कारोबार संवाददाता
मंगलबार, श्रावण ८, २०७५
947

विराटनगर- बाढी गएको लामो समय बितिसक्दा पनि राहत नपाएपछि मोरङ कटहरीका बाढीपीडित आन्दोलित भएका छन् ।
राहत माग्दै सोमबार बाढीपीडितले कटहरी गाउँपालिकामा धर्ना दिएका छन् । विभिन्न वडाबाट आएका बाढीपीडितले गाउँपालिका परिसरमा जम्मा भएर राहत नपाएको भन्दै आक्रोश व्यक्त गरे । उनीहरू गाउँपालिका प्रमुख रामकुमार कामतको कार्यकक्ष अगाडि उभिएर राहत नपाएको भन्दै आक्रोश व्यक्त गरे । विभिन्न कारण देखाउँदै राहत उपलब्ध नगराइएका कारण आफूहरूको बिजोग भएको बाढीपीडितले गुनासो गरेका छन् । कटहरी गाउँपालिका–२ की रजनी देवीले अहिलेसम्म राहतको नाममा जम्मा २ हजार पाएको दाबी गरिन् । “सरकारले आश्वासनमात्रै दियो राहत पाइएन,” उनले भनिन्, “पानी पर्दा झनै बिजोग भएको छ ।”
बाढीपीडितले गाउँपालिका परिसरमा नाराबाजी गर्दै तालाबन्दीको प्रयाससमेत गरेका थिए । गत वर्ष साउन अन्तिम साता आएको बाढीका कारण पीडित भएका थिए । प्रमुख कामतले कटहरी गाउँपालिकामा १ हजार ५१७ जना बाढीपीडित भएकोमा राहतका लागि ३ करोड ७९ लाख २५ हजार रकम आएको बताए । तर पछिल्लो समय जिल्ला प्रशासन कार्यालयले राहत वितरण नगर्न पत्र पठाएपछि रकम वितरण गर्न नसकिएको जानकारी गराए । केही दिनअघि मात्र विराटनगर महानगरपालिकाको वडा नम्बर २ का बाढीपीडितले समेत राहत नपाएको भन्दै महानगरपालिकामा धर्ना दिएका थिए ।