मनोरञ्जन शर्मा
बुधवार, श्रावण ९, २०७५
1584

स्थानीय बासिन्दाले सिंगो गाउँ नै त्यहाँको फोहरले प्रभावित हुने भन्दै निर्माण गर्न नदिएपछि निर्माणकार्य अन्योलमा परेको हो ।

रुपन्देही-एसियाली विकाश बैंकको सहयोगमा सिद्धार्थनगर नगरपालिकामा लागू भएको एकीकृत सहरी विकास आयोजनाको बहुआयामिक फोहरमैला प्रशोधन केन्द्र निर्माणकार्य अन्योलमा परेको छ ।
फोहरमैला प्रशोधन केन्द्र स्थापनाका लागि नगरपालिकाले तत्कालीन पटखौली हालको ओम सतिया गाउँपालिका–५ पट्खौलीमा १ करोड २ लाखमा ६ बिघा जग्गा खरिद गरेको थियो । जग्गा खरिद गरेको पाँच वर्ष बित्दासमेत काम हुन सकेको छैन । स्थानीय बासिन्दाले सिंगो गाउँ नै त्यहाँको फोहरले प्रभावित हुने भन्दै निर्माण गर्न नदिएपछि निर्माणकार्य अन्योलमा परेको हो ।

एकीकृत सहरी विकास आयोजनाअन्तर्गत सिद्धार्थनगर नगरपालिका क्षेत्रभित्रबाट निस्कने फोहरलाई आधुनिक प्रणालीद्वारा प्रशोधन गरी पुनः प्रयोगमा ल्याउने उद्देश्यले आयोजनाले पटखौलीमा जग्गा खरिद गरी पहँुच सडकसमेत निर्माण गरिसकेको छ । तर अहिले सो जग्गामा नगरपालिकाले डम्पिङ साइट बनाउन लागेको भन्दै स्थानीयले विरोध गरेका छन् । स्थानीयकै भनाइअनुसार नगरपालिकाले बनाउन लागेको डम्पिङ साइटको नजिकै ऐतिहासिक महत्व बोकेको ओमसतिया मन्दिर र लोहरौली मन्दिर तथा २ वटा विद्यालय र गाउँलाई समेत असर पर्ने युवा नेता विद्या यादवले बताए ।
डम्पिङ साइटसँगै जोडिएर रहेको रोहिणी नदीमा फोहर मिसिँदा ओमसतिया गाउँपालिकामात्र होइन नजिकैको रोहिणी गाउँपालिकालाई पनि फोहरले असर गर्नेछ । ओमसतिया गाउपालिका–५ का अध्यक्ष ओमप्रकाश कुर्मीले नगरपालिकाले फाल्ने फोहरले वडालाई मात्र नभई त्यस क्षेत्रलाई नै असर गर्ने हुँदा कुनै पनि हालतमा त्यहाँ फोहर फाल्ने स्थान निर्माण गर्न नदिइने बताए ।
नगरपालिकाले डम्पिङ साइट निर्माणका लागि दबाब बढाउँदै लगेपछि स्थानीयले विरोधका लागि संघर्ष समिति नै बनाई विरोधका कार्यक्रम गर्ने बताएका छन् । पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री तथा कांग्रेसका रुपन्देही जिल्ला सभापति अब्दुल रज्जाकले पनि सो क्षेत्रमा कुनै पनि हालतमा डम्पिङ साइट बन्न नदिने बताए । उनले नगरपालिकामै पर्याप्त जग्गा हुँदाहुँदै त्यहाँ निर्माण नगर्नुले आयोजनाको नियत स्पष्ट भएको बताए ।
नगरपालिकाले निर्माण गर्ने भनिएको डम्पिङ साइट निर्माण रोक्न त्यसक्षेत्रमा क्रियाशील प्रायः सबै दलका नेताले स्थानीयलाई सहयोग दिने प्रतिबद्धता जनाएका छन् । उनीहरूले सो क्षेत्र धार्मिक एवं पर्यटकीय दृष्टिले समेत महत्वपूर्ण रहेको हुँदा यसलाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्ने योजनाअघि सारेका छन् ।
यता एकीकृत सहरी विकास आयोजनाले सो स्थानमा डम्पिङ साइट नभई फोहर मैला प्रशोधन केन्द्र निर्माण गर्ने बताएको छ । स्थानीयले यसलाई डम्पिङ साइटको रूपमा बुझिदिँदा समस्या भएको आयोजना प्रमुख इन्जिनियर शैलेन्द्र श्रेष्ठले बताए । बजारमा संकलन भएका फोहर त्यहाँ लगेर प्रशोधन गरी जैविक मललगायत बनाउने योजना हो तर अहिले गलत ब्याख्या भएको छ, श्रेष्ठले भने, “पटखौलीमा फोहर मैला प्रशोधन केन्द्र निर्माण भए सिद्धार्थनगरलाई मात्र होइन ओमसतिया र रोहिणी गाउँको समेत फोहर प्रशोधन गर्न सकिने भएकाले यसमा सहजता देखाउन सबैमा आग्रह गरेका छन् ।
एडीबीको ८० प्रतिशत, नेपाल सरकार नगर विकाष कोषको १५ प्रतिशत र सिद्धार्थनगर नगरपालिकाको ५ प्रतिशत रकम गरी कुल १ अर्ब ७१ करोड रुपैयाँको लागतमा सतह ढल, सडक सुधार, साना पूर्वाधार, वातावरणका क्षेत्रमा भौतिक पूर्वाधार निर्माणकार्य तथा फोहर मैला ब्यवस्थापन तथा प्रशोधन केन्द्र सन् २०१८ भित्र सम्पन्न गर्ने लक्ष्य छ ।
यो आयोजनाका लागि नगर विकास कोषले सिद्धार्थनगर नगरपालिकालाई २० वर्षका लागि १३ करोड १४ लाख ८० हजार ५९६ रुपैयाँ ऋण सहयोग गर्नेछ । उक्त ऋण पाँच वर्षसम्म निब्र्याजी र त्यसपछि वार्षिक ५ प्रतिशतका दरले नगरपालिकाले कोषलाई तिर्नु पर्नेछ ।