कारोबार संवाददाता
बुधवार, श्रावण ९, २०७५
648

स्याङ्जा-स्याङ्जाका भूकम्प प्रभावित परिवारमध्ये १३.५६ प्रतिशतले मात्र दोस्रो किस्ताको रकम लिएका छन् । दोस्रो किस्ता रकम लिने अन्तिम म्याद असार मसान्तसम्ममा जिल्लाका १ हजार १५१ जनाले मात्र लिएका छन् । प्रथम किस्ता लिएका ८ हजार ४८५ मध्ये १ हजार १५१ परिवारले मात्र दोस्रो किस्तावापतको रकम लिएका हुन् ।
पहिलो किस्तावापत पाउनेले प्रत्येक घरले ५०/५० हजारका दरले रकम लिइसकेका छन् । दोस्रो किस्ता रकमका लागि ज्यादै न्यून ब्यक्तिले मात्र चासो राखेको प्राधिकरण इकाई कार्यालय प्रमुख प्रवीण ढकालले बताए । प्रभावितले पहिलो चरणको काम सकेपछि ५० हजार रकम लिएर दोस्रो चरणको काम सुरु नगरेका कारण रकम लिने संख्या न्यून देखिएकोे प्रमुख ढकालको भनाइ छ । दोस्रो चरणको काम सकेपछि प्राविधिकको सिफारिसमा मात्र प्रभावित परिवारले एक लाख ५० हजार रुपैंयाँ दोस्रो किस्ता पाउने प्रावधान छ ।

भूकम्पका कारण स्याङ्जामा करिब ९ हजार ९२ घर प्रभावित भएका थिए । भूकम्पबाट प्रभावित ८ हजार ४८५ परिवारले मात्र प्रथम किस्ता लिएका थिए । प्रथम किस्ता लिएका मध्ये अहिले १ हजार १५१ ले मात्र दोस्रो किस्ता लिएका हुन । स्याङ्जामा ५६७ घर आंशिक (प्रवलीकरण) मा परेका थिए भने २८३ ले मात्र प्रथम किस्ता लिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई स्याङ्जाले जनाएको छ ।
कार्यालयका अनुसार पुतलीबजार नगरपालिकामा २१६, वालिङमा १९६, भीरकोटमा ७६, गल्याङ्मा १ सय २, चापाकोटमा १३७ र फेदिखोला गाउँपालिकामा ४३, आ“धीखोलामा १७२, अर्जुनचौपारीमा १२२, बिरुवामा ३३, कालिगण्डकीमा २८ र हरिनासमा २३ घर दोस्रो किस्ताका लागि सिफारिस गरिएको जिल्ला परियोजना कार्यान्वयन इकाई कास्की र स्याङ्जाका सम्पर्क ब्यक्ति लक्ष्मण जिसीले जानकारी दिए ।
पहिलो किस्ताका लागि जग खन्ने र दोस्रो किस्ताका लागि जग पुर्नु र घर सम्पन्नताको प्रमाणितसहित जिल्ला आयोजना कार्यान्वयन इकाई समितिमा सम्बन्धित स्थानीय तहमा कार्यरत प्राविधिकले सिफारिस गर्नुपर्ने हुन्छ । प्राविधिकका सिफारिसलाई सहरी विकासले प्रमाणित गरेपछि लाभग्राहीले दोस्रो किस्ताको रकम पाउने प्रावधान छ । सरकारले गत मंसिरदेखि प्रत्येक गाउँपालिका र नगरपालिकामा १ इन्जिनियर र १ सबइन्जिनियर खटाएको छ ।


सातामा धेरै पढिएको