कारोबार संवाददाता
बिहिवार, श्रावण १०, २०७५
1225

म्याग्दी-म्याग्दीको सदरमुकाम बेनीमा वातावरणमैत्री फोहोर व्यवस्थापन केन्द्र निर्माण सुरु भएको छ ।
बेनी बजारको फोहोरलाई सुरक्षित रूपमा व्यवस्थापन गरी त्यसलाई आम्दानीको रूपमा विकास गर्ने उद्देश्यले बेनी नगरपालि–८ र ९ को सिमाना रातो पहिरोमा केन्द्र निर्माणको काम सुरु भएको हो । बेनी नगरपालिकाले ६७ लाख रुपैयाँ लागत अनुमान गरेको फोहोर ब्यवस्थापन केन्द्रका लागि जग्गा सम्याउने, कालिगण्डकी किनारमा ग्याबियन पर्खाल लगाउने, भवन बनाउने कामका लागि सोमरस निर्माण सेवाले ४७ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ ।

असोज महिनासम्म फोहोर व्यवस्थापन केन्द्रको संरचना तयार पार्ने लक्ष्यसहित निर्माण कार्यलाई तीव्र बनाएको निर्माण ब्यवसायी प्रविन सापकोटाले बताए । रातोपहिरोस्थित कालिगण्डकी नदीको किनारभन्दा माथि र बेनी–गलेश्वर सडकभन्दा तल पर्ने सार्वजनिक जग्गा सम्याएर भवन बनाई फोहोर व्यवस्थापन केन्द्र बनाउन लागिएको नगरपालिकाले जनाएको छ ।
कालिगण्डकी र सडकमा आवतजावत गर्नेलाई असर नपर्ने तथा दुर्गन्ध नआउने गरी फोहोर व्यवस्थापन गर्न लागिएको नगरप्रमुख हरिकुमार श्रेष्ठले बताए । कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै स्थानमा भण्डारण गर्ने नगरपालिकाको योजना छ । कुहिने फोहोरलाई दुर्गन्ध आउन नदिने प्रविधिको प्रयोग गरी मल बनाएर बिक्री गरी आम्दानी गर्ने योजना रहेको नगरप्रमुख श्रेष्ठले बताए ।
हाल सोही स्थानमा खुल्ला रूपमा फोहोर फालिँदै आएको छ । अव्यवस्थित रूपमा फोहोर फालिँदा नदी र वरपरका क्षेत्रमा दुर्गन्धले असर गरेको छ । स्थायी फोहोर व्यवस्थापन गर्ने ठाउँ पहिचान नहुँदासम्म पुरानै ठाउँलाई व्यवस्थित गर्न लागिएको बेनी नगर कार्यपालिकाका प्रवक्ता रामकृष्ण बराईलीले बताए । विगत एक दशकदेखि सदरमुकाम बेनीको फोहोर व्यवस्थापनस्थलको खोजी भइरहेको छ । बेनी र गलेश्वर बजारबाट दैनिक तिन ट्याक्टरभन्दा बढी फोहोर संकलन हुने गरेको छ ।