कारोबार संवाददाता
बुधवार, श्रावण ९, २०७५
2802

वीरगन्ज-जिल्लाका दुई कार्यालय दुई वर्षदेखि प्रमुखविहीन भएको छ । मधेस आन्दोलनपछिका दिनमा पर्सामा कार्यालय प्रमुख भएर आउन नचाहेका कारणले घरेलु तथा साना उद्योग कार्यालय र वाणिज्य कार्यालय दुई वर्षदेखि प्रमुखबिना नै सञ्चालन भइरहेको छ ।
घरेलु तथा साना उद्योगमा झण्डै दुई वर्षदेखि कार्यालय प्रमुखविहीन भएको कार्यालयका निमित्त प्रमुख कृष्ण सिग्देलले जानकारी दिए । ११ जना दरबन्दी रहेको घरेलु तथा साना उद्योग कार्यालयमा प्रमुख उद्योग अधिकृत, लेखा अधिकृतलगायत पाँचजना कर्मचारीको पद रिक्त रहेको उद्योग कार्यालयले जनाएको छ । कर्मचारी अभावका कारण सेवाग्राहीको काम समयमा गर्न नसकिरहेको समयमा साउनदेखि स्थानीय तह मातहत जाने भनेर ३१ गतेदेखि नै काम रोक्न पत्राचार गरेपछि कतिपय काम रोकिएको थियो । तर, स्थानीय तह मातहतमा जान समय लाग्ने भएपछि यसअघिका बाँकी काम पनि गर्नुपर्दा थप समस्या भएको उनले बताए । कार्यालय समायोजनको विषयमा अन्योलता कायम रहेको बेला जिल्ला प्रशासन कार्यालय र कोष तथा लेखा नियन्त्रण कार्यालयले काम रोक्न भनेपछि काम रोक्दा काम गर्न असहज भएको सिग्देलले बताए ।

त्यस्तै वाणिज्य कार्यालय पनि प्रमुखविहीन छ । प्रदेशकै कार्यालयको रूपमा रहेको वाणिज्य कार्यालय वीरगन्जमा अहिले एकजना उपसचिवस्तरको कार्यालय प्रमुख, दुईजना अधिकृत, कम्प्युटर अपरेटरलगायतको पदमा कर्मचारी अभाव रहेको वाणिज्य कार्यालयका सूचना अधिकृत दीलिप खंगले बताए । पर्साको मालपोत कार्यालय पनि प्रमुखविहीन छ । मालपोत कार्यालय प्रमुखविहीन भएपछि नापी कार्यालयका प्रमुखले नै अहिलेसम्म हेर्ने गरेको छ । केही महिना अघिसम्म प्रमुखविहीन रहेको यातायात व्यवस्था कार्यालयको सवारी शाखामा चालक अनुमति पत्र शाखाकै प्रमुखले काम गर्नुपर्ने अवस्था रहेको थियो । कार्यालयहरू प्रमुखविहीन हुँदा कतिपय नीतिगत निर्णय गर्नलाई समस्या हुने गरेको कार्यालयका कर्मचारीले बताएका छन् ।
सरकारी कार्यालयहरू मध्ये मालपोत र यातायात व्यवस्था कार्यालय आकर्षक कार्यालयको रूपमा चिनिन्छन् । तर, विगतको मधेस आन्दोलन तथा विभिन्न डर, धम्की र सेवाग्राहीको गलत व्यहारका कारण असुरक्षित महसुस गरी कार्यालय प्रमुख भएर आउन नमानेकोले कार्यालयहरू प्रमुखविहीन भएको हो ।
-निरज पिठाकोटे