थानीय कृषकले पालेका पशुपंक्षीलाई बिक्रीका लागि संकलन गर्ने उद्देश्यले बनाउन सुरु गरिएको पशुहाट बजारको निर्माण समितिले बीचैमा काम छाडेपछि अलपत्र भएको हो । पशुहाट निर्माणका लागि पशुपंक्षी विकास मन्त्रालयद्वारा एक करोड अनुदान प्राप्त भएपछि सुरु गरिएको निर्माणको कार्यको ४० प्रतिशत पनि नसकी निर्माण समितिले बीचमै छाडिदिएको छ ।
पशुहाट निर्माण कार्यमा स्थानीयवासीले सहयोग नगर्दा स्टिमेटअनुसार काम गर्न नसकिएको निर्माण समितिका संयोजक तेजमान कन्दङ्वाले बताए । “कृषकहरूकै फाइदाका लागि सरकारले बजेट दिए पनि स्थानीयको अवरोधका कारण आयोजना अलपत्र भएको हो,” उनले दाबी गरे ।

यता स्थानीयवासी तथा वडासदस्य गणेश सोदेम्बाले भने आयोजनामा सरकारबाट प्राप्त भएको अनुदान दुरुपयोग भएकोले निश्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् । नेपाल सरकारबाट किसानहरूको नाम आएको एक करोड बजेटबाट करिब ४० प्रतिशित मात्रै काम गरेर पूरै भुक्तानी लिई भ्रष्टचार गरेको वडासदस्य सोदेम्बाले दाबी गरे । “काम पूरा नगरी समितिले निर्माणकार्य सम्पन्न भइसकेकोे कागजात बनाएर भुक्तानी लिइकेको छ,” उनले भने ।
गाउँको विकासका लागि आएको बजेट काम नगरी भुक्तानी लिनु भ्रष्टाचारमात्र नभई अपराध नै भएको स्थानीयवासी दिलकुमार सेनेले बताए । “पशुहाटको नाममा आएको सबै पैसा खाएर स्थानीयले सहयोग गरेनन् भन्नु निर्माण समितिको कहाँसम्मको दुष्कार्य हो,” उनले भने । पशुहाट निर्माणका लागि स्थानीयवासीले कुनै पनि प्रकारको अवरोध नगरेको वडासदस्य सोदेम्बाले बताए ।
आयोजनास्थलमा अहिले चारवटा ट्रष्ट र एउटा काउन्टरका लागि अपुरो भवनमात्र निर्माण भएको छ ।

 


सातामा धेरै पढिएको