लक्ष्मी सापकोटा
बिहिवार, श्रावण १०, २०७५
810

काठमाडौं-कर्मचारीको अभाव देखाउँदै पछिल्लो समय बजार अनुमगनको काम ठप्प भएको छ । बजेट सार्वजनिक भएयता बजारमा दैनिक उपभोग्य वस्तु तथा सेवाको मूल्य वृद्धि भएपनि बजार अनुगमन हुन नसक्दा दिनहुँजसो उपभोक्ता ठगिने क्रम बढ्दै गएको हो ।
बजार अनुगमनको जिम्मेवारी पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले विभिन्न बहाना देखाउदै बजार अनुगमन गरेको छैन । बजार अनुगमन ठप्प हुँदा बजारमा व्यापारीले मनपरी मूल्य लिई उपभोक्ता ठगिरहेका छन् । बजेट सार्वजनिक भएलगत्तै करको दर बढेको बहाना देखाउँदै व्यवसायीले अधिकांश सामानमा मूल्य वृद्धि गरेका छन् । १ साउनदेखि करका दर बढ्ने भए पनि व्यापारीले जेठ महिना देखि नै दैनिक उपभोग्य वस्तुको मूल्य बढाएका हुन् । पछिल्लो समय बजार अनुगमनको काम रोकिँदा उपभोक्ता ठगिने क्रम बढ्दै गएको छ । “बजार अनुगमन नहुँदा व्यापारीले सामानमा मनपरी मूल्य लिई ठगिरहेका छन्,”राष्ट्रिय उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले भने“ बजार अनुगमन नै रोकिएपछि बजारमा ठगी गर्ने व्यवसायीलाई थप प्रसय मिलेको छ ।” अनुगमन नहुँदा व्यवसायीले मूल्यवृद्धिसँगै ठगी गर्ने हुँदा सरकारले बजार अनुगमनको कामलाई नियमित राख्नुपर्ने उनको भनाइ छ ।
बजार अनुगमन नहुँदा त्यसको फाइदा उठाउँदै व्यापारीले पसलपिच्छे फरक –फरक मूल्य लिई उपभोक्ता ठगिरहेका छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचन विभागमा कर्मचारीको सरुवा भएको र नयाँ कर्मचारी नआइसकेकाले बजार अनुगमन गर्न रोकिएको बताए । “करारमा रहेका ड्राइभर र कर्मचारीलाई हटाइने लागेकाले पनि कर्मचारीको अभाव छ,,” उनले भने, “आर्थिक वर्ष सकिएकाले सवै काम अन्त्य गर्नुपर्ने कामले गर्दा पनि बजार अनुगमन गर्न सकिएको छैन ।” विभागका कर्मचारीको संख्या कम भएकाले बजार अनुगमन कसरी गर्ने भनेर योजना तयार गरेर एक÷दुई दिन भित्र नियमित गरिने उनले जानकारी दिए ।
बजार अनुगमन नहुँदा बजारमा व्यवसायीले दैनिक उपभोग्य वस्तु देखि अधिकांश सामानमा मनपरी मूल्य लिइरहेका उपभोक्ताको गुनासो छ । कमजोर कानुन र फितलो बजार अनुगमनको फाइदा उठाउदै व्यवसायीले उपभोक्ता ठगिरहेका छन् । अत्यावश्यक वस्तु तथा सेवामा २० प्रतिशतभन्दा बढी नाफा खान नपाइने कानुनी व्यवस्था भएपनि व्यवसायीलाई दोव्बर तेव्बर मूल्य लिई उपभोक्ता ठगिरहेका छन् ।
यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको निर्देशनमा गरिएको बजार अनुगमनका क्रममा म्याद नाघेका सामान विक्री गर्ने व्यवसायीलाई प्रक्राउ गरी छोडिएको छ । सरकारले बजार अनुगमन गरेपनि उपभोक्ता ठग्ने व्यवसायीलाई कारबाही नगरी उन्मुक्ति दिँदा बजार व्यवस्थित र मर्यादित बन्न नसकेको उपभोक्ताको गुनासो छ । उपभोक्ता ठग्ने व्यवसायीलाई कारबाही गर्नका लागि थुपै्र ऐन कानुन भएपनि जुन कार्यान्वयनमा आउन सकेको छैन । जसको कारणले गर्दा पनि बजारमा ठगि, मिसावट, तौलमा कमी, म्याद नाघेका सामान विक्री, लेबल नभएको सामान विक्रि बढी हुने गरेको छ ।
बजेटमा करको दर बढेको भ्याट फिर्ता सहुलियत हटेसँग व्यापारीले दैनिक उपभोग्य वस्तुको मूल्य बढाएका छन् । बजारमा दिनप्रतिदिन दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दै गएपनि त्यसलाई नियन्त्रण गर्ने संयन्त्र कमजोर बन्दा त्यसको प्रत्यक्ष मार उपभोक्तामा पर्न गएको हो । पछिल्लो समय व्यापारीले, खाने तेल, चामल, दाल, चाउचाउ, चिनी, हरियो तरकारीको समेत मूल्य बढाएका छन् ।

 

 

 

सातामा धेरै पढिएको