कारोबार संवाददाता
आइतवार, जेठ १३, २०७५
2035

नेपाल निजामती कर्मचारी युनियन (संघ) का केन्द्रीय अध्यक्ष गोपालप्रसाद पोख्रेलले वर्तमान सरकारले ऐन कानुन मिचेर मनोमानी ढंगले कर्मचारी सरुवा गरिरहेको आरोप लगाएका छन् ।
सरकारले कर्मचारी अवकाश योजनालाई समेत स्थगित गरी मनोमानी तरिकाले काम गरिरहेको जनाउँदै उनले पूर्वाग्रही भएर काम नगर्न सरकारलाई चेतावनी दिएका छन् । नेपाल निजामती कर्मचारी युनियन (संघ) को बाँके शाखाले नेपालगन्जमा युनियनका नवनिर्वाचित पदाधिकारीलाई गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष पोखरेलले यो सरकारले बहुमतको दम्भ देखाएर समायोजन ऐनविपरीत आफू खुसी कर्मचारीलाई खटाउने काम गरिरहेको बताए । आफ्ना विचारधासँग मेल खाने कर्मचारीलाई राम्रा ठाउँमा पठाउने तर अन्यलाई जता पायो उतै सरुवा गर्ने काम भइरहेको उनको भनाइ छ ।
विगतको सरकारले पास गरेको कर्मचारी अवकाश योजनालाई लागू गर्ने वर्तमान सरकारको मनसाय नरहेको देखिएको जनाउँदै उनले त्यसो गरिए कर्मचारी चुप लागेर नबस्ने तथा आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिए । सरकारले टे«ड युनियन संघीय निजामती सेवा ऐन संशोधन गरेर एकल युनियन बनाउने प्रयास गरिरहेको जनाउँदै काँग्रेस निकट कर्मचारीको युनियनका अध्यक्ष पोखरेलले अन्य सबै टे«ड युनियनलाई पंगु बनाउने षडयन्त्र भइरहेको पनि बताए ।सरकारले पूर्वाग्रही भएर मनोमानी तरिकाले काम गर्न छाडेन भने छिटै ठूलो आन्दोलन गरिने गरिने उनको भनाइ थियो ।