कारोबार संवाददाता
बुधवार, श्रावण ९, २०७५
1391

कञ्चनपुर-महाकालीमा बन्ने ४ लेनको पक्की पुल निर्माणकार्य रोकिएको छ । वर्षातको समयमा महाकाली नदीमा पानीको बहाव बढ्न थालेपछि पुल निमार्णकार्य रोकिएको महाकाली पुल योजना कार्यालयले जनाएको छ ।
पुल निमार्णको सम्झौता भएको करिब १ वर्ष पुग्नै लाग्दासमेत कामले गति लिन नसकेको स्थानीयले गुनासो गर्दै आएका छन् । अहिलेसम्म पुल निमार्णको १३ प्रतिशतमात्र काम सम्पन्न भएको महाकाली पुल योजना कार्यालय कञ्चनपुरका प्रमुख प्रदीप भण्डारीले बताए । उनले भने, “यो वर्ष जग्गा मुआब्जा र मेसिन उपलब्धताको कारणले अलिकति पछाडि छांै अर्को सिजनदेखि नयाँ मेसिन आउने भएकाले समयमै काम सम्पन्न गर्ने लक्ष्य छ ।” ३ अर्ब २७ करोड ९३ लाख ३४ हजारको लागतमा ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएकोमा १ वर्ष पुग्नै लाग्दा १३ प्रतिशतमात्रै प्रगति भएको छ ।
कार्यालयले १५ करोड ५९ लाख रकम मुआब्जा वितरण गरिसकेको जनाएको छ । १६.५३ हेक्टर जमिन आवश्यक रहेकोमा ४.५६ हेक्टर लिइसकेको आयोजना प्रमुख भण्डारीले बताए । उनका अनुसार बाँकी आउँदो अर्को वर्ष साउन÷भदौमा सक्ने लक्ष्य लिएको महाकाली पुल योजना कार्यालयको भनाइ छ । भीमदत्त नगरपालिका–१२ ओदालीस्थित महाकाली नदीमा क्षेत्रफल अहिलेसम्मकै ठूलो लगानी पुल निर्माण हुन लागेको हो । पुलसँगै पोखरी निर्माणका लागि बजेट खर्च गरिने महाकाली पुल योजना कार्यालय महेन्द्रनगरका प्रमुख प्रदीप भण्डारीले बताए । चालू आवमा सडक निर्माणका लागि मुआब्जा दिएर त्यो कामसँगै पुल निर्माणकार्यलाई पनि तीव्रता दिने पुल योजनाका प्रमुख भण्डारीले बताए । महाकालीमा चार लेनको पक्की पुलसँगै सडक खण्ड निर्माणका लागि अवब दुई वर्षको समय बाँकी छ । तर पुल योजना कार्यालय र निर्माण कम्पनी भने उपकरण र जनशक्ति थपेर भए पनि कामलाई तीव्रता दिँदै समयमै काम सकिनेमा ढुक्क छन् । पुल निर्माणपछि कञ्चनपुर नेपाल–भारतको महत्वपूर्ण व्यापारिक नाकाका रूपमा विकसित हुनेछ भने प्रदेश ७ को समृद्धिको ढोका खुल्ले छ ।