कारोबार संवाददाता
बुधवार, श्रावण ९, २०७५
545

दमौली-के तपाईंले राडर गनको नाम सुन्नुभएको छ ? यो गनले दुर्घटना न्यूनीकरण गर्न सहयोग पुराउँछ । सवारीसाधनको गति मापन गर्ने राडर गनको ट्रिगरलाई औंलाले दबाएपछि त्यसको विकिरण सडकमा गुडिरहेको सवारीमा पर्छ । कुन गाडी कति गतिमा गुडेको छ त्यसले गनमा अंक देखाउँछ । एक पटकमा एउटा गाडीको मात्र गति पत्ता लगाउन सकिन्छ । धेरै गाडी गुडेका बेला गति पत्ता लगाउनु पर्दा जुन गाडी तीव्र गतिमा गुड्छ, त्यसको मात्रै स्पिड पत्ता लाग्छ ।
पृथ्वीराजमार्गस्थित तनहुँको मुग्लिङदेखि कोत्रेसम्म सवारी दुर्घटना वृद्धि भएपछि प्रहरीले ‘स्पिड लिमिट’ कायम गर्ने तयारीसमेत गरेको छ । कोत्रेदेखि मुग्लिङसम्मको राजमार्गमा गति सीमा कायम गरिनेछ । मुग्लिङदेखि कोत्रेसम्मको सडकमा प्रतिघण्टा ६० किमिको गति कायम गरिने प्रहरी प्रमुख सिद्धिविक्रम शाहले जानकारी दिए । उनका अनुसार मोड, घुम्ती तथा बजार क्षेत्रमा भने आवश्यकताका आधारमा गति सीमा कायम गरिनेछ ।

तनहुँ प्रवेश गर्ने मुख्य नाका मुग्लिङ र कोत्रेमा स्पिड लिमिटबारे जानकारी दिन होर्डिङ बोर्ड राखिने र सवारीको गति मापन गर्न राडर गनको प्रयोग गरिने शाहले जानकारी दिए ।
व्यास नगरपालिकाले जिल्ला प्रहरी कार्यालय तनहुँलाई राडर गन हस्तान्तरण गरेको छ । दुर्घटना न्यूनीकरणका लागि नगरपालिकाले प्रहरीलाई राडर गन हस्तान्तरण गरेको हो ।
सोमबार व्यास नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख बैकुण्ठ न्यौपानेले शाहलाई २ थान राडर गन हस्तान्तरण गरेका थिए । नगरपालिकाले सानो र ठूलो गरी ४ थान चेकिङ बोर्ड, १० थान ट्राफिक कोण र १० थान फ्लोरोसेन्ट ज्याकेटसमेत हस्तान्तरण गरेको छ ।
न्यौपानेले प्रदान गरिएका सामग्रीले जिल्लामा दुर्घटना न्यूनीकरणका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रहरी उपरीक्षक शाहले तीव्र गतिका कारण सवारी दुर्घटना बढेकाले राडर गनको सहयोगले दुर्घटना न्यूनीकरण गर्न सकिने बताए ।


सातामा धेरै पढिएको