कारोबार संवाददाता
बिहिवार, श्रावण १०, २०७५
809

काठमाडौं-ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र एसियाली विकास बैंक (एडीबी)का आवासीय प्रतिनिधि मुखतोर खामुडखानोभबीच ऊर्जा क्षेत्रमा थप सहकार्यबारे छलफल भएको छ ।
सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा बुधबार भएको भेटवार्तामा ऊर्जा क्षेत्रमा एसियाली विकास बैंकको सहयोगमा सञ्चालित आयोजनाको प्रगति र आगामी दिनमा गर्ने सहकार्यबारे छलफल भएको हो । भेटमा मन्त्री पुनले आगामी दिनमा समेत सरकारलाई एडीबीको सहयोग निरन्तरका लागि अनुरोध गरेका थिए । मन्त्री पुनले तनहँु जलविद्युत् परियोजना र भूमिगत केवलिङ परियोजना सरकारको प्राथमिकतामा रहेको भन्दै आगामी दिनमा पनि थप सहयोगको अपेक्षा रहेको बताए ।

दूधकोसी जलविद्युत् आयोजना छिट्टै अगाडि बढाउने गरी काम सुरु भइसकेको जानकारी दिँदै सो आयोजनामा टनेल बोरिङ मेसिन (टीबीएम) को प्रयोग गरेर भए पनि काम दु्रत गतिमा अघि बढाउने मन्त्रालयको सोच रहेको बताए ।
भेटमा एडीबीका आवासीय प्रतिनिधि खामुडखानाले एसियाली विकास बैंकको सहयोगमा सञ्चालित आयोजनाको प्रगतिका बारेमा जानकारी दिँदै ऊर्जा क्षेत्रमा थप सहयोग गर्न एडीबी तयार रहेको बताएका थिए । “मन्त्रालय र हाम्रोबीचमा सम्बन्ध राम्रो छ, ऊर्जा क्षेत्र हाम्रो पनि प्राथमकितामा भएकाले आगामी दिनमा समेत हाम्रो सहकार्य अझ सुमधुर हुन्छ,” आवासीय प्रतिनिधि खामुडखानाले भेटमा भने ।
उनले बागमती सिँचाइ परियोजनामा एडीबीले ५० मिलियन सहयोग गरिसकेको जानकारी दिँदै बागमती ड्याम निर्माणमा समेत सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।