केदार दाहाल
बिहिवार, जेठ १०, २०७५
1716

नेपाल वायुसेवा निगमले चिनियाँ वाई–१२ ई जहाज उडानका लागि ल्याउन लागेको चिनियाँ क्याप्टेनहरू अयोग्य भएको ठहर गर्दै नेपाल ल्याउन अनुमति नदिइने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमले ल्याउन लागेको पाइलट कर्मर्सियल पाइलट लाइसेन्स (सीपीएल)बाहक मात्रै रहेको भन्दै अनुमति दिन अस्विकार गरेको हो ।
निगमले चिनियाँ वाई १२ ई जहाज उडान गर्न ल्याउन लागेको पाइलट मापदण्डविपरितका सीपीएल लाइसेन्समात्रै रहेको खुलासा कारोबार दैनिकले गरेको थियो । प्राधिकरणको नियममा नेपालमा दर्ता भएका जहाज उडान गर्न पाइलटसँग एयरलाइन्स ट्रान्सपोर्ट पाइलट लाइसेन्स (एटीपीएल) अनिवार्य हुनुपर्ने व्यवस्था रहेको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले पनि एटीपीएलबाहकलाई मात्र अनुमति दिनको लागि संसारभर नियम लगाउने गरेको छ । तर चिनियाँ जहाज उडान गर्न पाइलट अभाव खेपिरहेको निगमले ल्याउन लागेको तीन चिनियाँ पाइलटसँग सीपीएल लाइसेन्समात्रै रहेको पाइएको थियो ।
निगमले चिनियाँ जहाज उडाउन ल्याउन लागेका तीन पाइलटको नेपालको नागरिक उड्डयन नियमावली तथा पाइलटको कार्यविधि विपरित रहेको भन्दै अनुमति नदिएको हो ।
“चिनियाँ पाइलटको योग्यता नेपालको मापदन्डअनुसार नमिलेपछि चिनियाँ पाइलट ल्याउने रद्द गरेर श्रीलंकाबाट ल्याउने प्रक्रिया अगाडि बढाएका छौ,” निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले भने । श्रीलंकामा पनि वाई १२ ई जहाज उडान भइरहेकाकोले त्यहाँका तीन क्याप्टेनले चासो दिएकोले पत्रचार भइरहेको कंसाकारले जानकारी दिए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको नियममा सीपीएल पाइलटको लागि प्राइभेट पाइलट लाइसेन्स (पीपीएल) अनिवार्य हुनुपर्दछ । जसमा कम्तिमा १ सय ५० घन्टा उडान गरेको पीपीएलबाहकले सीपीएलको जाँच दिनपाउने व्यवस्था रहेको छ । सीपीएलबाहकले २ हजार ५ सय देखि ३ हजार घन्टासम्म अनिवार्य उडान गर्नुपर्ने व्यवस्था छ । त्यसपछि मात्रै एटीपीएलको लागि जाँच दिन पाउने व्यवस्था रहेको छ । लिखित तथा प्रयोगात्मक परिक्षा पास गरेपछि मात्रै नेपालमा दर्ता भएका जहाजको कमान्ड गर्न पाउने व्यवास्था रहेको छ । सीपीएल प्रमाणपत्र पाइलटले १८ वषकै उमेरमा पनि आवदेन दिन पाउने व्यवस्था रहेको छ । तर एटीपीएलको लागि भने २१ वर्ष पूरा भएको हुनुपर्दछ ।
निगमसँग हाल ४ थान जहाजका लागि २ जनामात्र क्याप्टेन रहेका छन् । वाई १२ ई को लागि क्याप्टेन उद्धव घिमिरे र नृपेन्द्र भट्टराईमात्रै छन् । कोपाइलट र अन्य जहाज उडाउने पाइलटले पनि वाई–१२ई जहाज उडाउन पाउँदैनन् । अन्तर्राष्ट्रिय प्रचलनमा दुई जहाजका लागि पाँच पाइलट र पाँच कोपाइलट चाहिन्छ । निगमले एक नेपाली प्रशिक्षक पाइलट (आइपी) निमानुरु शेर्पालाई पुनः भित्र्याएको छ । ग्रिनकार्डधारीको आरोप लगाउँदै हटाइएका उक्त आइपी शेर्पालाई पुनः फर्काउन लागिएको हो । शेर्पाको अनुमतिका लागि प्राधिकरणमा निगमले पत्र पठाएको छ ।
पाइलट अभाव खेप्दै आएको निगमले चिनियाँ क्याप्टेन आएपछि १७ सिट क्षमताका ४ थान चिनियाँ चारवटा वाई १२ ई र ५६ सिट क्षमताका दुई थान एमए–६० ले आन्तरिक उडान राम्रो गर्ने आशा लिएको थियो ।
वाई–१२ ईको इन्जिनमा गम्भीर समस्या
चिनियाँ जहाज वाई–१२–ई सिरिजको एक थान जहाजको इन्जिनमा गम्भीर समस्या आएपछि चेकजाँचको लागि क्यानडा पठाइएको छ । निगमको उक्त जहाजमा एक महिनादेखि इन्जिनमा समस्या आएको थियो । “अहिले चेक गर्नको लागि क्यानडा पठाएका छौं,” कंसाकारले भने ।