कारोबार संवाददाता
बिहिवार, श्रावण १०, २०७५
736

रोपाइँको लागि बर्षा अनुकूल बन्दा यो वर्षको धान रोपाइँको गति उच्च देखिएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले गत वर्ष भन्दा यो वर्षको वर्षाको गति १० देखि १२ प्रतिशत बढी रहेको जनाएको छ ।
मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत सोमबारसम्म नै धान रोपाइँ हुने क्षेत्रमध्ये ७७.४७ प्रतिशत रोपाइँ सकिएको छ । “मौसम अनुकूल बन्दै आएकाले गत वर्ष भन्दा यो वर्षको रोपाइँको गति अगाडि छ,” मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले भने, “गत वर्ष साउन २ गतेसम्म जम्मा ५३.८५ प्रतिशत रोपाइँ भएको थियो भने साउन ११ सम्म मात्र ६८.२७ प्रतिशत रोपाइँ सकिएको थियो ।” यो वर्ष असार अन्तिमसम्म नै ६४ प्रतिशतमा खेतमा रोपाइँ सकिएको मन्त्रालयको तथ्यांक छ ।

पहाडमा जेठ र असार दोस्रो सातासम्म रोपाइँ गरिसक्नु भएको तर सो अवधिमा पानी नपर्दा मध्यपहाड र उच्च पहाडको रोपाइँ भने गत वर्षको भन्दा कम हुने देखिएको छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार साउन पहिलो सातासम्म उच्च पहाडी क्षेत्रमा पर्ने १४ जिल्लामा ८० प्रतिशत रोपाइँ सकिएको छ भने मध्य पहाडमा ७८ प्रतिशत रोपाइँ सकिएको छ । धान उत्पादनको ७० प्रतिशत हिस्सा ओगट्ने तराइ क्षेत्रमा ७७ प्रतिशत रोपाइँ सकिएको छ । तराइमा साउनको दोस्रो सातासम्म रोपाइँ हुनु अनुकूल मानिन्छ भने भदौसम्मै रोपाइँ गर्ने प्रचलन छ ।
असार तेस्रो र चौथो साता मौसम अनुकूलता हुँदा रोपाइँको गति बढेको कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ । तथ्यांकअनुसार हालसम्म सबैभन्दा बढी मध्य पहाडमा ६६.९९ प्रतिशत रोपाइँ भएको छ भने उच्च पहाडमा ६३.९५ प्रतिशत र तराइमा ६३.२ प्रतिशत रोपाइँ सकिएको छ । क्षेत्रफलको हिसाबले भने तराइमा सबैभन्दा बढी ६ लाख ८९ हजार ८७१ हेक्टरमा रोपाइँ सकिएको छ भने मध्य पहाडमा २ लाख २६ हजार ७२९ हेक्टर र उच्च पहाडी क्षेत्रमा ३७ हजार १८९ हेक्टरमा रोपाइँ सकिएको छ ।
अकासे पानीमा निर्भर भएकाले नेपालको धान रोपाइँको गति पनि वर्षाको अनुपातमै अगाडि बढ्ने गरेको धान विज्ञ भोलामान सिंह वस्नेतले बताए । “सिचाइँको सुविधा पुगेका क्षेत्रमा पनि धान उत्पादनमा वर्षाकै भूमिका बढी हुने गरेको विश्वभरकै अध्ययनले देखाएका छन्,” उनले भने, “धानको लागि निरन्तर वर्षा हुनुले नै रोपाइँले गति लिएको हो, यही गतिमा वर्षा हुने हो भने यो वर्ष धान उत्पादन वृद्धि हुने सम्भावना बढेर गएको छ ।”साउन १५ सम्मको रोपाइँले बढी प्रतिफल दिने भएकाले यो अवधिमै ८०÷९० प्रतिशत पुग्ने गतिमा रोपाइँ हुनु नेपालको अर्थतन्त्रलाई नै सकारात्मक सन्देश रहेको उनको विश्लेषण छ ।
तथ्यांक अनुसार हालसम्म सबैभन्दा बढी साविकको सुदूरपश्चिम विकास क्षेत्रका ९ जिल्लामा ९५.६३ प्रतिशत रोपाइँ सकिएको छ । सुदुरको उच्च पहाडमा ९०.४९ प्रतिशत, मध्य पहाडमा ८६ प्रतिशत र तराइमा ९९.६० प्रतिशत रोपाइँ सकिएको छ । त्यसैगरी पश्चिमाञ्चलका १६ जिल्लामा औषत ८६.४५ प्रतिशत, मध्यमाञ्चलका १९ जिल्लामा ७६.८८ प्रतिशत, मध्यपश्चिमका १५ जिल्लामा ७३.०९ प्रतिशत र पूर्वाञ्चलका १६ जिल्लामा ६६.३४ प्रतिशत रोपाइँ सकिएको छ । धान रोपाइँ हुने क्षेत्र र उत्पादनको हिसाबले सबैभन्दा बढी योगदान हुने क्षेत्र साविक पूर्वाञ्चल र हालको प्रदेश नम्बर एक पर्दछ । मन्त्रालयले रोपाइँका लागि आवश्यक बीउ, प्रविधि, प्राविधिक र मलखादको समयमै उपलब्धता रहेको जनाएकोछ ।
गत वर्ष अधिक वर्षा, खण्ड वृद्धि तथा बाढी पहिरोका कारण धान रोपाइँको क्षेत्र घटेको थियो । रोपाइँको क्षेत्र कम भए पनि उत्पादकत्वमा वृद्धि भएका कारण गत वर्ष धान उत्पादन न्युन मात्रामा घटेको थियो । नेपालभर १५ लाख ५२ हजार ४६८ हेक्टर जमिन वर्षेधान खेतियोग्य जमिन रहेको तथ्यांक छ । खेतियोग्य जमिनमध्ये करिव ११ लाख हेक्टर जमिन तराइमा पर्छ भने मध्य पहाडमा करिव ४० हजार र उच्च महाडमा ५८ हजार हेक्टर क्षेत्र पर्दछ । गत वर्ष मुलुकभर ५१ लाख ५१ हजार मेट्रिक टन धान फलेको थियो ।