कारोबार संवाददाता
मंगलबार, श्रावण ८, २०७५
2464

पोखरा-कास्कीको माछापुछ्रे गाउँपालिकाबाट यस वर्ष ६ लाखवटा निंगालो जातको टुसा बिक्री हुने भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (ए–क्याप) ले यस वर्षका लागि माछापुछ्रे गाउँपालिका–१, माछापुछ्रे गाउँपालिका–२ सार्दीखोला र माछापुछ्रे गाँउपालिका–८ तथा ९ को ल्वाङबाट २/२ लाखको दरले ६ लाख टुसा बिक्री गर्न अनुमति दिएको हो ।
यति बेला टुसाको उत्पादन बढेकाले स्थानीयको आयस्रोतमा थप टेवा पुग्ने उद्देश्यले टुसा बिक्रीका लागि यही साउन २ देखि भदौं ९ गतेसम्म ६ लाखवटा मात्र टुसा बिक्री वितरण गर्नका लागि कार्यालयले अनुमति दिएको ए–क्याप पोखराका प्रमुख विनोद बस्नेतले बताए । वातावरणीय हिसाबले कुनै प्रभाव नपर्ने गरी आफूहरूले टुसा बिक्रीका लागि हरेक वर्ष उत्पादन हुने आधारमा टुसा बिक्री खुला गरिँदै आएको उनले जनाए । प्रति टुसा २ पैसा नेपाल सरकारको राजस्वमा जाने गर्दछ । मालुङगे जातका निङ्गालोको बढी टुसा माछापुछ्रे गाउँपालिकामा उत्पादन हुँदै आएको छ ।

आफूहरूले तोकेको समय सीमाभन्दा अघि पछि वा अन्य ठाउँबाट टुसा कसैले बिक्री वितरण गरे कारबाही हुने प्रमुख बस्नेतले चेतावनी दिएका छन् । साउनको महिनामा माछा मासु कम खाने प्रचलन रहेको र टुसाको उत्पादन पनि बढी हुने भएकाले यस समयमा आफूहरूले टुसा बिक्रीका लागि समय खुला गरेको उनको भनाइ छ ।
पोखरा क्षेत्रमा सिजनअनुसारको तरकारी तथा अचारको रूपमा प्रयोग गरिने टुसा यतिबेला पोखराका विभिन्न क्ष्ोत्रमा बिक्री वितरण भएको छ । सामान्यतया प्रतिमुठा ४० देखि ५० रुपैयाँमा बिक्री हुँदै आएको टुसा पोखरा क्षेत्रका फलफूल तरकारी बजारमा समेत उपलब्ध भएको छ । कास्कीमा उत्पादन हुने टुसा कास्की बाहिरका जिल्लामा समेत लैजाने गरेको पाइन्छ ।