कारोबार संवाददाता
बुधवार, जेठ ९, २०७५
394

मुलुकको वातावरणीय, आर्थिक सामाजिक तथा पर्यटकीय विकासका लागि जैविक विविधता संरक्षण गर्न अपरिहार्य रहेको सरोकारवालाले बताएका छन् । २५औं जैविक विविधता दिवसमा वन तथा वातावरण मन्त्रालयले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै सरोकारवालाले मुलुकको समृद्धिका लागि जैविक विविधता संरक्षण अपरिहार्य रहेको बताएका हुन् ।
‘पृथ्वीमा सुरक्षित जीवनको सुनिश्चितता’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी जैविक विविधता दिवस मनाइएको थियो । कार्यक्रममा बोल्दै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जैविक विविधताको हिसाबले नेपाल धनी रहेकाले विकास निर्माणका क्रममा जैविक विविधता संरक्षण अपरिहार्य रहेको बताए । “जैविक विविधता मुलुकको पहिचान हो, यो हाम्रो अमूल्य सम्पत्ति हो, यसको सदुपयोग र संरक्षण गर्न जरुरी छ,” उनले भने, “जैविक विविधताको दिगो उपभोग गर्न संरक्षणलाई ध्यान दिनु आवश्यक छ ।”
वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले स्रोतमाथिको पहुँच र त्यसबाट उपलब्धि हुने लाभको बाँडफाँडको विषयमा उपयुक्त कानुनी व्यवस्था हुनुपर्ने बताए । “वन क्षेत्र विस्तार हुँदा वन्यजन्तुको पनि वृद्धि भएको छ,” उनले भने ।
राष्ट्रिय योजना आयोग सदस्य डा. कृष्णप्रसाद ओलीले पनि ओलीले आनुवांशिक स्रोतको पहुँचको आधारमा लाभको विषयमा बाँडफाँड हुने गरी कानुन निर्माण हुन नसकेको बताए ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव डा. युवकध्वज जिसीले कृषि र वन तथा वातावरण मन्त्रालयले सहकार्य गरी योजना तर्जुमा गर्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा वन तथा वातावरण मन्त्रालय जैविक विविधता तथा वातावरण महाशाखाका प्रमुख डा.महेश्वर ढकालले संरक्षण र विकासलाई सँगसँगै अगाडि बढाउन नसके जैविक विविधता ह्रास हुने बताए ।