दिपक बोहरा
बुधवार, असार ६, २०७५
863

पाँचथर-राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत पाँचथरमा मंगलबारबाट ब्यक्तिगत विवरण संकलन कार्य सुरु गरिएको छ । फिदिम नगरपालिका–४ निवासी एक सय दुई वर्षीय भगवतीदेवी भण्डारीको फोटो खिची ब्यक्तिगत विवरण संकलन कार्य सुरु गरिएको हो । साथै जिल्ला प्रशासन कार्यालय पाँचथरमा मंगलबार जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटा, उपप्रमुख डिल्लीराम दुलाल, फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्वाङलगायतले विवरण टिपाएका थिए ।
जिल्ला प्रशासन कार्यालयको एक कोठामा फिल्ड कार्यालयको स्थापना गरी विवरण संकलन गर्र्न कार्य सुरु गरिएको छ । अब यो कार्यालय स्थायी रूपमा रहनेछ । राष्ट्रिय परिचय पत्रको तथ्यांक संकलनका लागि २० जना कम्प्युटर अपरेटरलाई तथ्यांक संकलनसम्बन्धी तालिम दिइसकिएको छ । यस्तै ५ जना प्रमाणीकरण अधिकृत तयार पारिएको छ । अहिले विवरण संकलन गर्ने कार्य प्रशासन कार्यालयबाट सुरु गरिए पनि केही दिनपछि पाँचथरका ८ वटै स्थानीय तहका ६० वटा वडामा कर्मचारीको टोली पुगेर विवरण संकलन गर्ने कार्यक्रम रहेको राष्ट्रिय परिचय पत्र वितरण केन्द्रका निर्देशक शिवराज जोशीले बताए । जोशिका अनुसार फिदिम नगरपालिककाबाट विवरण संकलन गर्ने कार्य सुरु हुनेछ । टोलीले ल्यापटप, डिजिटल क्या मेरालगायतका सामग्री र प्राविधिक र इन्जिनियरसहितको टोली गाउँगाउँमा गएर विवरण संकलन गर्नेछ ।

पहिलो चरणमा पाँचपाँच जनाको ३ टोली बनाएर फिदिम नगरपालिकाबाट विवरण संकलन गर्ने तयारी गरिएको जोशिले बताए ।
नेपाल सरकार मन्त्रिपरिषद्को बैठकबाट पूर्वको पाँचथर र सिंहदरबारका कर्मचारीबाट सुरु राष्ट्रिय परिचयपत्र वितरण गर्ने निर्णयअनुसार पाँचथरमा ब्यक्तिगत विवरण संकलन गर्ने कार्य सुरु गरिएको हो । पहिलो चरणमा पाँचथर जिल्लाका स्थानीय बासिन्दा र सिंहदरबारका कर्मचारीलाई वितरण गर्ने तयारी छ ।
जोशिका अनुसार पाँचथरमा १ लाख १० हजार र सिंहदरबारका ७ हजार कर्मचारीलाई पहिलो चरणमा परिचय–पत्र वितरण गरिने छ । पाँच वर्षभित्र देशभरि वितरण गर्ने लक्ष्य राखिए अनुसार पहिलो चरणमा दुई ठाउँमा वितरण गर्न लागिएको हो ।
नागरिकता प्राप्त गरेकालाई परिचय पत्र वितरण गरिने छ । पाँचथरमा यो उमेर समूहका जनसंख्या १ लाख १० हजार भएकाले पाँचथर जिल्लालाई छनोट गरिएको हो ।
एडीबीसको ऋण सहयोगमा परिचय पत्र वितरणको काम अघि बढाइएको हो । पहिलो चरणमा एडीबीको ४.८ मिलियन अमेरिकी डलर ऋण सहयोग हुने बताइएको छ ।
परिचयपत्रका लागि फ्रान्सको सफरान आईडीटीले ठेक्का पाएको छ । उसले जिल्लामा आएर तयारी गरेपछि वितरण सुरु हुनेछ । निर्वाचन आयोगमा रहेका मतदाता नामावलीको विवरणलाई आधार बनाएर वितरण गरिने छ । सिहंदरबारभित्रै र जिल्लामा पनि गाउँगाउँ पुगेर परिचयपत्र वितरण गरिने जोशिले जानकारी दिए । निर्वाचन आयोगको विवरणसँग अरु विवरण मिलाएर वितरण गरिने बताइएको छ । नाम, जन्ममिति, बाबुआमाको नाम, बायोम्याट्रिक्स (औठा) छापसहितको विवरण भएको परिचयपत्र वितरण हुनेछ । स्मार्ट कार्डजस्तो परिचयपत्र वितरण हुनेछ । अनलाइनमा रिड गर्नेे डिजिटल परिचयपत्र वितरण हुनेछ ।