कारोबार संवाददाता
बिहिवार, श्रावण १०, २०७५
674

धनकुटा-धनकुटाको शहिदभूमि गाउँपालिका ४ पिप्लेका पल्टनबहादुर राईले ६ रोपनीमा उत्पादन गरेको गोलभेंडा बेचर गएको वर्ष ७ लाख रुपैयाँ आम्दानी गरेका थिए । तर अहिले त्यती नै क्षेत्रफलमा गरीएको खेती ३० हजार रुपैयाँमा लिन समेत नसक्ने भएका छन् । यस्तै, गत वर्ष ३ हजार गोलभेंडाको विरुवा गतवर्ष लागत खर्च कटाएर २ लाख रुपैया आम्दानी भएपछि सहिदभूमी गाउँपालिका थलेथलेका राजकुमार राईले यो सिजनमा झण्डै ५ हजार विरुवा रोपे । अहिले १० रोपनी जग्गामा लगाएको गोलभेंडा पाकेर राताम्मे भएको छ । तर प्रति किलो ३ रुपैयाँ पनि गोलभेडाँ विक्रि नभएपछि उनी निराश भएका छन् ।
यी दुई त गोलभेंडा खेती गर्न किसानका प्रतिनिधी पात्रमात्र हुन भारत निर्यातहुने कृषि उपजको सूचीमा नेपाली गोलभेंडा नपरेको बहाना बनाएर निर्यातमा गरिएको अबरोध पछि धनकुटाका किसानले उत्पादन गरेको गोलभेंडा बारिमै कुहिन थालेको छ । गएको वर्ष बोटबाटै प्रतिकिलो ६५ रुपैयाँसम्ममा विक्री भएको गोलभेंडा यो वर्ष तीन रुपैयाँमा पनि विक्री भएको छैन ।

गोलभेंडा उत्पादन हुने सिजन सुरु भएसँगै किसानले बजार र भाउ नपाउँदा गोलभेंडाको व्यवसायिक गर्दै आइरहेका किसान यति बेला निराश देखिन्छन् । भारतले गोलभेंडा निकासीमा रोक लगाएको भन्दै व्यापारीहरूले गोलभेंडा खरिद नगर्दा प्रतिकिलो ५ रुपैयाँमा पनि विक्न छाडेको कृषक राजकुमार राई बताउँछन् । पहिल्यै पहिल्यै व्यापारीहरू घरमै आएर गोलभेडाको भाउ मोलमोलाई गरि अग्रिम पैसा दिएर जान्थे । तर अहिले व्यापारी पनि भारत निकासीमा भएको अवरोध पछि व्यापारीसमेत आउन छाडेका किसान बताउछन् । डाँडा कृषि सहकारीका संस्था शहिदभूमीका अध्यक्ष चन्द्रबहादुर विष्ट भन्छन्, “प्रतिकिलो १५ रुपैयाले विक्री गर्दा किसानले लगानी गरेको लागत खर्च मुस्किलले उठ्छ । किसानले प्रतिकिलो २० रुपैया भाउ पाउँदा सामान्य नाफा आर्जन गर्छन् तर अहिले त गोलभेंडाको मूल्य नै छैन फल्न लादा समेत पैसा लाग्ने भएकाले किसानले बारी मै छोडेका छन् ।”
धनकुटा बेलाहारा , छिन्ताङ, खोकु, आँखिसल्ला , धनकुटा नगरपालिका लगायत स्थानको करिब एक हजार पाँचसय हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट धनकुटामा हिउँद र बर्खामा २८ हजार ७ सय १५ मेट्रिकटन गोलभेंडा उत्पादन हुन्छ । मूल्य नपाएको बेला नबिग्रिने गरि राख्ने शितभण्डार धनकुटामा छैन् । भारतनिर्भर बजारमा यसरीनै गरिने बारम्बारको अबरोध र स्थानीय स्तरमै प्रशोधन सीप र उपकरण नहुँदा धनकुटाका गोलभेंडा उत्पादक किसान समस्यामा परेका छन् ।