कारोबार संवाददाता
बिहिवार, जेठ ३, २०७५
551

देशकै सबैभन्दा बढी नगरपालिका भएको जिल्लाका रूपमा पहिचान बनाउन सफल भएको रौतहटमा १६ नगरपालिका तथा २ वटा गाउँपालिका छन् ।
भौतिक संरचना तथा अन्य दृष्टिले पनि नगरपालिका बनाउन आवश्यक नरहेको अवस्थामा पनि नगरपालिका घोषणा गरेर यतिखेर रौतहट जिल्ला समृद्ध भएको भान भएको छ । शैक्षिक अवस्थामा मुलुकमै पछाडि छ । खुल्ला दिसामुक्तमा पनि पछिल्लो पंक्तिमा छ । तर जिल्लालाई आर्थिक समृद्धि र विकासको पथमा लैजाने सम्भावना भने प्रवल छ । रौतहट हुँदै रेलमार्ग, हुलाकी राजमार्ग, पूर्व–पश्चिम राजमार्गसँग सडकको सञ्जाल जोडिँदै जान थालेपछि पक्की तथा ग्राभेल सडकमा भने यो जिल्ला अग्रपंक्तिमा नै आउँछ ।
पछिल्लो समयमा रौतहटको क्षेत्र नं. ३ का सांसद तथा पूर्वसहरी विकासमन्त्री प्रभु साहको पहलमा ग्रामीण क्षेत्रलाई मुख्य राजमार्गसँग जोड्ने अभियानको थालनी गरेपछि यतिखेर रौतहटका हरेक स्थानीय तहमा सडक सञ्जाललाई पहिलो प्राथमिकतामा राखेको छ । स्थानीय तहमा पहिलेको भन्दा बजेट पनि बढी छ । हरेक स्थानीय तहले अनिवार्य रूपमा आफ्नो नगरपालिका, गाउँपालिकाका वडामा पक्की सडक निर्माण तथा ग्राभेलले प्राथमिकता पाएको छ । विगतका वर्षमा प्रायः ग्राभेल हुने गरेका सडक यस वर्षदेखि पक्की बन्न थालेका छन् ।

३१ किमि पक्की सडक निर्माण
सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले दिएको तथ्यांकअनुसार गत आर्थिक वर्षमा डिभिजन सडक कार्यालयले ३०.७ किमि पक्की सडक निर्माण सम्पन्न गरेको छ भने यस आवमा ४०.८ किमि पक्की सडक निर्माण गर्ने लक्ष्य छ । रौतहटको चन्द्रपुर नगरपालिका भित्रमात्रै ४५ किमिजति पक्की सडक निर्माण भइरहेको छ । पछिल्लो समय सडकलाई महत्व दिएका कारण हालसम्म रौतहटमा करिब १३० किमि पक्की सडक निर्माण भइसकेको जिल्ला समन्वय समिति रौतहटका कीर्ति सुवेदीले जानकारी दिए । यस आवमा थप ३० देखि ४० किमि पक्की सडक निर्माण हुने र डिभिजन सडक कार्यालयले समेत ४० किमिभन्दा बढी सडक निर्माण गर्ने भएपछि रौतहटमा २ सय किमिभन्दा बढी सडक पक्की भई प्रमुख राजमार्गसँग सम्पर्क हुने उनले बताए ।
सडक बचाउ अभियान भन्दै पूर्वमन्त्री तथा सांसद प्रभु साहले विशेष जोड दिएपछि रौतहटको ३ नम्बर निर्वाचन क्षेत्र सबैभन्दा बढी सडक सञ्जालसँग जोडिएको छ । प्रभु साहले समृद्ध गाउँ, जिल्ला बनाउनु छ भने सडक आवश्यक रहेकाले त्यसलाई पहिलो प्र्राथमिकतामा राखेर काम अगाडि बढाएकै कारण रौतहटको क्षेत्र नं. ३ का सबै गाउँ राजमार्गसँग जोडिएको बताए । त्यसैगरी रौतहट हँुदै निर्माण हुन लागेको हुलाकी राजमार्गले पनि रौतहटको विकासलाई अगाडि बढाउन मद्दत पुग्ने विश्वास गरिएको छ । त्यसैगरी रेलमार्गका कारण पछाडि परेको रौतहटको समृद्धिलाई आर्थिक रूपमा अगाडि ल्याउने काम गर्नेछ । हुलाकी राजमार्ग निर्माणसँगै रौतहटको विभिन्न भागमा यातायातको सोझो पहुच भई सबै किसिमका विकास निर्माणको काम सहज हुने र त्यसले जिल्लालाई अन्य जिल्लासँग जोडेर अन्तरजिल्लाको विकासलाई समेत टेवा पुराउने चन्द्रपुर–२ का गंगा दाहालको भनाइ छ । उता रेलमार्ग निर्माण हुने भएसँगै जिल्लाका केही भागमा सहज यातायात पुग्ने र त्यसबाट प्र्रत्यक्ष रूपमा यस क्षेत्रका बासिन्दालाई आर्थिक रूपले बलियो बनाउने चन्द्रपुर नगरका जंगबहादुर घलानको विचार छ ।
-सुब्बा कार्की

सातामा धेरै पढिएको