केशव समर्पण
बिहिवार, श्रावण १०, २०७५
1099

हेटौंडा-भूकम्पले बस्ती नै चिराचिरा परी कष्टपूर्ण जीवन बिताइरहेका मकवानपुरको कैलाश गाउँपालिका–१० न्याम्सेदुङका १४ घरपरिवारलाई स्थानान्तरणको प्रक्रिया सुरु गरिएको छ ।
२०७२ साल वैशाखमा गएको भूकम्पपछि चिराचिरा परेको बस्तीमा माथिबाट डाँडो नै खसेर जतिबेला पनि पुर्नसक्ने अवस्था देखिएको भन्दै स्थानीयको पटकपटकको आग्रहपछि प्राविधिक टोलीले जाँच गरी बस्ती स्थानान्तरण गर्नुपर्ने निष्कर्ष निकालेको थियो । प्राविधिकको रिपोर्टको आधारमा जिल्ला विपद् व्यवस्थापन समितिले पुनर्निर्माण प्राधिकरणमा बस्ती स्थानान्तरणको लागि सिफारिस गरिएको र प्राधिकरणबाट १४ परिवारलाई जग्गा खरिदका लागि रकम प्राप्त भएको विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जानकारी दिए ।

“बस्ती स्थानान्तरणका लागि जग्गाको खोजी भइरहेको छ, १४ परिवारलाई प्रतिघर दुई लाखको दरले प्राप्त भएको छ, बस्ती बसाउन कहाँ सुरक्षित हुन्छ भनेर एक गैरसरकारी संस्थासमेतको सहयोगमा जग्गा खोजी भइरहेको छ, अब चाँडै नै उक्त स्थानको बस्ती स्थानान्तरण हुन्छ,” प्रमुख जिल्ला अधिकारी बुढाले भने । ढिलै भए पनि बस्ती स्थानान्तरणको प्रक्रिया सुरु भएपछि स्थानीयवासी खुसी देखिएका छन् । तर, जग्गाको खोजी गरी बस्ती सार्न केही ढिला हुने भएकाले यसवर्षको वर्षायाममै केही विपद् आइपर्ने हो कि भनेर स्थानीय चिन्तित छन् ।
दुईतिर भीरको बीचमा रहेको बस्तीमा ठूलाठूला चिरा परेको र बस्तीमाथि रहेको डाँडो नै भासिने अवस्थामा रहेकाले आफूहरू असुरक्षित रहेको स्थानीय सुदिप जिम्बा बताउँछन् । “गाउँमाथिको डाँडो ५–७ मिटर चिरिएर बसेको छ, जुनसुकै बेला खसेर गाउँ नै सखाप पार्न सक्ने देखिन्छ, डरैडरमा अब धेरै बस्न नपरे हुन्थ्यो,” जिम्बाले भने, “जग्गा किन्न पैसा त आएको छ भनिएको छ अब कहाँ जग्गा किन्ने हो ठेगान भएको छैन, जग्गा किनेर घर बनाउनलाई अझै समय लाग्ने देखिन्छ, सरकारले हामीलाई जतिसक्दो चाँडो सारिदिनु पर्यो ।” बस्ती स्थानानन्तरणका लागि कैलाश १० नम्बर वडा कार्यालयको सिफारिसमा कैलाश गाउँपालिकाले करिब एक वर्षअघि नै जिल्ला प्रशासन कायालयलाई बस्ती स्थानान्तरणको आवश्यकता देखिएको भन्दै सिफारिस गरे पनि प्रशासनले ढिलो गरी पुनर्निर्माण प्राधिकरणमा खबर गरेको थियो ।
त्यसैगरी गत वर्षको बाढीका कारण विस्थापित भई जंगलछेउमा टहरा बनाइ बसेका मकवानपुरको मनहरी गाउँपालिका–४ का करिब ११५ घर परिवारलाई पनि सुरक्षित बासस्थानका लागि पहल भएको प्रमुख जिल्ला अधिकारी बुढाले बताए । “विस्थापितलाई स्थानान्तरण गरी सुरक्षित बासस्थानका लागि मैले बाढी पुनर्निर्माण आयोजनामा कुरा राखेको थिएँ, आयोजनाको कार्यविधि नबनिसकेकाले प्रक्रिया अघि बढ्न सकेको छैन, कार्यविधि बनेपछि निरीक्षण गरी बासस्थानका लागि पहल गर्ने आश्वासन पाएका छौं,” बुढाले भने ।