कारोबार संवाददाता
आइतवार, जेठ १३, २०७५
804

 व्यास नगरपालिका–३ ले आगामी आर्थिक वर्ष ०७५/७६ का लागि योजना पारित गरेको छ । वडाले वडा भेलामार्फत आगामी वर्ष वडाबाट सञ्चालन हुने योजना पारित गरेको हो ।
वडा कार्यालयले प्राथमिकतामा राखेका ३१ सहित अन्य योजना पारित गरेको वडासदस्य रविन पौडेलले जानकारी दिए । साथै उक्त आवका लागि ९ वटा नीति तथा कार्यक्रमसमेत पारित भएको उनले बताए ।

आर्थिक समृद्धिका लागि पर्यटन, स्वरोजगार युवा अभियान, सामूहिक महिला सहभागिता हुने व्यवसाय सञ्चालनका लागि प्रोत्साहन हुने खालको नीति तथा कार्यक्रम लागू गर्ने, पर्यटन प्रवद्र्धनका साथै धार्मिक पर्यटनलाई बढावा दिन बृहत्तर गुरुयोजना निर्माण गर्ने, वडा नम्बर ३, २, ४, ५, १० सहित समग्र नगरपालिकाको पर्यटन विकासका लागि मादी नदीलाई कृत्रिम तालको रूपमा निर्माण गरी मानहुँबाट प्याराग्लाइडिङ गर्ने प्रबन्ध गर्ने, देउराली नगर क्षेत्रमा रहेका अव्यवस्थित बसोबासलाई निश्चित रकम लिई कानुनअनुसार लालपुर्जा वितरण गर्ने नीति लिइएको छ ।
वडा कार्यालयले वडास्तरबाट सञ्चालन हुने साझा योजना, नगरस्तरबाट सञ्चालन हुने योजना र प्रदेश तथा केन्द्र सरकारबाट सञ्चालन हुने गरी योजना पारित गरेको छ । वडाबाट सञ्चालन हुने योजनामा सार्वजनिक स्थानमा सिसि क्यामरा जडानका लागि १३ लाख रुपैयाँ विनियोजन गरिएको छ । वडामा आवश्यक सार्वजनिक स्थानको पहिचान गरी ३२ थान क्यामरा जडान गरिनेछ ।