कारोबार संवाददाता
सोमवार, बैशाख ३, २०७५
579

इलाम नगरपालिका र धरान उपमहानगरपालिका बीच भगिनी सम्बन्ध कायम गरिएको छ । इलाम नगरपालिका प्रमुख महेश बस्नेत र धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बा बीच भएको सम्झौता एक आपसमा साटासाट गर्दै भगिनी सम्झौता कायम गरिएको हो ।
भगिनी सम्बन्ध दुई नगरपालिकाबीचको मितेरी सम्बन्ध हो । यो सम्बन्ध १० वर्षसम्म कायम राखिने सम्झौतापत्रमा उल्लेख छ । धरान उपमहानगरपालिका पहाडको काखमा रहेको र इलाम नगरपालिका पहाडकै रानी उपनामले परिचित छ । पर्यटकीय दृष्टिले सुन्दर अनि सफा नगरपालिकाका रूपमा दुई नगरपालिकालाई लिइने गरिन्छ । साथै विश्वमै परिचित ऐतिहासिक महत्व बोकेका नगरका रूपमा समेत यी नगरपालिकालाई लिने गरिएको छ ।

इलाम नगरपालिका र धरान उपमहानगरपालिका बीच भगिनी सम्बन्ध स्थापना गरिपछि यसबाट दुवै नगरबीच सामाजिक, सांस्कृतिक, आर्थिक तथा मानवीय विकास भई विविध क्षेत्रबाट फाइदा हुने बताइएको छ । यसबाट आर्थिक समृद्धितर्फ लाग्न सकिने भएकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २६ उपदफा (ट) अनुसार अन्तरस्थानीय तह भगिनी सम्बन्ध स्थापना गरिएको बताइएको छ ।
सम्झौतापत्रको छायाँप्रति आ–आफ्नो जिल्ला समन्वय समिति, प्रदेश सरकारअन्तर्गतका सम्बद्ध मन्त्रालय, संघीय सरकारअन्तर्गत सम्बद्ध मन्त्रालय र नेपाल नगरपालिका संघमा समेत पठाउने सहमति समेत गरिएको छ । आपसी सिकाइ र अनुभव आदान प्रदान गर्दै, स्रोत साझेदारीको माध्यमबाट दुबै नगरपालिकालाई समृद्ध बनाउने लक्ष लिइएको छ । भगिनी सम्बन्ध विस्तारपछि पर्यटन विकास, कृषिमा आधुनिकीकरण, व्यवसायीकरण, संस्थागत सिकाइ आदान प्रदान, भाइ चारा तथा भातृत्व विकासलगायत विकास गरिने बताइएको छ ।
सम्झौतापत्रमा दुवै नगरपालिकाका पदाधिकारी सम्मिलित संयुक्त समिति गठन गरी प्रत्येक ६–६ महिनामा बैठक बस्ने, कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने, प्रस्तुत सम्झौतापत्रको उद्देश्य प्राप्तिका लागि संयुक्त रूपमा सहकार्य गर्न आवश्यक नीति तथा कार्यक्रम तर्जुमा गरी बजेटसमेतको व्यवस्थापन मिलाई सहयोग आदानप्रदान गर्ने, सम्झौतापत्रको उद्देश्य प्राप्तिका लागि सम्बन्धित सरकारी निकाय तथा स्थानीय तहबीचमा समन्वय गर्ने एवं सरोकारवाला सरकारी, गैरसरकारी तथा निजी क्षेत्रसँग समन्वय गर्ने, सहयोग प्राप्त गर्नेलगायत समेटिएका छन् ।
सम्झौतापत्र आइतबार इलाम नगर कार्यपालिकाको सभाकक्षमा एक कार्यक्रम बीच साटासाट गरिएको छ । सो अवसरमा प्रदेश सांसद रामबहादुर रानाले दुई नगरबीच भएको सम्झौता कार्यान्वयनमा लाग्नु पर्ने बताए । उनले प्रदेश सरकारसँग समेत छलफल गरी धनकुटाको भेडेटारबाट राँके सवि सडक हुँदै मंगलबारे बजारबाट इलाम जोड्ने सडक विस्तार गरिने बताए ।
-टीका खतिवडा