कारोबार संवाददाता
सोमवार, जेठ १४, २०७५
1362

डडेल्धुराको भित्रीमधेस क्षेत्रमा बाढी कटान रोक्न तटबन्ध निर्माणकार्य भइरहेको छ । तटबन्ध निर्माण भएसँगै रंगुन नदीको कटानले बगाएका बस्ती पुनःस्थापना भएका छन् ।
तटबन्धन गरेको पैसा नपाएको कम्पनीको गुनासो छ । बर्सेनि वर्षायाममा नदी छेउछाउका बस्ती बगाउँदा बस्ती नै बगर बनेको थियो । रंगुन नदीका कारण हरेक वर्ष बस्ती नै विस्थापित हुन थालेपछि नेपाल सरकारले भित्रीमधेसलाई जोगाउन रंगुन नदी किनारमा तटबन्ध निर्माणमा लगानी गरेको छ । परशुराम नगरपालिकाको जोगबुढा, शीर्ष र आलितालमा वर्षायाममा बाढी पहिरोका कारण मानवबस्ती, खेतीयोग्य जमिन र जंगल कटान गरी विनास हुन थालेपछि रगुंन नदी र अन्य खोलामा पनि तटबन्ध निर्माण गर्न लागेको जिल्ला वन कार्यालय डडेल्धुराका सहायक वन अधिकृत केशव पुडासैनीले बताए । राष्ट्रपति चुरे सरंक्षण कार्यक्रम, जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय नं. २२ धनगढीको आर्थिक सहयोग र जिल्ला वन कार्यालय डडेल्धुरासँगको समन्वयमा तटबन्ध निर्माणकार्य भइरहेको इलाका वन कार्यालय जोगबुढाका सहायक वन अधिकृत चिरञ्जीवी थापामगरले बताए । पाँच वर्षभित्रमा पूरै रंगुन नदीमा तटबन्ध निर्माण गरिसक्ने लक्ष्यसहित धमाधम तटबन्ध निर्माणको काम भइरहेको जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय धनगढीले जनाएको छ ।

रंगुनलगायत अन्य चुरे क्षेत्र आसपासको बस्ती र खेतीयोग्य जमिन बचाउनका लागि परशुराम नगरपालिका–१२ लाढुंगामा ५ किमि र वडा नं ५ परिगाउँमा ३ गरी करिब ८ किमि बढी क्षेत्रमा तारजालीलगायत तटबन्ध निर्माणकार्य पूरा भएको इलाका वन कार्यालय जोगबुढाका सहायक वन अधिकृत थापामगरले जानकारी दिए । बर्सेनि बाढीपहिरोको पीडा झेल्दै आएका परशुराम नगरपालिकावासी र त्यस क्षेत्रमा रहेको जंगल जोगाउनका लागि रगुंन नदी र अन्य खहरे खोलामा समेत तारजाली र जैविक तटबन्ध लगाइएको छ । डडेल्धुराको भित्रीमधेस क्षेत्र परशुराम नगरपालिका र आलितालको केही भागमा मानवबस्ती र जंगल संरक्षण गर्नका लागि सुनखोलालगायत खहरेखोलामा समेत तारजाली र जैविक तटबन्धसहितको १० किमि क्षेत्रमा तटबन्ध निर्माण गरिएको जिल्ला वन कार्यालय डडेल्धुराले जानकारी गराएको छ । यो वर्ष करोडौं रुपैयाँको लगानीमा रगुंन नदी सघन नियन्त्रण गुरुयोजनाअन्तर्गत सो क्षेत्रमा बाढी पहिरोबाट बचाउनका लागि तारजालीलगायत ढुंगाको तटबन्ध निर्माणकार्य भइरहेको छ । साथै खयर, बंयर र अन्य रुख बिरुवासमेत लगाई जैविक तटबन्ध लगाउने कार्यसमेत भइरहेको स्थानीय जैविक तटबन्धको कार्य गरिरहेका पनपा–१२ का कैलाश पाण्डेयले बताए ।
वर्षायाम सुरु हुनेबित्तिकै डर र त्रासपूर्ण जीवन जिउन बाध्य परशुरामवासी तटबन्ध निर्माणसँगै हर्षित भएका छन् । नदी नियन्त्रणका लागि भइरहेको कार्यले राहत मिल्नुका साथै वर्षायाममा पनि निर्धक्कका साथ बस्न पाइने हरिना कामीले बताइन् । हरेक वर्ष वर्षायामसँगै भित्रीमधेस क्षेत्रका मानिसले बाढीपहिरोका कारण धनजन क्षति सहन गर्दै आएका थिए । यो वर्षदेखि नदी र खोलाभरि सुरु भएको तटबन्ध निर्माणकार्यले परशुराम नगरपालिका र आलिताल क्षेत्रका सर्वसाधारण अबका दिनमा बाढी पहिरोका कारण कुनै क्षति नपुग्ने भन्दै खुसी भएको परशुराम–१२ पन्तुराका डम्बर कामीले बताए । अतिजोखिममा रहेको र जैविक तथा भूखलन क्षेत्र, बस्ती र जंगल बचाउनका लागि रंगुनलगायत अन्य चुरे क्षेत्रका खहरे खोलाको करिब ८ किमि क्षेत्रमा तटबन्ध निर्माण गरिएको छ भने अन्य न्यून जोखिम भएको क्षेत्रमा समेत तटबन्ध लगाइने भएको छ ।